नैतिक शिक्षामा जोड दिन आवश्यक

Janarjan--Poudelगुरु अर्थात् गु–अन्धकार रु भनेको नाश गर्ने हटाउने त्यसैले त भनिएको छ । अज्ञानरूपी अन्धकारलाई ज्ञानरूपी शिक्षाको ज्योतिले नाश गरी उज्यालो फैलाउनेलाई गुरु भनिन्छ । हिन्दू धर्मअनुसार चौरासी लाख योनि पार गरेर मात्र मानव योनि प्राप्त हुन्छ । त्यसैले त मानवलाई एकदम चेतनशील प्राणीको रूपमा लिइन्छ । आमाबाबुको संयोगबाट उत्पत्ति भएको एउटा शिशु (मानव) को शरीरमा ज्ञानको बिजारोपणपश्चात् उसको ज्ञानमय शरीरको पुर्नजन्म हुन्छ, तिनै ज्ञान दिने व्यक्ति हुन गुरु । ज्ञानबिनाको भौतिक शरीर काठ, ढुंगा, माटोको डल्लो सरह हो । कतिपय शब्दमा मानवलाई गुरु शिक्षापश्चात् पुर्नजन्म भएको पनि भन्ने गरिएको छ । भनिन्छ– आमाबाबुबाट प्राप्त भौतिक शरीर नष्ट हुन्छ तर गुरुबाट ज्ञान प्राप्त ज्ञानमय शरीर अमर हुन्छ । गुरु र शिष्यबीचमा अटूट सम्बन्धको विकाश भएको हुन्छ । व्यास ऋषिलाई गुरुजनका प्रतीकका रूपमा मान्ने गरिएको छ ।

गुरु शब्दको अर्थ व्यापक छ । गुरु हुनलाई स्कुल कलेजमा गएर पढाएर औपचारिक शिक्षा नै दिनुपर्छ भन्ने छैन । जोकोहीलाई पनि कसैले केही ज्ञान दिन्छ भने त्यसलाई गुरुको रूपमा मान्न सक्छ । नेपाली समाजमा प्रचलित गुरु शब्द गाडी चलाउने डा्रइभरलाई गुरु, गुरुजी भन्ने चलन छ । डा्रइभरले गाडी चलाउने काम खलासीलाई सिकाउने गरेकाले गुरु भनिएको रहेछ र खलासीले गुरु भनेको देखेर आम यात्रुले पनि डा्रइभरलाई गुरु भनेर सम्बोधन गर्ने चलन चलेको हो । यसो भनिरहँदा आममानिसको मनमा एउटा कुरा आउन सक्छ ए डा्रइभरलाई पो गुरुजी भनिँदोरहे छ । हामीले त गुरु भनेको त ठूलो मान्छे पो भन्ठानेका थियौँ त ।
वास्तवमा ज्ञानगुनका कुरा जोसुकैसित पनि सिक्न सकिन्छ आफूले नजानेको कुरा आफूभन्दा सानासँग पनि सिक्न सकिन्छ । आफूले नजानेको कुरा आफूभन्दा सानासँग पनि सिक्न सकिन्छ । यस कुराको उदाहरणका लागि पौराणिक कालमा एकजना दत्तात्रय नाम गरेका ऋषि थिए । तिनले कीटपतंगादि गरेका चौबिसवटा गुरु थापेका थिए रे त्यसमध्ये माछा, मौरी, परेवा, पिंगला, सर्प, पानी, आकाश, सूर्य, चन्द्रमा आदि प्रमुख थिए । यीमध्ये सबैबाट यिनले केही न केही महत्त्वपूर्ण कुरा सिकेकै कारण यिनले यतिधेरै गुरु थापेका थिए । यिनका २४ वटा गुरुमध्ये दुई वटा गुरु (माछा र वेश्या) को बयान यस प्रकार छन् : दत्तात्रयले भन्नुभएको छ, ‘जिब्रोको वशमा पर्नुहँुदैन भन्ने माछाबाट बुझे, अर्कोको आश गर्नुं हँुदैन भन्ने वेश्याबाट बुझे ।’ अर्थात् माछाले आहारा आयो भनेर स्वाद लिँदै आहाराबाहेक अरू केही नदेखि हान्नेर खान खोज्दा बल्छीमा पर्छ अरे अनि अर्काको आश गर्दा गर्दै वेश्याको जवानी पूरै सकिन्छ रे वेश्यालाई सकैले लान्छु भन्छन् आश देखाउँछन् तर बिहे गरेर कसैले लादैनन् रे । दत्तात्रयले माछाबाट खालि जिब्रोको वशमा मात्र पर्नुहुन्न भनेर सिके र पिंगला नाम गरेकी वेश्याबाट चाहिँ अरूको आस धेरै गर्नुहुन्न भन्ने कुरा सिके रे † यी माथिका श्लोकहरूबाट यही बुझिन्छ र दत्तात्रयबाट चाहिँ गुरु भनेको सानेतिनो हुँदैन जुनसुकै कुराबाट पनि हामीले केही सिक्यौ भने हामीले त्यसलाई गुरु मान्नै पर्छ । आखिर आमाको गर्भदेखि नै सबै सिकेर आउने मानिस त यस धर्तीमा कोही छैन ।
मानिस जन्मेदेखि मृत्युपर्यन्त जहिले पनि विद्यार्थी नै रहन्छ । भनिन्छ नि जीवन त सिकाइ हो भोगाइ हो । मान्छेले एउटा कुनै विषयमा जतिसुकै निपुण भए तापनि सबै विषयमा निपुण मानिस पाउन भने दुर्लभ छ । गुरुवर्गले नै ज्ञानमार्गमा अग्रसर गराउँछन् । मन, वचन, शरीर, वाणी, इन्द्रिय तथा बुद्धिलाई नियन्त्रण गरेर शिष्यले गुरुबाट शिक्षा हासिल गर्नुपर्छ, गुरुसेवाबाट विमुख हुनुहँुदैन । अहंकार र अभिमान त्याग गरी गुरुआज्ञापालन गरी सुश्रुषा गर्नुनै छात्राहरूको परम कर्तव्य हो । गुरुले पनि आफ्ना शिष्यप्रति मायाममता देखाउने एवं पुत्रवत् पालना गर्नुपर्छ । भगवान् श्रीकृष्णले आफ्ना गुरु सान्दिपिनीलाई धेरै वर्ष पढियो के गुरु दक्षिणा टक्रयाउ गुरु भन्दा सान्दिपिनी गुरुले भन्नु भएछ, ‘मलाई त केही चाहिन्न केही दिने नै भए तिमीहरूकै गुरुआमालाई सोध भनेछन् ।’ र, श्रीकृष्णले गुरुआमालाई सोध्दा अरूथोक त मलाई केही चाहिएको छैन दिने नै भए मेरा पूर्वकालमा मरेका २ जना छोरालाई ब्युँताइ ल्याइदेऊ भनेछन् । अनि, भगवान् श्रीकृष्णले गुरुआमाका मरेका छोरा ल्याएर गुरु दक्षिणाको रूपमा दिएछन् । एकलव्य निषाद राजकुमार थिए । उनको आफ्नो गुरु द्रोणाचार्यप्रति असीम आस्था र श्रध्दो थियो । उनले द्रोणाचार्यको गुरुमूर्ति स्थापना गरेर जंगलमा धर्नुविद्याको अभ्यास गरे र उनी अद्वितीय धर्नुधारीको रूपमा कहलिए । उनले गुरु दक्षिणाको रूपमा द्रोणाचार्यलाई आफ्नो दाहिने औँला काटेर दिएर गुरु दक्षिणाको अद्वितीय दृष्टान्त पेस गरेका थिए । गुरुहरू शिष्यलाई यस्तो चाहियो उस्तो चाहियो भनेर भन्दैनन् । शिष्यहरूले नै कर गरेर गुरुको आवश्यकतालाई बुझेर गुरु दक्षिणा दिन्छन् र गुरुहरूले पनि शिष्यहरूको आग्रहलाई नकार्न नसकेर लिने गरेको पाइन्छ । हिजोआज गुरुकुलको जस्तो गुरु र विद्यार्थीबीच न आत्मियता छ न घनिष्टता नै । हिजोआजका विद्यार्थीहरू त हामीले पैसा तिरेर पढेको भन्छन् कैयाँै स्कुल कलेजमा त विद्यार्थीहरू फेल भए पनि गुरुलाई गाली गर्ने गुरुसँग झगडा गर्ने आदि गरेको पाइन्छ । स्कुल कलेजले पठाउने आन्तरिक नम्बरहरू किन थोरै पठाएको भनी गुरुहरूसँग झगडा गर्ने, घेर्नेसमेत पाइएको छ ।
आजको शिक्षा व्यवसायिक भइसकेको छ कारण आजको विद्यार्थीमा नैतिक शिक्षाको कमी, अनुशासनको कमी हुनुले हो । यसका लागि घर, परिवार, समाज स्कुल, कलेज सबै जिम्मेवार छन् । भनिन्छ नि मानिस जस्तो संस्कार मा हुर्कियो मानिसले त्यस्तै सिक्छ । घरमा बाबुआमालाई आदर गर्न सिकेका बच्चा भए स्कुलमा गएर शिक्षकलाई आदारभाव राख्छ । अन्यथा घरमा बाबु आमालाई नै मुक्का ताक्ने छोराले स्कुलमा गएर शिक्षकलाई के आदर गरोस् त उसले त शिक्षक भनेको हामीले तिरेको शुल्कबाट तलब खाने कर्मचारी हो भन्ने मात्र बुझेको छ । यो गलत संस्कारको कारणले भएको हो । यो सोच बिलकुल गलत सोच हो एउटा गुरुले दिएको शिक्षाको कुनै मोल हँुदैन । शिक्षकले विद्यार्थी पढाएबापत आफ्नो र परिवारको गुजारा धान्नका निम्ति केही पारिश्रमिक लिनुपर्छ । त्यो त गुरुकुलमा पनि दक्षिणाको चलन थियो । त्यसका अतिरिक्त गुरु र गुरुआमालाई समेत पुग्नेगरि दाल, चामल, ध्यु, नुन आदि पुर्‍याउने गुरुकहाँ त्यतिखेरका विद्यार्थीहरूले त कहिल्यै गुरुलाई तलबदार सम्झेनन् । व्यवसायिकताको प्रभावले गर्दा यी सब कुसंस्कार व्याप्त छन् । तसर्थ, आज आमनेपाली समाजले मनन गर्नुपरेको कुरा भनेको के हो भने हाम्रो वर्तमान शिक्षा प्रणालीले उच्च चरित्र भएको जनशक्तिको उत्पादन गरेको छ कि छैन विद्यार्थीहरूले स्वावलम्बनको शिक्षा कतिको पाएका छन् र, मुख्य कुरा त मानवताको शिक्षा कति पाए वर्तमानका विद्यार्थीहरूले र गुरुप्रति सकारात्मक धारणा छ कि छैन वर्तमानको शिक्षा प्रणालीमै खराबी आएका कारणले विद्यार्थी वर्ग उत्श्रृंखलतातर्फ उन्मुख भएको पो हो कि यसतर्फ पनि ध्यान दिएर सोच्न आवश्यक छ । मनसा कर्मणा गुरुसेवामा समर्पित हुने सत्प्रेरणा दिनका लागि नैतिक शिक्षामा पनि जोड दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया