कोइराला र देउवालाई र्‍याखर्‍याख्ती

congress_officeकाठमाडौं, ५ असोज । कांग्रेसका अधिकांश जिल्ला सभापतिले आफूहरूको सल्लाह र सुझावविना संविधानसभा चुनावका लागि उम्मेदवार चयन नगर्न पार्टी नेतृत्वलाई सामूहिक दबाब दिएका छन् । आफूहरूको क्षेत्राधिकारमा पार्टी केन्द्रले ध्यान नदिएको गुनासो गर्दै शुक्रबार जिल्ला सभापतिहरूले सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवासमक्ष असन्तुष्टी जनाएका हुन् । जिल्लाको सांगठानिक वस्तुस्थितिका विषयमा आफूहरूलाई भन्दा अन्य नेतालाई जानकारी नहुने उनीहरूको भनाइ छ ।

राजधानीमा रहेका ६५ जिल्लाका कांग्रेस सभापतिहरूले कोइराला र देउवासँग शुक्रबार छुट्टाछुट्टै भेट गरी आफूहरूको सल्लाह र सुझावमा मात्र उम्मेदवार चयन गर्नुपर्ने माग गरेका हुन् । जिल्ला सभापतिहरूले आफूहरू सबैलाई प्रत्यक्ष वा समानुपातिकमा टिकट दिन पनि कोइराला र देउवालाई दबाब दिएको स्रोतले जनाएको छ ।
प्युठान कांग्रेसका सभापति सुवास केसीले आफूहरूको सुझाव र सल्लाहमा मात्र उम्मेदवार चयन गर्नुपर्ने बताए । ‘जिल्ला सभापतिहरूलाई भन्दा पार्टीको सांगठानिक जानकारी अन्य नेतालाई हुँदैन,’ केसीले भने, ‘प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा केन्द्रीय नेतृत्वले सभापतिहरूसँग राय लिनुपर्छ ।’
उम्मेदवारको सिफारिस गर्ने जिम्मा क्षेत्रलाई दिइएकोमा पनि उनीहरूले असन्तुष्टी जनाएका थिए । उनीहरूले कोइराला र देउवासँग अधिकार कटौती भएको भन्दै असन्तुष्टी जनाए । उम्मेदवार चयन गर्न नसकी रहेका बेला जिल्ला सभापतिहरूले आफूहरूको सहयोगमा छिटो टिकट वितरण गर्न सुझाब दिए ।
उनीहरूले संघीयता, शासन व्यवस्था, संसदीय बोर्ड गठनका विषयमा पनि तत्काल निर्णय गर्न दबाब दिएका थिए । ‘संघीयताका विषयमा छिटो आधिकारिक धारणा केन्द्रले बनाउनुपर्छ,’ केसीले भने, ‘नेतृत्वले समयमा राज्य पुन:संरचनाका विषयमा निर्णय गर्न नसक्दा हामीलाई समस्या भएको छ ।’ संसदीय बोर्ड गठनमा देखिएको विवाद तत्काल सल्टयाउन दुवै नेतालाई आग्रह गरिएको उनले बताए । भागबण्डामा अल्झिन नहुने उनीहरूको सुझाब छ ।
कांग्रेसले जिल्ला नेताहरूलाई आफ्नो क्षेत्रमा फर्केर चुनावी अभियानमा लाग्न निर्देशन दिइसकेको पनि अधिकांश टिकटका लागि नेताहरूको घरदैलो चहार्दैमा व्यस्त छन् । त्यसमा जिल्ला सभापतिहरू पनि कार्यक्षेत्रमा गई चुनावी माहोल बनाउनुको साटो राजधानीमै शीर्ष नेतृत्वको घर र कार्यालय घेराउ गर्दै छन् ।
जिल्ला सभापतिहरूको असन्तुष्टि सुनिसकेपछि कोइराला र देउवाले केन्द्रीय कार्यसमितिमा छलफल गरेर उचित निर्णय लिने आश्वासन दिएका थिए । शनिबार उपसभापति रामचन्द्र पौडेललाई भेट गर्ने कार्यक्रम रहेको केसीले बताए ।

प्रतिक्रिया