शक्तिकेन्द्रका एजेन्डामा व्यर्थको बहस

Shyam-Adhikariमुलुकको यतिबेलाको चर्चा र चासोको विषय निर्वाचन नै हो । निर्वाचनका नकारात्मक र सकारात्मक दुवै सोचबाट आम नागरिकले यसप्रति चासो दर्शाएका छन् । म उहिल्यै मधेस झर्दा हामीले ठाडो मुख गरेर आँखा जुधाउन पनि डराउनुपर्ने एक सम्भ्रान्त परिवारका हालका ज्येष्ठ नागरिकले बढो दिक्क भावमा एक दिन फोन गरेर मलाई सोधे—हैन यो निर्वाचन कहिले हुन्छ र सन्तोषको सास फेरेर मर्न पाइएला पत्रकार महोदय † मैले उल्टो प्रश्न गरेँ—किन तपार्इं पनि निर्वाचन लडेर सांसद, मन्त्री हुने मौका छकि कसो ? नत्र चुनाव भए पनि न भए पनि सरकारमा गए पनि, न गए पनि राज गर्ने त अहिले चल्तीमा रहेका यिनै पार्टीका नेता न हुन् ? अनि तपाईंलाई किन चासो लागेको यो निर्वाचनप्रति ? उनले मेरो प्रश्नको जवाफ दिँदै भने— चोरलाई चाबी जिम्मा दिन मलाई हतार भएको मात्र हो । देशमा धेरै अपराधहरू बढिरहेका छन् । यस्तो भएपछि देश पनि लुटिएला र आफू पनि लुटिइएला र दु:ख पाइएला भन्ने चिन्ता लागेर चुनाव भए चोरलाई नै चाबी दिन पाइन्थ्यो र अलिक जिम्मेवार हुन्थे कि भन्ने लागेकाले सोधेको हुँ ।

मेरा अग्रज मित्रको यो चिन्ता वास्तवमा देशभरिका बुज्रुगहरूको चिन्ता हो । उनीहरूलाई देश र समाजमा बढ्दो अनिश्चितताले चिन्तित तुल्याएको छ कि कतै हाम्रा सन्तान देशबिनाका प्यालेस्टिनजस्ता नबनून् । कतै हामीले कुर्दहरूलेजस्तो आफ्नो देश खोज्दा अन्य थुप्रै देशसँग शत्रुता मोल्न नपरोस् । अपराध अहिलेजस्तै बढ्दै गएर व्यापार व्यवसायबाट कमाइ गर्नै नसक्ने र गरिहाले पनि आफ्नो, परिवार र सम्पत्तिको सुरक्षा गर्नै न सक्ने नबनून् नयाँ पुस्ताले ।
नभन्दै अहिलेको परिवेशमा देश र समाजप्रति कुनै पनि राजनीतिक नेता , शासनारूढ पदाधिकारी, राजनीतिक कार्यकर्ता सामाजिक संघ/संस्थाका पदाधिकारी, पेसेवर संगठनबाट नेता बनेका कसैले पनि देशको अवस्थातिर ध्यान दिएर सम्वेदनशीलता दर्शाएको पाइँदैन । सबैलाई एउटै कुराको ध्यान छ, त्यो हो शत्रुलाई जित्ने । वर्गसंघर्ष र वर्गयुद्धबाट शान्तिपूर्ण प्रतिस्पद्र्धात्मक राजनीतिमा ओर्लेको माओवादीले नेपाली समाज र नेपाल राष्ट्रलाई यो भावनाको विकासचाहिँ राम्रैसँग गराएको महसुस हुन्छ । माथि उल्लेख भएका प्रत्येक सामाजिक व्यक्तिहरू एक अर्कोप्रति ईष्र्या, द्वेष, घृणाले ओतप्रोत भएका छन् । तिनले सबैभन्दा ठूलो दुस्मन देशभित्रका, आफ्नै समाज र परिवेशका, अर्को पार्टी र संघ/संस्थाका व्यक्तिलाई देख्ने गरेका छन् । वर्गयुद्ध, वर्गसंघर्ष र वर्गीय हत्याका विगतको घटनाका पृष्ठभूमिमा विकसित भएको यो भावनाले प्रतिशोधको राजनीतिको चरम रूप यतिबेला देशमा देख्न पाइन्छ । राजनीतिक पार्टीका नेता यस्ता मामिलामा अगाडि हुने नै भए, तर तीभन्दा पनि एक हात अगाडि आफूलाई बुद्धिजीवी भन्ने पश्चिमको बुर्जुवा संघ/संस्थाको रकम खाएर आफूलाई राष्ट्रिय राजनीतिमा स्थापित भएको मान्ने केही नकच्चरा बिकाउ मान्छे र लैंगिक र जातीय पहिचान आदिनामबाट विदेशी पैसाबाट मोजमस्ती गरिरहेका बज्रस्वाँठहरू पनि यो देश विगार्नमा सक्रिय भएका छन् । यिनलाई हाम्रा वादविवादले लोकतन्त्र बलियो भएको छ भन्ने भ्रम अरूले छर्न लगाएका छन् अनि देशको राजनीतिक शक्तिकेन्द्र जसले हत्याउँदै गएको छ त्यताबाट मानिसको ध्यान अन्यत्र मोड्ने खेलमा लगाइएको छ ।
यहाँ कसलाई चाहिएको छ लोकतन्त्र र राष्ट्रियता ? यहाँ त शक्तिकेन्द्रले जता नाच भन्यो त्यतै नाच्ने बाँदर भालुहरूजस्ता एकअर्को विरुद्ध प्रतिशोधको युद्ध लडिन्छ दिनहुँ । दुस्मनले जे भन्छ त्यो सही गलत जेसुकै होस्, त्यसको उल्टो हुँइयाँ चलाउनु यी बाँदर भालुको काम बनेको छ । किनभने, जसलाई नेपालको शक्तिकेन्द्र हत्याउनुछ उसले नेपालविरुद्ध पहिलेदेखि गर्दै आएका सशस्त्र र नि:शस्त्र ‘एटेक’को ‘काउन्टर एटेक’ हुन नदिन उसले नेपालमा दुईवटा मात्र काम गरे पुग्छ भन्ने ठानेको छ । ती दुई काम हुन्—देशभित्रका शक्तिहरूलाई शान्तिपूर्ण होस वा सशस्त्र जुनसुकै रूपबाट भए पनि लडाइराख्नु । साम, दाम, दण्ड, भेदमा कसैलाई सत्ताको लोभ देखाउनु, कसैलाई धनको लोभ देखाउनु, कसैलाई आक्रोसित तुल्याउनु त आवश्यक परे कतिपयलाई हतियार तालिम दिएर अघिसार्नु । तर, कसैलाई पनि स्थिररूपमा मित्रता र दिएका सुविधा नदिनु । यसरी परस्पर जुधाएर शक्तिहरूलाई कमजोर पार्न सकिन्छ । शक्तिकेन्द्र हत्याउने रणनीतिको अर्को काम हो नेपाललाई आर्थिक रूपले कहिल्यै बलियो हुन नदिनु । त्यसै पनि राजनीतिक अस्थिरता पैदा गरिदिएपछि देश आर्थिक रूपले कमजोर त भै हाल्छ त्योबाहेक पनि व्यवसायीहरूलाई समेत भुलभुलैयामा राखेर आर्थिक रूपले कमजोर तुल्याउनु उसको रणनीतिमै पर्छ ।
