असार पन्ध्रको सम्झना

RishiRam-Timsinaहरेक वर्ष जब असार महिना आउँछ, म त्यसै–त्यसै उद्वेलित हुन पुग्छु । लगातारको झरीले वाक्क भएका मेरा सहरवासी साथीहरू भने यसै बखत मेरो अनुहारमा चढेको यस्तो आभा देखेर छक्क पर्छन् । यो बर्सादी याममा म सधैँ यसरी रोमाञ्चित हुनुका पछाडि अरूलाई अत्यन्त सामान्य लाग्ने केही कारण छन् । पहिलो त यो मेरो जन्म महिना हो । अर्को, जब म असार पन्ध्रको आसपासबाट गुज्रन्छु, वर्षौँअघि रोपाइँका दिन गाउँमा हुने रमाइलो पटक–पटक सम्झने गर्छु । अझ मुसलधारे वर्षाको चक्र सुरु भएपछि त, यस्तो रूमानी सम्झना अझ थामी नसक्नु गरी उर्लिएर आउँछ । दिनभरिको कामको चापले थाकेको नै सही तर जुन बेलुकी घर पुग्दा आकाश उग्र भएर बर्सिन्छ— म मोबाइलले धान्न सक्ने भोल्युममा मास्टर रत्नदास प्रकाश या धर्मराज थापा सुन्दै मग्न हुन्छु । उसलाई अनौठा लाग्ने यस्ता भाकामा म त्यसरी लठ्ठिएको देखेर सानो छोरा छक्क पर्दै अन्यत्र लाग्छ । म भने वर्षौँअघि उसकै वयमा भएको बखत गाउँमा बिताएका त्यस्ता असारे स्मृति चित्रहरूको भेलमा हेलिन पुग्छु ।

