चीनको सत्यकथा नेपालको ब्यथा

Amrita Lamsalगत जुलाई एक तारिखको दिन कम्युनिष्ट देश चीनमा लागु गरिएको एउटा कानूनले समाचार माध्यमहरूदेखि लिएर घर कोठासम्ममा चर्चा चलायो, त्यो कानून थियो आफ्ना साठी बर्ष भन्दा माथिका वृद्ध बाबू–आमाको चासो लिनुपर्ने, उनीहरूलाई कम्तीमा पनि दुई महिनामा एकपटक भेट्न जानै पर्ने। यदि त्यसो नगरेमा सरकारले ती सन्तानहरूलाई जेल हाल्न सक्ने।
हुन त, चीन सरकारले कानून चीनमा सन् २०१२ को डिसेम्बर महिनामै पास गरेको हो र त्यसैलाई केही संशोधन गरेर लागू मात्र अहिले आएर गरेको हो। तर कसैको भावनात्मक सम्बन्धलाई कानूनी अधिनमा राखेर बलपूर्वक ‘मायाँ र हेर बिचार’को घेरामा ल्याउन सकिएला त? उक्त कानूनको बारेमा सुनेपछि यो पङक्तिकारको दिमागमा उठेको पहिलो प्रश्न थियो, के त्यसरी समस्याको हल होला त? किन कि, बाबू आमा या आफन्तप्रतिको कर्तब्य, मायाँ र स्नेह भन्ने कुरा कसैले कसैलाई जबर्जस्ती गराएर गरिने कुरो त होइन। तर बढ्दै गएको उक्त समस्याको समाधान गर्न सरकारले अरु कुनै उपाय देखेनछ। हुन पनि, चीनमा साठी बर्ष भन्दा बढी उमेर भएका ब्यक्तिहरूको संख्या सन् २०११ को अन्त्यमा अठार करोड पचास लाख पुगेको कुरा त्यहाँको मिनिष्ट्री अफ सिभिल एफियर्सले प्रकाशन गरेको तथ्याङ्कबाट थाहा हुन्छ र उक्त उमेरको संख्या यो बर्षको अन्त्यमा बीस करोड पुग्ने अनुमान गरिएको छ। यसरी बढ्दै गएको र जाने जेष्ठ नागरिकको हेरबिचार सरकारले मात्र गर्न सम्भव नहुने देखेर सरकारले यस्तो कानून ल्याउनु परेको भनाई सम्बन्धित पक्षको छ।
चीनले उक्त कानून लागू गर्ने घोषणा गरेपछि बिभिन्न समाचारमा आएको प्रतिक्रिया मध्ये अमेरिकाबाट प्रसारण हुने ‘नेसनल पब्लिक रेडियो’ मा एक चिनियाले दिएको प्रतिक्रिया पनि कम घत लाग्दो थिएन, उनी भन्दै थिए, ‘यदि सरकारले बाबु आमालाई भेट्न नगएको कारणले वा फोन नगरेको कारणले जेल हाल्यो भने त्यो जेलमा बसेको समयमा त झन भेट्न र फोन गर्न नमिल्ने भयो अनि त्यो कानूनले कसरी काम गर्छ त ?’
तर्क त त्यो पनि सही हो।
चीनको धेरै अगाडिदेखि लागू भएको ‘एक दम्पत्ति, एक सन्तान’को नीतिले गर्दा बाबु आमाको हेरचाह गर्ने जिम्मेवारी र दायित्व पनि एउटै सन्तानमै आइपर्दछ। त्यसमाथि शहरीकरण, आर्थिक कठिनाई र कामको सिलसिलामा एक स्थानबाट अर्को स्थानमा बसाई सराई गर्नुपर्ने बाध्यताले गर्दा चाहेरै पनि कुनै बेला बाबु आमा भेट्न जान नसक्ने अबस्था पनि सिर्जना हुन सक्दछ, त्यस्तो स्थितिमा उक्त कानून कसरी लागू हुने होला! यसै सन्दर्भमा जुलाई तीन तारिखमा ‘चाइना डेली डट कम’ मा छापिएको एउटा लेखमा यिन्घुआ होटल बेजिङ्गमा कार्यरत शेन थर भएका सेक्युरिटी गार्डको भनाई यस्तो छ,’नीति त ठीक होला, तर मेरो बिचारमा लागू गर्न गाह्रो छ।’ उनको भनाई अनुसार, अस्थाई कामदार भएको नाताले उनलाई त्यति छुट्टी मिल्दैन, उनकै भनाई अनुसार, उनले लेबोर डे र नेशनल डे को दिन पनि काम गर्नुपर्दछ। त्यसैले तोकिएको समयभित्र बाबु आमा भेट्न जानै पर्ने कानूनले काम गर्न नसक्ने आशय उनले ब्यक्त गरेका छन। सरकारले उक्त कानून ल्याएपछि खुशी हुने समुदायको पनि कमी भने देखिंदैन। उनीहरूको अनुसार आर्थिक रुपले सम्पन्न हुनेहरू पनि आफ्ना सन्तानले वास्ता नगर्दा एकाँकी र एक्लोपनको जीवन बिताइरहेछन, त्यस्ता समुदायलाई भने यो कानूनले हर्षको सन्देश ल्याइदिएको छ। तर यसको ब्यबहारिकता जाँच्न समयलाई पर्खनै पर्दछ।
यो समाचार सुन्ने र पढ्ने बित्तिकै आफू जन्मिएको समाज र देशमा केही महिना अगाडि सडकमा फालिएकी वृद्ध महिलाको कथा र उनको बारेमा रेकर्ड गरिएको भिडियोको याद आयो। सोही कथाको एक अँश जेष्ठ महिनाको २३ गते नागरिक दैनिकमा छापिएको रौनियारद्वारा लिखित लेख ‘जेठोले फाल्यो, माइलाले सम्हाले’ शीर्षकबाट ‘जेठाले मलाई सडकमा फाल्यो, तिमीहरूले खोजेनौं,’ उनले आँसु पुछ्दै भनिन्, ‘जन्माउँदा पाँच पाण्डव पाएजस्तै खुसी थिएँ, तर तिमीहरूले बिर्स्यौं।’छोराको अँगालोमा आमाको आँसु अविरल थियो। आमाले एकहोरो छोरोसँग अँगालो मारेर घन्टौं मनका कुरा पोखिरहिन्। ‘मैले मेरो कोखबाट तिमीहरू पाँच दाजुभाई जन्माएँ,’ उनी छोरासँग पोखिइन्, ‘पाखुरा चलुञ्जेल आफू खाई–नखाई पालं, अहिले तिमीहरू निष्ठुरी भयौ।’
यो कथाको एक घन्टा भन्दा लामो सम्पादन नगरिएको भिडियो पनि अनलाइनमा राखिएको थियो, जुन भिडियोमा आफ्नो आमालाई लिन धापासीस्थित पवित्र समाज नामक संस्था पुगेका छोरा बुहारीलाई त्यहाँ भएका ब्यक्तिहरूले प्रहरीले जस्तैगरी केरकार गरेको दृश्य पनि देखियो। यो त्यो परिवार र ती ब्यक्तिहरूसँग मात्र सम्बद्ध कथा होइन, आजको भौतिकवादी समाजमा यो कथा प्रतिनिधि पात्र हुन सक्तछ र ती आमा जस्तै सडकमा नआईपुगे पनि आज धेरै जेष्ठ नागरिकहरूको कथा यो कथासँग मेल खाएको वा खाने हुन सक्छ। यो वा यस्तो तीतो यथार्थ खोज्दै जाने हो भने पशुपतिनाथस्थित बृद्धाश्राम, दिलशोभा श्रेष्ठको ‘आमा–घर’ वा शहरका ठूलाबढा, सुशिक्षित, धनाढ्का आरामदायी घर, महल या गाउँका छाप्राहरू जतासुकै खोज्दा पनि यस्ता कथा र दर्दनाक ब्यथा प्रशस्तै भेटिन्छन। त्यति मात्रै होइन, हामी मध्ये कतिपयको घरभित्र यस्ता कथा–ब्याथाहरू लुकेर रहेको हुनसक्छ। त्यसैले आजको समयमा बृद्धबृद्धाहरूको हक र हितको लागि नेपालमा पनि सरकारले सामाजिक सुरक्षाको ब्यबस्था गर्नुपर्ने र तदअनुरुप गतिलो कानून बनाउनु पर्ने अबस्था आइसकेको छ। हुन त, अहिले केही सानै रकम भए पनि बृद्धा भत्ताको रुपमा दिने ब्यबस्था राम्रै हो तापनि त्यतिले पुग्दैन। उनीहरूका लागि बृद्धबृद्धाहरूका लागि ब्यवस्थित आवास गृहको निर्माण, उनीहरूलाई औषधोपचारको राम्रो ब्यबस्था, बिरामी बृद्धबृद्धाहरूलाई स्याहार गर्न स्वास्थ्यकर्मीहरूको ब्यबस्था। आदिको ब्यबस्था गर्ने बारेमा सोच्न ढिलो भैसकेको छ।
चीनको कानूनबाट सिक्नुपर्ने र सकिने यत्तिनै होला ! नभए त्यो समस्याले हाम्रो समाजलाई पनि अछुतो रहन दिने छैन।

साभार : साँघु साप्ताहिक

प्रतिक्रिया