अग्र्यानिक चियाको माग बढ्यो

इलाम, ६ असार । अन्तर्राष्ट्रिय बजारमा प्रांगारिक चियाको माग बढ्न थालेपछि साँखेजुङका किसान अग्र्यानिक चिया उत्पादनतर्फ उन्मुख भएका छन् । विषादी र रासायनिक मल प्रतिबन्धित चियाको माग उच्च भएकाले साँखेजुङस्थित हिमालयन सांग्रिला टी प्रोड्युसन प्रालिमा आबद्ध किसान प्रांगारिक चिया उत्पादनतर्फ लागेका हुन् ।

साँखेजुङ, पुवामझुवा, चमैता, शान्तिडाँडा, माइपोखरी गाविसमा छरिएर रहेका करिब ९ सय चिया किसानलाई सहकारीमा आबद्ध गराएर चिया कारखानाले अग्र्यानिक चिया अभियानमा आबद्ध गराएको हो ।
चियाखेती गर्दै आएका किसानलाई ११ वटा चिया सहकारीमा आबद्ध गराएर सहकारीमार्फत प्रांगारिक अभियानमा लगाइएको हो । ती संस्थामध्ये साँखेजुङ सहकारी संस्था, ग्रिनहिल, उच्च पहाडी, साना किसान समूह, जैविक हरियाली र चारखोल चिया सहकारी संस्थामा आबद्ध रहेका तीन सय ७० जना किसानलाई हिमालयन सांग्रिला टी प्रोड्युसन प्रालिको सहयोगमा नेसनल एसोसिएसन सस्टेनेबल एग्रिकल्चर अस्ट्रेलिया (नासा) द्वारा प्रांगारिक प्रमाणीकरण गराइएको प्रालिका सञ्चालक कमल मैनालीले बताए ।
‘अग्र्यानिक चिया मात्र बिक्री गरौँ भन्ने हाम्रो लक्ष्य हो, सोहीबमोजिम नासाको सहयोगमा अग्र्यानिक प्रमाणीकरणमा लागेका हौँ ।’ सन् २०१० देखि अग्र्यानिक प्रमाणीकरण थाल्दा एक सय ४१ जना किसान रहेकोमा हाल बढ्दै गएर तीन सय ७० पुगेका छन् । ‘अब सन् २०१५ सम्म सहकारी संस्थामा आबद्ध सबै किसानलाई अग्र्यानिक प्रमाणीकरण गराउने उद्देश्य छ,’ उनले भने ।
विषादी र रासायनिक मल पूर्णरूपमा प्रयोग गर्न छाडेको तीन वर्षपछिदेखि मात्र अग्र्यानिक प्रमाणित हुन्छ । नासाले पाँच वर्षदेखि निरन्तर रूपमा यहाँको चिया अग्र्यानिक प्रमाणीकरण गर्दै आएको छ । अग्र्यानिक उत्पादनमा लागेका किसानलाई चिया कारखानाले मूल्य पनि बढी नै दिएको छ । कारखानाले किसानलाई हरियो पत्तीको मूल्य प्रतिकिलो ५२ दिँदै आएको छ ।
यसले किसानलाई धेरै फाइदा भएको छ । किसानले पत्ती बोकेर कारखानासम्म पनि आउनुनपर्ने कारखानाका व्यवस्थापक रामचन्द्र नेपाल बताउँछन् । कारखानामा दैनिक चार पाँच हजार हरियो पत्ती आउने गरेको छ । कारखानाले वार्षिक एक लाख ५० हजार किलोग्राम अग्र्यानिक चिया उत्पादन गरी विदेश निर्यात गर्दै आएको छ । यहाँ उत्पादित चिया जर्मनी, जापान, अमेरिका, चेक रिपब्लिकसम्म पुग्ने गरेको छ ।
अग्र्यानिक चियाको बजारीकरणका लागि सरकारले सहयोग गरेमा किसानले अझ बढी मूल्य पाउने र विदेश निर्यात दरसमेत बढ्ने सञ्चालक मैनालीको भनाइ छ । सरकारले चिया क्षेत्रमा लगानी गरेमा चियामा लागेका किसानको आर्थिक वृद्धि हुने चिया कारखाना सञ्चालक बताउँछन् ।

प्रतिक्रिया