नेपालको शक्तिकेन्द्र हत्याउने त्यो शक्तिको घनचक्करमा हाम्रो देशका राजा र राजपरिवार पनि परे । क्रान्तिको नेतृत्व गर्ने हुँ भन्ने प्रचण्डजीहरू पनि परे । देशको सच्चा पहरेदार हुनुपर्ने सुरक्षाकमान्डरहरू पनि परे । अरू ठिनेमिने र आफूलाई पहिले नै लिलाम गर्न लाइन लागेर बसेका बुद्धिजीवी र पार्टी नेताका के कुरा गर्ने ? पहिले एकदम शुभचिन्तक र विश्वासपात्र सल्लाहकार बन्ने अथवा सल्लाहकारलाइ नै किन्ने र पछि फनक्क अर्काेतिर फर्केर पछारि दिने, यो रणनीति देशमा धेरै दिनदेखि चल्दै आएको छ । पहिले ज्वाइँ बनाइएर भुइँमानभाँडामा भएका पारश शाह आज देशमा सुरक्षा नपाएर विदेशमा लुक्दै हिँड्नु परेको छ किन ? किन बाबु राजाले समयसमयमा दिल्लीमा गएर आँसु झार्दै मेरो के गल्ती भयो भन्नुपरेको छ ? किन हतियार बुझाइसकेपछि प्रचण्डलाई मझधारमा छोडेर मोहन वैद्यजी बल्ल राष्ट्रिय स्वाधीनताका लागि जनता मोटर साइकल र पसलमा आगो लगाउँदै हिँड्न थाल्नुभएको छ ? किन वैद्यको पीठ एमाले कांग्रेसका पेसेवर बुद्धिजीवीहरू र उपेन्द्र यादवले थप थपाउँदै छन् ? किन रको एजेन्टसँग भेट गरेपछि मात्र प्रचण्डको पार्टीका बाबुरामको नेतृत्वमा सरकार बन्न सफलता प्राप्त भयो ? किन चिनियाँहरूले नेपाली सेनालाई उदारतापूर्वक सैन्य सहयोगका लागि हात बढाए ? किन प्रचण्डले हामीलाई सहयोग नगरे तिमीले पनि सुरक्षामा सहयोग पाउँदैनौँ भनेर सार्वजनिक भाषण गरे किन ? यी प्रश्नका उत्तर खोज्दै जाँदा नेपालको वास्तविक शक्तिकेन्द्रले कसरी नेपालमा खेल खेलिरहेछ भन्ने थाहा पाउन सकिन्छ ।
सबै प्रश्नको उत्तर खोतल्दै जाने हो भने देशभित्रका अहिलेका राजनीतिक शक्तिहरूको भूमिका वा द्वन्द्व उनीहरूको आफ्नो नभएर अरूको हितमा केन्द्रित भएको फेला पर्छ । यहाँ प्रचण्ड र कांग्रेस एमालेको कुरामात्र होइन, मोहन वैद्य र पूर्वराजा ज्ञानेन्द्रका प्रयास पनि त्यो शक्तिकेन्द्रका हितमा चोट पुर्‍याउने दिशामा जान सकेका छैनन् । दंगयाउने, भाउखोज्ने शैलीमात्र फरक देखिनआएका छन् । देशभित्रका एजेन्डामासमेत बाह्य शक्तिकेन्द्रकै अगुवाइ देख्न पाइन्छ । संविधानसभाको चुनाव होस या संविधान निर्माणको प्रश्न, संवैधानिक राजतन्त्र या राजतन्त्रसहितको प्रजातन्त्र वा संघीय गणतन्त्र नेपाल निर्माणको प्रश्न सबै एजेन्डा उही शक्तिकेन्द्रका विकल्प बन्न पुगेका छन् । कुन एजेन्डालाई कहिले अगाडि ल्याएको खण्डमा उपयुक्त हुन्छ त्यसको निर्णय गर्न थालेको छ । यसरी बाह्य शक्तिकेन्द्रको खेललाई सर्वसाधारण आफ्नै लागि अघिसारिएको ठान्छन् भने राजनीतिक पार्टीका नेता तिनको गोटी बन्न पुग्छन् । आफ्ना एजेन्डा अघिसारिएका बेला उसको समर्थन हुनासाथ उसलाई मित्र मान्ने र अरूको एजेन्डा आएमा विरोधी ठानेर राष्ट्रिय स्वाधीनतको सम्झना आउने परम्पराभित्र मोहन वैद्य र ज्ञानेन्द्र पनि अटाएका छन् भने अरूका के कुरा ?

प्रतिक्रिया