नासाको विजयी सुरुआत

काठमाडौं : नासाले प्रथम मोर्गन कप राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नासाले मोर्गनलाई ९६–७४ ले पराजित गर्‍यो । नासाको जितमा विनोद श्रेष्ठले ३१ अंक योगदान गरे । मोर्गनका सिद्धार्थ महर्जनले २५ अंक जोडे । चौथो क्वार्टरमा २३–१४ को अग्रता लिएको मोर्गन अन्यमा भने पछि रह्यो । नासाले पहिलोमा २३–१९, दोस्रोमा २६–२२ र तेस्रोमा ३३–१० को प्रदर्शन गर्‍यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा गोल्डेनगेटले सफल सुरुआत गर्‍यो । बसुन्धरास्थित मुख्य प्रायोजक मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको प्रतिस्पर्धामा गोल्डेनगेटले मोर्गनलाई ३९–३१ ले पन्छायो । विजेताकी अनिशा तुलाचनले ११ स्कोर गरिन् ।
दोस्रो क्वार्टरमा बनाएको १३–५ को अग्रता नै गोल्डेनगेटको जितको मुख्य आधार बन्यो । गोल्डेनगेट पहिलोमा ९–८ र तेस्रोमा ८–७ को झिनो अन्तरले अगाडि थियो । चौथो क्वार्टरमा गोल्डेनगेट ९–१२ ले पछि पर्‍यो । असार १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुष र महिलामा समान ६–६ टिम सहभागी छन् । (सौस)

प्रतिक्रिया