वैदेशिक रोजगारीका चुनौती र समाधानबारे संवाद

काभ्रे । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी महत्वपूर्ण सूचनाको प्रवाह गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा देखिएका समस्या, समाधान, सरकारी नीतिहरू र सुरक्षाका उपायबारे गहिरो छलफल भएको थियो ।
कार्यक्रमको आयोजना सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत धुलिखेल नगरपालिकाको नेतृत्वमा सिविक फोरम फर सस्टेनेबल डेभलपमेन्टको सहजीकरणमा गरिएको हो । सो कार्यक्रम नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सहकार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचनाहरू प्रस्तुत गर्दै पत्रकारहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन आह्वान गरे । ‘सञ्चारकर्मीहरूले युवालाई सजग बनाउनेतर्फ विशेष योगदान पु¥याउन सक्छन्’, कुँवरले भने ।

कार्यक्रममा वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत उपलब्ध रोजगार विवरण हेरी निर्णय लिन सुझाव दिइयो । आवश्यक सीप नभई विदेश जानु खतरापूर्ण हुने भएकाले सम्बन्धित ट्रेडमा तालिम लिएर मात्र रोजगारीमा जान सुझाव दिइयो ।

श्रमस्वीकृति लिनु अनिवार्य छ । भिजिट भिसामा काम गर्न जानु कानुनविपरीत हो र यसले ठगी र दुर्घटनाको जोखिम बढाउने कार्यक्रममा जानकारी गराइयो । देशिक रोजगारीमा जाने कामदारले २ हजार ३०८ रुपैयाँ मासिक जम्मा गरी सामाजिक सुरक्षाको लाभ लिन सक्नेछन् । खाडी मुलुक तथा मलेसियामा घरेलु कामका लागि महिलाको आवागमनमा प्रतिबन्ध रहेको जानकारी दिइयो ।

यस्तै म्यान पावर कम्पनीसँगको लेनदेनको भरपाई सुरक्षित राख्न र वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण कागजातको प्रतिलिपि आफूसँग राख्न सुझाव दिइयो । भारत वा अन्य मुलुकको बाटो भएर विदेश जानु ठगी र अलपत्र पर्ने सम्भावनालाई बढाउने हुँदा सचेत हुनसमेत बताइएको छ ।

कार्यक्रममा वैदेशिक रोजगारमा जान चाहनेलाई लक्षित गर्दै श्रमाधान कल सेन्टर, टेलिमेडिसिन सेवा, र सामाजिक सुरक्षा कोषसम्बन्धी विस्तृत जानकारी पनि प्रदान गरिरहेको बारे बताइएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका प्रतिनिधि, सञ्चारकर्मीहरू, सिविक फोरमका पदाधिकारीहरू र विभिन्न सञ्चारमाध्यमबाट सहभागी पत्रकारहरूले वैदेशिक रोजगारीको वर्तमान चुनौती र सूचनाको अभावमा परेका समस्याबारे आफ्नो अनुभव साटासाट गरेका थिए । कार्यक्रमले वैदेशिक रोजगारीसम्बन्धी जानकारी, सजगता र सरकारी संयन्त्रसँगको समन्वयलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया