धौलीगंगा प्रकरण छानविन गर्नु पर्छ : सरकार

Chhabiraj-Pantaकाठमाडौं, ८ असार । भौतिक योजना तथा पूर्वाधार मन्त्री छविराज पन्तले दार्चुलाको सदरमुकाम बगाउने गरी महाकाली नदीमा आएको बाढीको कारण पत्ता लगाउन नेपाल–भारत संयूक्त अध्ययन टोली गठन गरिने बताएका छन् ।
उनले धौलीगंगाको बाँध खुलेको सम्बन्धमा छानविन गर्नै पर्ने उल्लेख गरे । काठमाडौंमा आज (शनिबार) आयोजित कार्यक्रममा मन्त्री पन्तले सरकारले कुटनीतिक रुपमा अध्ययन टोली बनाउन प्रयास गर्ने बताए ।
‘विना सूचना धौलीगंगाको पानी छाडेको वास्तविक कारण पत्ता लगाउनु पर्छ,’ उनले भने ।
एमाओवादीका नेता लेखराज भट्टले भारतका कारण दार्चुलामा बिनास भएको आरोप लगाए । उनले भने, ‘धौलीगंगाको पानी खोल्नु र भारतले आफ्नो तटमा एकतर्फ पक्की संरचना बनाउनुले दार्चुलामा क्षति भएको हो ।’
कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले धौलीगंगाको पानी छाडेको विषय अध्ययन अनिवार्य भएको बताए । उनले साझा नदीमा एकतर्फी रुपमा भारतले निर्माण गरेका संरचनाले नेपाललाई सधै समस्या आएको बताए ।
एमालेका नेता भीम रावलले महाकाली नदीमा बाढी आउनुमा भारत दोषी रहेको बताए । धौलीगंगा नियन्त्रण गरेको भए दार्चुलामा क्षति नहुने उनको भनाई छ ।

प्रतिक्रिया