बिपीलाई फाँसी माग गर्ने पनि कांग्रेस नेता !

Arjun-Narasing-Kcकाठमाडौं, ४ असोज । कांग्रेस संस्थापक नेता बिपी कोइरालालाई फाँसीको सजाय माग गर्नेमध्येका दुई व्यक्ति अहिले कांग्रेसको केन्द्रीय तहमा छन् ।

बिपीलाई फाँसीको सजाय माग गरी राजासमक्ष बिन्तीपत्र चढाउनेमध्येका अर्जुननरसिंह केसी र सूर्यमान गुरुङ हाल कांग्रेस केन्द्रीय सदस्य छन् । राष्ट्रियता खतरामा परेको भन्दै २०३३ सालमा ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश आएका बिपी कोइरालालाई केसी र गुरुङलगायतले फाँसीको सजाय माग गरेर राजा वीरेन्द्रसमक्ष बिन्तीपत्र चढाएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । केसी नुवाकोट र गुरुङ ताप्लेजुङ जिल्ला पञ्चायतको सभापति हुँदा बिपीविरुद्ध बिन्तीपत्र राजासमक्ष चढाएको ती नेताको भनाइ छ ।
उनका अनुसार २०३३ सालमा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका बिपीलाई जेलचलान गरेपछि फाँसीको सजाय माग गरेर तत्कालीन जिल्ला पञ्चायतका सभापतिले राजालाई बिन्तीपत्र चढाएका थिए । जिल्ला सभापतिले बिपीलाई फाँसीको सजाय माग गरेपछि मुलुकभर विरोध भएको थियो ।
‘पञ्चायतका नेताहरूले सोही बेला पाकिस्तानमा जुल्फिकर अली भुट्टोलाई मारिएको घटनाको विरोध गरे,’ ती नेता भन्छन्, ‘भुट्टो हत्याको विरोध गर्ने तर आफ्नै देशका नेता बिपी कोइरालालाई फाँसी दे भन्नेहरूको खुबै आलोचना पनि भएको थियो ।’
काठमाडौंमा सम्पन्न पछिल्लो महाधिवेशनबाट केसी सबैभन्दा बढी मत पाई तथा गुरुङ आदिवासी जनजाति कोटामा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनीहरू कांग्रेसबाट मन्त्री र लाभका पदमा रहिसकेका छन् । आगामी संविधानसभा चुनावका लागि केसी नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा र गुरुङ ताप्लेजुङ क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ उम्मेदवारी सिफारिसमा परिसकेका छन् ।
उनीहरूले २०४६ को जनआन्दोलनका बेला काठमाडौं आएका भारतीय नेता चन्द्र शेखरलाई ढुंगा प्रहार गरेका थिए । नयाँ बानेश्वरको होटेल एभरेस्टमा बसेका चन्द्र शेखरलाई समर्थकहरूसहित उनीहरूले ढुंगा प्रहार गरेका थिए ।
कांग्रेस नेता गुरुङले भने सुरुमा कांग्रेस राजनीतिबाट पञ्चायतमा प्रवेश गरेको स्वीकार गर्दै बिपीलाई फाँसीको सजाय माग गरेर राजासमक्ष बिन्तीपत्र नहालेको सौर्यलाई प्रतिक्रिया दिएका छन् ।
त्यसो त बिपी नै पनि ‘माक्र्ससिजम् मोटिभेसन’को राजनीति हुँदै समाजवादी आन्दोलनमा लागेका थिए । उनले आफ्नै पहलमा समाजवादी आन्दोलन र नेताहरूलाई समेटेर कांग्रेसको स्थापना गरेका हुन् । ‘माक्र्ससिजम् मोटिभेसन’बाट राजनीतिमा आए पनि उनी कहिल्यै कम्युनिस्ट भएनन् ।
बिपीकै भाइ गिरिजाप्रसादसमेत सुरुवाती दिनमा पार्टीको साधारण सदस्य थिएनन् । त्यति मात्रै होइन, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह पनि कांग्रेस थिएनन् । उनीहरू सुरुमा कम्युनिस्ट या त प्रजा परिषद्निकट थिए । कम्युनिस्ट सिद्धान्तबाट प्रेरित गणेशमानलाई टंकप्रसाद आचार्य नेतृत्वको प्रजा परिषद्मा लगेर सहिद गंगालाल श्रेष्ठले कम्युनिस्ट हुनबाट रोकेका थिए । गणेशमान १९९७ मा प्रजापरिषद् हुँदै कांग्रेसमा आएको देखिन्छ । गणेशमानलाई बिपीले कांग्रेसमा समेटेको नेताहरू बताउँछन् ।
अहिलेका पार्टी सभापति सुशील कोइरालालाई विगतमा कांग्रेसको राजनीतिभन्दा हिरो बन्ने चक्कर प्यारो थियो । नेपालगन्जका बासिन्दा सुशील बिपीको नातामा सानीआमाका छोरा हुन् । २०१६ मा कांग्रेस नेतृत्वको सरकारमा डा. तुलसी गिरी परराष्ट्रमन्त्री भएपछि उनकै निजी सहयोगीका रूपमा काम गरेका थिए सुशीलले । उनले २०१७ सम्म पनि बिपीसँग भेट गर्न पाएका थिएनन् । पछिसम्म पनि उनी जागिर खोज्दै हिँड्ने गरेको कांग्रेस नेताहरूको भनाइ छ ।
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता शेरबहादुर देउवा लन्डन पढ्न गएका थिए । नेपाल विद्यार्थी संघको राजनीति गरेका उनलाई पहिला जर्मनी पठाउन खोजिएको थियो । जर्मन भाषा नजानेपछि उनलाई लन्डन पढ्न पठाइएको एक नेताले सौर्यलाई बताए । २०४६ सालको जनआन्दोलनमा देउवाको उल्लेखनीय भूमिका नरहेको ती नेता बताउँछन् । कांग्रेसको राजनीतिबाट झन्डै–झन्डै निष्कृय हुन पुगेका देउवा पञ्चायतमा प्रवेश गर्न खोज्दा कृष्णप्रसाद भट्टराईले रोकेको चर्चा चल्दै आएको छ ।
स्रोतका अनुसार उपसभापति रामचन्द्र पौडेल पनि विगतमा कम्युनिस्ट राजनीतिमा झुकाव राख्थे । साथीहरूको दबाबमा पौडेल कांग्रेसमा आएका थिए ।
महामन्त्री कृष्णप्रसाद सिटौला २०३६ सालसम्म झापा जिल्लामा जनमोर्चाबाट राजनीति गर्थे । सोही साल उनी कांग्रेसमा प्रवेश गरेका हुन् । जिल्लामा सामान्य राजनीति गर्दै आएका सिटौलालाई उनका दाइ डिल्ली सिटौला, फुपाजु पूर्णानन्द शर्मा र सिके प्रसाईंले कांग्रेस बनाएका हुन् ।
प्रवक्ता दिलेन्द्रप्रसाद बडु पार्टी प्रवेशअघि भारतमा जागिर गर्थे । उनी २०४६ सालतिर जागिर छाडेर कांग्रेसको राजनीतिमा लागेको नेताहरूको भनाइ छ ।
दुईपटक सभापति पदमा पराजित भएका नरहरि आर्चाय २०४८ सालसम्म कांग्रेस थिएनन् । आफूलाई प्रजातान्त्रिक विचारधाराका रूपमा देखाउँदै उनी ०४८ पछि मात्रै कांग्रेस भएका हुन् ।
भ्रष्टाचार मुद्दामा दोषी ठहरिई जेलजीवन बिताइरहेका खुमबहादुर खड्का पनि सुरुमा कम्युनिस्ट थिए । खड्कालाई दाङका नेमकान्त दाहालले कांग्रेस सदस्य बनाएका थिए ।
केन्द्रीय सदस्य केशवकुमार आचार्य पनि पञ्चायतको राजनीति छाडेर कांग्रेस भएका हुन् । उनी झापा जिल्ला पञ्चायतका सभापति थिए । आचार्य २०३६ मा पञ्चायतकालीन मन्त्री पनि बनेका थिए ।
विगतमा पञ्चायतको पक्षमा लागेका दीपकुमार उपाध्याय पनि २०४६ को जनआन्दोलनपछि मात्र कांग्रेस भएका हुन् । उनी हाल कांग्रेस केन्द्रीय सदस्यका साथै अर्थ संकलन संयोजक छन् ।
पटकपटक अर्थमन्त्री भइसकेका डा. रामशरण महत संयुक्त राष्ट्रसंघका कर्मचारी थिए ।
बिपीलाई फाँसी माग गर्ने
राष्ट्रसंघको जागिर छाडेर डा. महत २०४६ को जनआन्दोलनअघि नै कांग्रेसमा प्रवेश गरेर राजनीति सुरु गरेका हुन् ।
कोइराला परिवारसँगको साइनोका कारण केन्द्रीय सदस्य महेश आचार्य र सुजाता कोइरालाले कांग्रेसमा दु:ख गर्नुपरेन । उनीहरूलाई गिरिजाप्रसादको ‘आशीर्वाद’का कारण केन्द्रीय जिम्मेवारी र मन्त्री हुने मौका पाएको कांग्रेस नेताहरूको भनाइ छ ।
Suryaman_Gurungकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको परिवार नै पञ्चायतको पक्षमा थियो । नोना कोइरालाकी बहिनी बिहे गरेका कारण आमोद कांग्रेस बनेका हुन् । आमोद मन्त्रीका साथै कांग्रेसको कार्यसमितिमा सधैँ रहे ।
अर्का केन्द्रीय सदस्य मोहम्मद अफ्ताब आलम पनि गोर्खा परिषद्को राजनीति छाडेर कांग्रेस भएका हुन् । उनी २०५६ मा मात्रै कांग्रेस प्रवेश गरेका थिए । काका शेख इद्रिसले उनलाई गोर्खा परिषद्को राजनीतिमा लगाएका थिए । आलम पनि कांग्रेसका तर्फबाट मन्त्रीसमेत भइसकेका छन् ।
केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा पनि शिक्षण पेसामा रहेका बेला कांग्रेसमा आएका हुन् । उनले सुरुवाती दिनमा कांग्रेसको राजनीति गरेका होइनन् ।
केन्द्रीय सदस्य लक्ष्मी राईको राजनीति उथलपुथपूर्ण छ । बिपी कोइरालाका विश्वास पात्र देवान सिंह राईकी छोरी लक्ष्मीले बीचमा कांग्रेस छाडेर पञ्चायतमा प्रवेश गरेकी थिइन् । २०४६ को जनआन्दोलनपछि मात्रै उनी कांग्रेसमा प्रवेश गरेकी हुन् ।

प्रतिक्रिया