ओहो ! यसरी नै रातभरी घनघोर पानी परेपछि सुरु हुने रोपाइँको त्यो चहलपहल । छेउकुनाका झार–बुट्यान खुर्किएर र बाँझो खनेर धान रोप्न ठीक्क पारिएका खेतका गह्राहरू । पर्म लाउने–तिर्ने मेसोमा त्यसदिन हाम्रो घरमा भेला भएका लाठे र रोपाहारहरू । यता, नारिएका दुई/चार हल गोरूका पछि भिडेका जोत्ने लाठेहरूको होर्रा फर्काउँदाको हप्कीदप्की, उता रोप्ने ठाउँ तयार नहुँदै दिनभरलाई पुग्ने बिउ उखेलिसक्ने हतारोमा रहेका ब्याडेहरूको खैलाबैला । आठ बज्नुअगावै खेतालालाई चिया–खाजाको व्यवस्थापनमा भान्साकोठाभित्र चिसा दाउरा झोसिरहेकी आमा, आºना हल गोरूपछाडि झुन्डिएको हलोको अनौसँगै त्यसदिनको सारा ‘फिल्ड वर्कको कमान्ड’ आफैँ धानिरहेका बा । को नै फुर्सदमा हुन्थ्यो र उती बेला ? हो, बाँकी सबैलाई धमाधमको प्रतिक त्यो असारको पन्ध्र थियो । यता हामी केटाकेटीहरू पनि कहाँ उस्तो फुर्सदमा हुन्थ्याँै र ? यसरी पानी पर्न सुरु हुनु हप्ताँैदेखि नै हाम्रा सरकारी पाठशाला बर्खे बिदामा हुन्थे । त्यसैले हामी पनि के कम ? केटाकेटीका पनि छुट्टै हली, बाउसे र रोपाहार हुन्थे त्यसदिन । लाठेहरूको सिको गरी–गरी हामी खेतको अर्को छेउमा रोपाइँ सुरु गथ्र्यौँ । धमिलै पानीमा सही, भेल पसेर बौलाएको बाटोअघिको कुलोमा डुबुल्की मार्दाको त्यसदिनको उन्मुक्ति, उफ ! मलाई तत्कालै नाइट बस चढौँजस्तो हुन्छ— गाउँमा हुने भोलिपल्टको त्यस्तै रोपाइँ छोप्न । तर, जब ६ महिनाअघि यस्तै रोमाञ्चक अनुभूतिको अपेक्षा बोकेर बिदा मनाउन गाउँ पुगेको घटना सम्झन पुग्छु, भर्खरै मनमा चुलिएको त्यस्तो सुखानुभूतिमा थामिनसक्नुको पहिरो जान सुरु हुन्छ ।
मिनपचासको बिदामा हाम्रो त्यो यात्राको चाँजोपाँजो तयार भएको थियो । काठमाडांै छाड्ने अघिल्लो साँझ रोमाञ्चित हुँदै जोन डेनभरको गीत अंश फेसबुकको भित्तामा लेखेको थिएँ, ‘कन्ट्री रोड टेक मी होम, टु द प्लेस आई बिलङ ।’ दिनभरिको बस यात्रा लामो भए पनि निर्धारित समयमै त्यस साँझ हामी घर पुगेका थियौँ । चाडबाडको बहानामा पाहुनाजस्तो मात्र एक–दुई दिनका लागि बुबा–आमा र अन्य आफन्तजन भेट्न गाउँ पुग्ने हाम्रा लागि लामो समयपछिको पारिवारिक भेटघाटमा सोचेभन्दा बढी आनन्दित भएका थियौँ । हामी सबै । त्यसै साँझ टहटह लागेको जुनमा मेरा आँखा खेतको सिरानदेखि पुछारसम्म दौडिएका थिए । र, करिब २० वर्षअघिको यस्तै मंसिर–पुस मेरो स्मृति चित्रमा सगबगाएको थियो ।
त्यो रमाइलो मंसिर । पर्म तिर्न–लगाउन भेला भएका छिमेकीहरू । खलो खुर्कने र लिप्ने क्रममा खेतको एउटा कुनामा तयार भएको रमाइलो संसार । सकिनसकी धानका बिटा खलामा ओसार्दा हामी साना केटाकेटीबीच चल्ने प्रतिस्पर्धा । खमारमा धान रूँग्न तयार पारिने परालका अस्थायी गोठमा एक रात मात्र सुत्न पाउँदा उत्पन्न हुने आनन्द । त्यसपछि सुरु हुने हप्ताँै लामो परालको दाइँ र त्यहाँभित्र हुने लुकामारीका श्यामश्वेत चित्रहरू क्रमश: मेरा आँखाअगाडि चल्न थाल्छन् । आहा ! कति रमाइलो होला भोलिदेखिको हाम्रो एक साता लामो यहाँको बसाइ ? कति रमाउला सानो छोरा यहाँको उन्मुक्तिमा ? म पनि आºनो बाल्यकालको रूमानी संसारमा एकाएक फर्कन पुग्छु ।
तर, भोलिपल्ट बिहान नहुँदै मेरो उक्त कल्पना चित्र धुजा–धुजा हुन पुग्छ । न धानको कुनियु छ खेतमा न त परालको दाइँ । कसरी यति चाँडै सकियो धान–परालको थान्कोमुन्को ? बुबा बताउनुहुन्छ, केको खेताला पाइनु ? केको पर्म तिर्न–लाउन आएका पुराना छिमेकी भेटिनु ? परिवारका सीमित सदस्यहरूको बलमा धान खेतको एक कुनामा जम्मा भो । कहाँको खलो लिप्नु र खुर्किनु पर्‍यो र अब ? आमाले ठूलठूला त्रिपालहरू राम्रोसँग बिच्छ्याउनै नपाई ट्रयाक्टरको पुच्छरमा जोडिएको धान झाँट्ने थ्रेसर आइपुग्यो । किन चाहियो र धान पराल थन्क्याउन महिनाँै लामो समय ? करिब दुई घन्टामै थ्रेसरले धान पराल छुट्याइदियो खमारमा । बुबा र आमाको अनुहारमा सन्तुष्टि देखिन्छ काम समयमै सकिएकोमा । तर, म खिन्न हुन्छु र झोक्रिएको छु सधँै खमार रहने खेतको अर्को कुनामा । खासमा म धेरै दु:खी हुन्छु आज । धेरै रिस उठ्छ मलाई कर्कस आवाज फाल्ने त्यस थ्रेसरदेखि । त्यसले अहिले भर्खरै मेरै आँखा अघिबाट हाम्रा बाल्यकालका ती रमाइला दिनलाई आºनो आङमा रहेको ठूलो घानीमा हालेर परालसरी ढुट्याइदिएजस्तो लाग्छ ।
म विचारमा अझ खोपिन्छु । यसपटक मेरो छोरालाई हाम्रा बाल्यकालका ती रमाइला दिनको सम्झना बाँड्ने कत्रो चाह थियो मलाई । कस्तो दुर्भाग्य † उसले त्यो चिल्लो खलो, ती परालका गोठ र दाइँ गर्दाको लुकामारी कहिल्यै अनुभूत गर्न नपाउने भो । उसको पुस्ताको आँखामा मंसिरको चित्र कस्तो आउँदो हो ? के यो मेसिनले छिमेकीहरूबीच चल्ने सरसहयोग, त्यसबाट व्यक्तिको स्वभावमा भरिने सामाजिक भावना, स–साना नै किन नहुन्, धानका बिटा ओसार्दा केटाकेटीहरूको व्यक्तित्वमा थपिने जिम्मेवारीबोधजस्ता मानवीय गुणहरूको आधारशिला बनाउन सघाउला ? मेरो असन्तुष्टिनजिकै उभिन आइपुग्नु भएको बुबासँग पोखेको थिएँ । उहाँले मलाई सम्झाउने प्रयत्न गर्नुभएको थियो, ‘यी अब गाउँमा कोही काम गर्ने मानिस पनि पाइन्नन् । यसरी भावनामा बहकिएर फेरि भोकै बस्ने कुरा पनि भएन । यो कृषिको आधुनिकीकरण पनि त हो ।’ सायद म अझै पनि झोक्राइरहेको देखेर होला उहाँले फेरि थप्नुभएको थियो, ‘त्यसरी हेर्ने हो भने त अरू पनि थुप्रै कुराहरू छन् नी । यी मेरा पूर्खाबाट मसम्म आइपुगेका दाम्ला बाट्ने, गाई दुहुने, चोया काडेर डोको बुन्ने सीप पनि त मैसँग मरेर जाने भए । आखिर तिमीहरूले सिकेनौँ ।’
त्यसपछिको मेरो गाउँ बसाइ अझ फरक महसुस भएको थियो । सायद म अब यहाँको परिवेश र जनजीवन अझ गहिरिएर हेर्न थालेको थिएँ । रातिको एकान्तमा जुनको टहटहमा घरअघिको चिउरे घाँसले ढाकिएको मूल बाटोमा तलमाथि टहल्दै लेख्दै गरेको आख्यानको बाँकी प्लट र पात्रहरूसँग खेल्ने मेरो पूर्वयोजना त्यतिखेर भत्कन पुग्छ जब म देख्तछु त्यो बाटोले पनि अस्ति नै विकासको बहानामा आºनो छातीमा रोडा भरेछ बगरको । हल गोरू छैनन् मानिसका गोठमा । बरू त्यै बाटोमा धुलो उडाउँदै तछाँड मछाँड गरिरहेछन् एकपछि अर्को ट्रयाक्टर । अर्को दिन हरियो घाँसले भरिएका सुन्दर आली

प्रतिक्रिया