महाधिवेशन कोषे ढुङ्गा

Rishikesh-Jung-Shahaनेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको नर्सरी हो । आफ्नो स्थापनाकालदेखि नै यसले कांग्रसको विचार र संगठनलाई प्रचार र विस्तार गर्ने आफ्नो जिम्मेवारीलाई निर्वाह गर्दै आएको छ । समयका विभिन्न कालखण्डमा आफ्नो मातृपार्टी भन्दा एककदम अगाडि बढेर यसले क्रान्तिकारी निर्णहरु गरेको छ ।
चाहे त्यसले गणतन्त्र स्थापनाको सवालमा होस् चाहे जनताका अधिकार स्थापना र संरक्षण गर्ने सवालमा होस् । आज मुलुकमा पहिचानको मुद्दा निकै वलियो रुपमा उठेको छ । हरेक क्षेत्रका जनता आफ्नो अधिकारका लागि अभुतपूर्व रुपले आन्दोलित भएका छन् । जातीय पहिचान र अधिकार स्थापनाका लागि स्थापित र ठूला पार्टीहरु विभाजित भएका छन् र नयाँ शक्तिका रुपमा स्थापित हुनका लागि नयाँ पार्टीहरु गठन हुने क्रम जारी छ । यो परिवेशमा इतिहासको लामो कालखण्डमा आफूलाई क्रान्तिकारी शक्तिको रुपमा स्थापित गरेको नेविसंघ कर्तव्य विमुख भएर वस्न सक्दैन ।
तसर्थ नेविसंघले आफ्नो आसन्न महाधिवेशनमा यो विषयमा गहन छलफल गरेर फेरि एकपटक आफूलाई क्रान्तिकारी शक्तिको रुपमा प्रमाणित गर्न जारुरी छ ।
पृथ्वीनारायण शाहले नेपालको परिभाषा गर्दै भनेका थिए ‘नेपाल चारजात छत्तीस वर्णको फुलबारी हो’ । टुक्रै टुक्रामा विभाजित तत्कालीन नेपालको एकीकरण अभियानमा उनलाई विभिन्न स्थानमा विभिन्न जातजातिले पुर्‍याएको योगदान र सहयोग अनि एकीकरण अभियानमा विभिन्न स्थानमा वसोवास गरेका जनताको अवस्था र उपस्थितिलाई सम्बोधन गर्दै उनले यो वाक्य उच्चारण गरेको हुनु पर्छ ।
फूलवारीको रुखमा विभूषीत नेपाल सवै जातजातिको उपस्थिति र सबै जातजातिको समृद्धि र सम्पन्नताले मात्र पूर्ण हुन सक्छ । नेपालका सवै जातजाति लिङ्ग, वर्ण, र क्षेत्रका जनताको समृद्धिले मात्र नेपाल वैभवशाली र सुन्दर फूलवारीको रुपमा पुष्टि हुन सक्छ भन्ने माथि उल्लेखित परिभाषाको आसय हो ।
कांग्रेसले नेपाली जनताको मुक्तिका लागि २००७ सालदेखि हालसम्म संचालन गरेका आन्दोलनहरुमा नेपालका विभिन्न जातजाति र क्षेत्रका जनताले गरेको वलिदान र योगदानलाई कांग्रेसका कार्यकर्ताले वुझ्न र विश्लेषण गर्न जरुरी छ । नेपालमा सम्पूर्ण जनतालाई अधिकार सम्पन्न र समृद्ध बनाउने कांग्रेसको उद्घोषका कारण सवै जातजाति र क्षेत्रका जनताको साथ कांग्रेसले पाएको हो ।
जसका कारण नेपालमा प्रजातन्त्र स्थापना भयो । प्रजातन्त्र स्थापना त भयो तर कांग्रेसलाई उसको उद्घोषका लागि साथ दिने ति सवै जातजाति र क्षेत्रका जनता प्रति कांग्रेसले आफ्नो जिम्मेवारी कति पुरा गर्‍यो ? राज्य संयन्त्रमार्फत ती जनताका लागि कति काम गर्‍यो कति बाँकी छ । आलेखमा उठान गर्न खोजिएको विषय वस्तु यो हो ।
कांग्रेसले मुलुकको शिक्षा, स्वास्थ्य, यातायत र अर्थतन्त्रको सुधारका लागि अंगालेको नीतिका कारण आजको समुद्धि हासिल भएको हो । कांग्रेसले कमैया मुक्ति, दलित, जनजाति तथा महिला आयोग गठन गरेर उपेक्षित वर्गलाई माथि उठाउने काम नगरेको हैन । पार्टीभित्र महिला, मधेशी, जनजाति, दलितका लागि आरक्षण दिएर ति वर्गका नेतृत्वलाई स्थापित गर्ने काम पनि गरेको हो । वीपी कोइरालाले २०१५ साल तिरै धनमान सिंह परियारलाई पार्टीको महामन्त्रीमा चयन गर्नु भयो, सहर्ष नाथ कपालीलाई राष्ट्रिय सभा सदस्य बनाउनु (०१६), आरपी गहतराज, खड्ग बहादुर खड्गी जस्ता समता अभियानका अगुवाहरु वीपी कोइरालाको सामिप्यतामा रहनु, २०१५ कै मन्त्री परिषदमा, रामनारायण मिश्र, परशु नारायण चौधरी, सूर्यनाथ दास, प्रेमराज आङ्दम्व, द्वारिका देवी ठकुरानी, मीनबहादुर गुरुङ्ग, जमान सिंह गुरुङ्ग, योगेन्द्रमान शेरचन र दिवान सिंह राई जस्ता व्यक्तिहरुको समावेशले, पहिचान र समावेसिताको विषयमा कांग्रेस हिजोदेखि नै सचेत रहेको कुरा प्रष्ट हुन्छ ।
तर के यो प्रयाप्त छ । नया परिवेशमा कांग्रेस र यसका मातृ संस्थाहरुले पहिचान र समावेशीतालाई महत्व दिएर थप छलफल गर्न जरुरी छ ।
नेविसंघ आफ्नो ११ औं महाधिवेशनको संघारमा छ । २०६४ को किशोर सिंह नेतृत्वको नेपालगञ्ज महाधिवेशनले संगठनमा केन्द्रीय सदस्यहरु मात्र हैन केन्द्रीय सह–महामन्त्रीसम्म आरक्षीत कोटाबाट निर्वाचित गर्ने व्यवस्था गर्‍यो । उक्त व्यवस्थाले दलित, महिला, मधेशी र जनजातिबाट केन्द्रीय पदाधिकारीको रुपमा नयाँ नेतृत्व पायो जसका कारण ति पिछडिएका र सीमान्तकृत वर्गमा एउटा उत्साहको संचार भयो भने नेविसंघको गरिमा बढ्यो ।
पार्टी एकीकरण पछि यो विषय नेविसंघमा स्थापित भई सकेको छ । र अहिले नयाा परिवेशमा पहिचान र समावेशीताको सवाल अभुतपूर्व रुपले उठेको छ । यो विषयका कारण आज पार्टी विभाजन, पुर्न गठन र नयाँ गठन भएको अवस्थामा हामीले नयाँ किसिमले सोच्न जरुरी छ । जातीय राज्यका कुराले समाज विभाजित भई रहेको यो अवस्थामा समाजलाई एकताबद्ध बनाउदै राष्ट्रियतालाई समेत वलियो वनाउनका लागि नेविसंघले क्रान्तिकारी निर्णय गर्न जरुरी छ ।
नेपालका राजनीतिक पार्टीहरु र नेपाली राज्य संयन्त्र समेतलाई नया सन्देश दिनका लागि, कांग्रेसलाई आसन्न संविधानसभा निर्वाचनमा वलियो वनाउनका लागि, कांग्रेस अवसरहरुको केन्द्र विन्दु हो भन्ने प्रमाणित गर्न जरुरी छ ।
त्यसको शुरुवात नेविसंघले गर्नु पर्छ । नेविसंघले आसन्न महाधिवेशन मार्फत कर्णालीलगायत पिछडिएको क्षेत्रका लागि कम्तिमा ३ केन्द्रीय सदस्य, १ सह महामन्त्री र १ उपाध्यक्ष अनि दलित मधेसी महिला, जनजाति ६/६ केन्द्रीय सदस्य सहित १/१ सह महामन्त्री र उपाध्यक्ष आरक्षित गरी निर्वाचित गर्न आवश्यक छ ।
आरक्षणमा उपाध्यक्ष भन्ने वित्तिकै केही साथीहरु आफ्नो ढुकुटी रित्तिएको महशुस गर्नु हुन्छ । यो आरक्षणले कसैको ढुकुटी रित्तिदैन बरु संगठनको ढुकुटी चाहि प्रयाप्त रुपले भरिने छ भन्ने हेक्का सवै साथीहरुले राख्न जरुरी छ । संगठनको प्रतिष्ठा नया उचाईमा पुग्ने छ । कर्णाली सहित पिछडिएको क्षेत्र, दलित, महिला, जनजाति र मधेसी क्षेत्रबाट नेतृत्व गर्ने साथीहरुले वुझ्न जरुरी छ, ‘अधिकार मागेर हैन खोसेर लिन पर्छ’ ।
अन्तमा– नेविसंघले राष्ट्रियता वलियो बनाउन, ‘जातियता हैन आत्मियता खोजौं, सामप्रदायिकता हैन, राष्ट्रियता रोजौं’ भन्ने नारालाई अगाडि सारेको छ । तर देश भित्रका सवै जातजातिलाई जवसम्म अधिकार दिएर सन्तुष्ट बनाउन सकिँदैन । जवसम्म पिछडिएकालाई माथी उठ्ने अवसर दिइदैन तव सम्म राष्ट्रिय एकता मजवुद हुँदैन । जव सम्म राष्ट्रिय एकता मजवुद हुदैन तव सम्म राष्ट्रियता वलियो हुँदैन तसर्थ नेविसंघको आगामी महाधिवेशनलाई समावेशीताको कोसे ढुङ्गा वनाऔं ।

प्रतिक्रिया