१० गोल गर्दै स्पेन सेमिफाइनल प्रवेश

spainरियो द जेनेरियो, ८ असार । टहिटीविरुद्ध १०–० ले विजयी हुँदै विश्वकप तथा युरोपियन च्याम्पियन स्पेन विश्व फुटबल महासंघ (फिफा)को सिनियर प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा फराकिलो गोल अन्तरको जित कीर्तिमानसहित अन्तरमहादेशीय फुटबल प्रतियोगिता कन्फेडेरेसन कपको सेमिफाइनल प्रवेश गरेको छ । स्पेनको जितमा दुई स्टार फुटबलर फर्नान्डो टोरेसले चार र डेभिड भिल्लाले तीन गोल गरे । त्यस्तै, दुई गोल डेभिड सिल्भाको नाममा रह्यो भने जुवान माटाले थप गोल गरे ।

फराकिलो जितसँगै स्पेन, नाइजेरियाविरुद्ध खेल्न बाँकी छँदै अन्तिम चारमा पुगेको हो । स्पेनको छ अंक रहेको छ भने नाइजेरिया र उरुग्वेको समान तीन अंक छ । टहिटीले अंक जोड्न सकेको छैन । समूहको आफ्नो अन्तिम खेलमा दक्षिण अमेरिकी महादेश च्याम्पियन उरुग्वेले टहिटीको सामना गर्नेछ ।
प्रतियोगिताकै कमजोर प्रतिद्वन्द्वीविरुद्ध स्पेनले खेलभर गोलको त्रास फैलाएको थियो । टोरेसको दुई तथा सिल्भा र भिल्लाको एक/एक गोलमा स्पेन मध्यान्तरअघि ४–० ले अगाडि थियो । पाँचौँ मिनेटमा खेलकै पहिलो गोल गरेका टोरेसले ५७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा गोल गर्दै ह्याट्रिककै बाटोमा देखिएका भिल्लाले ६४औँ मिनेटमा टोरेसको उपलब्धि दोहोर्‍याए । ६६औँ मिनेटमा माटा, ७८औँ मिनेटमा टोरेस र ८९औँ मिनेटमा सिल्भाले गोल गरे । यसबाहेक स्पेनले खेलमा अन्य धेरै अवसर सिर्जना गरेको थियो यद्यपि तिनमा सफल हुन सकेन ।
चोटका कारण लामो समय मैदानबाहिर भएका स्पेनका सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता भिल्लाले राष्ट्रिय टिमका लागि ९० खेल खेल्दै ५६ गोल गरेका छन् । उनले सन् २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यता टोरेसले १०३ अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गरेका छन् । सेमिफाइनलमा अब एउटा टोली मात्र टुंगो लाग्न बाँकी छ । समूह एबाट ब्राजिल र इटाली अगाडि बढिसकेका छन् । उरुग्वे र नाइजेरियामध्ये एक टोली अगाडि बढ्नेछ ।
उरुग्वेको सम्भावना बलियो
भेट्रान स्ट्राइकर डिएगो फोर्लानले आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि उरुग्वेले नाइजेरियालाई २–१ ले हराएर अन्तिम चार प्रवेशको सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा स्पेनसँग पराजित उरुग्वे फोर्लानले ५१औँ मिनेटमा गरेको गोलमा विजयी भएको हो । १९औँ मिनेटमा डिएगो लुगानोमार्फत उरुग्वले अग्रता लिएको थियो । तर, ३७औँ मिनेटमा चेल्सीका मिडफिल्डर जोन ओबी मिकेलले गोल गरी नाइजेरियालाई खेलमा फर्काएका थिए । काउन्टर एट्याकमा पटकपटक उरुग्वेलाई ‘थ्रेट’ दिएको नाइजेरिया हारटार्न असफल भयो । नाइजेरिया विश्वकप च्याम्पियन स्पेनसँग भिड्ने र आफ्नो प्रतिद्वन्द्वी टहिटी भएकाले यस स्थितिमा उरुग्वे अन्तिम चारमा प्रवेश गर्ने सम्भावना अधिकतम रहेको छ ।
वामब्याचको विश्व कीर्तिमान
अमेरिकाकी स्ट्राइकर अब्बे वामब्याच अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी भएकी छिन् । बिहीबार राति दक्षिण कोरियाविरुद्धको मैत्रिपूर्ण खेलमा चार गोल गरेपछि उनको अन्तर्राष्ट्रिय गोल संख्या १६० पुगेको छ जुन आँकडा यसअघि कुनै पनि अन्तर्राष्ट्रिय महिला फुटबलरको छैन । उनले १५८ गोल गरेकी आफ्नै देशकी मिया हामलाई पछि पारेकी हुन् । पहिलो २० मिनेटमै दुई गोल गरेर मियाको कीर्तिमान बराबरी गरेकी वामब्याचले पहिलो हाफमा चार गोल गरिन् । ‘बधाई छ, वामब्याच तिमीलाई ।’ हालसम्म २०७ अन्तर्राष्ट्रिय खेल खेलेकी वामब्याचले आफ्नो कीर्तिमान तोडेपछि मियाले सामाजिक सन्जाल ट्विटरमा लेखिन्, ‘मेरो साथी, तिमीदेखि निकै गर्व लागेको छ । वास्तवमै तिमी एक सच्चा लडाकु र विजेता हौँ ।’ दोस्रो हाफमा वामब्याच मैदानबाट बाहिरिएको यो खेल अमेरिकाले ५–० ले जित्यो । ३३ वर्षीया वामब्याच अहिलेकी फिफा वर्ष खेलाडी हुन । सन् २००३ मा राष्ट्रिय टिममा डेब्यु गरेकी यी स्टारको प्रेरणामा अमेरिकाले दुईपटक ओलम्पिक खेलकुदमा स्वर्णपदक जितेको थियो ।

प्रतिक्रिया