‘संविधानसभा र स्थानीय निकायको चुनाव एकैसाथ हुनुपर्ने’

Upendra-Yadavराजविराज, १२ असार । मधेसी जनअधिकार फोरम, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संविधानसभा र स्थानीय निकायको निर्वाचन एकै साथ गराउनुपर्ने कुरामा जोड दिएका छन् ।
मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नया“ पुस्ताले स्थानीय निकायका प्रतिनिधिसमेत देख्न नपाएको भन्दै लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय निकायलाई बेवास्ता गर्न नमिल्ने जिकिर गरे । अध्यक्ष यादवले  मोहन वैद्यले अहिलेसम्मको चुनावी प्रक्रियालाई फिर्ता लिए वार्तामा बस्ने भनी दिएको अभिव्यक्तिलाई साकारात्मक भन्दै वैद्य पनि चुनावमा आउन चाहन्छन् भन्ने संकेत यसबाट मिलेको बताए ।
‘मोहन वैद्यलगायत सबै राजनीतिक दल सहभागी भएर गरिएको चुनाव मात्र सार्थक र परिणाम मुखी हुनेछ,’ अध्यक्ष यादवले भने संविधानसभाको दोस्रो निर्वाचनका लागि संविधान बन्ने आधार तयार गरी जनतामा विश्वास जगाउनु आवश्यक रहेको भन्दै उनले अहिलेसम्मको अवस्थालाई हेर्दा मंसिर ४ गते चुनाव हुने विश्वास जनतामै नरहेको जिकिर गरे ।
‘समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण नहुनु, समानुपातिकको प्रतिशत घटाउनु, मतदाता नामावली संकलनको काम अहिलेसम्म पूरा नहुनु र नेपालमै जन्मिएर पनि बाबुआमाको नागरिकता नभएकै कारणले छोराछोरीसमेतले नागरिकताबाट वञ्चित हुनु शुभलक्षण होइनन्,’ नेता यादवले भने, ‘यी सब कुरा नभईकन संविधानसभाको चुनाव हुन्छ नै भन्ने के ग्यारेन्टी ?’
विगतको संविधानसभा संविधान नै नबनाईकन असफल हुनुको प्रमुख कारण राजनीतिक विमति रहेको दाबी गर्दै उनले अब हुने निर्वाचनभन्दा पहिले त्यो राजनीतिक विमतिलाई टुंगो लगाउनु आवश्यक रहेको जिकिर गरे । उनले भने, ‘यदि तेस्रो भएन भने संविधानसभाको निर्वाचन गरेर पनि संविधान बन्नेछैन ।’
वर्तमान सरकार गणतन्त्र र संघीयताको मुद्दालाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले तीन राजनीतिक दलको सल्लाह मात्रले चल्ने यस सरकारमा राजनीतिक निर्णय लिन सक्ने क्षमतासमेत नरहेको टिप्पणी गरे ।
चुनावको नाममा मुलुकलाई अझै संकटमा धकेल्न नहुने भन्दै उनले आफूलगायत संयुक्त लोकतान्त्रिक मोर्चाले अघि सारेको १३ बु“दे माग पूरा नभए तत्काल सांकेतिक रूपमा र धानबाली लगाइसकेपछि सशक्त आन्दोलनमा उत्रने तयारीमा रहेको उल्लेख गरे ।
‘हामी चुनाव र आन्दोलन दुवैको तयारीमा छौ“,’ उनले भने, ‘हामी सहभागी नभए त चुनावै हुन सम्भव छैन । त्यसैले मोहन वैद्यसमेतलाई कसरी चुनावमा ल्याउन सकिन्छ भनी मार्ग प्रशस्त गर्ने काम सरकारले गर्नु आवश्यक छ ।’
सोही क्रममा विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गर्नेलाई अध्यक्ष यादव र कोषाध्यक्ष रेणुकुमारी यादवले अबिर र टीका लगाई स्वागत गरेका थिए । कार्यक्रममा सलहेस क्षेत्र इन्चार्ज एवं केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, अर्का केन्द्रीय सदस्य जगदेव यादव, सल्लाहकार अनिरुद्रप्रसाद सिंह यादव, सुरेन्द्र झालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया