मध्यमाञ्चललाई सात स्वर्ण

gold-medalist-in-karatee-ofकाठमाडौं, ३ असार । मध्यमाञ्चलले प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसिप) को करातेमा मध्यमाञ्चल ७ स्वर्णसहित शीर्ष स्थानमा रह्यो ।

अघिल्लो दिन ५ स्वर्ण जितेको मध्यमाञ्चलले दोस्रो तथा अन्तिम दिन आइतबार २ स्वर्ण थप्दै स्वर्ण संख्या ७ पुर्‍यायो । सुदूरपश्चिमाञ्चलले २ स्वर्ण हात पार्‍यो भने पश्चिमाञ्चल १ स्वर्णमा सीमित भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ओलम्पियन सेमीकभर्डहलमा भएको पुरुषको ४७ केजीमा सुदूरपश्चिमाञ्चलका राजेन्द्र रोकाया पहिलो भए । फाइनलमा उनले मध्यमाञ्चलका अरुण डंगोललाई पाखा लगाए । पूर्वाञ्चलका विनय लिम्बू र पश्चिमाञ्चलकी सम्पूर्ण गुरुङले कांस्य प्राप्त गरे ।
पुरुषको ५२ केजी फाइनलमा मध्यमाञ्चलका प्रवीण मानन्धरले पश्चिमाञ्चलका चन्द्र बुढालाई पन्छ्याउँदै शीर्षस्थान हात पारे । पश्चिमाञ्चलका तिलक पुन र सुदूरपश्चिमाञ्चलका सञ्जय नेपाली तेस्रो भए ।
महिलाको ४० केजीमा मध्यमाञ्चलचलकी अप्सरा मोक्तान पहिलो भइन् । उपाधि भिडन्तमा अप्सराले मध्यमाञ्चलकी औषा लामाको चुनौती समाप्त पारिन् । पश्चिमाञ्चलकी विपना आचार्य र मध्यपश्चिमाञ्चलकी सुस्मा खत्रीले तेस्रो स्थानमा चित्त बुझाए ।
महिलाको ४५ केजीमा पश्चिमाञ्चलकी रुविष्का तामाङ पहिलो, मध्यमाञ्चलकी शान्ता श्रेष्ठ दोस्रो तथा मध्यमाञ्चलकै सविना पोखरेल र पश्चिमाञ्चलकी विमला नेपाली तेस्रो भए ।
महिलाको ५० केजीमा सुदूरपश्चिमाञ्चलकी सुनीता सुनारले स्वर्ण चुमिन् । फाइनलमा सुनीताले पश्चिमाञ्चलकी रेखा विष्टलाई निराश पारिन् । पूर्वाञ्चलकी इन्द्रमाया तामाङ र मध्यमाञ्चलकी पार्वती घिसिङ संयुक्त रूपमा तेस्रो भए ।
राखेपअन्तर्गत विद्यालय खेलकुद विकास बोर्डको तत्त्वावधानमा एनप्याब्सन, प्याब्सन र हिसानद्वारा आयोजित प्रतियोगिताको सातौँ दिनको समाप्तिसम्म ६ खेल सम्पन्न भएको छ । एथलेटिक्स, क्रिकेट, कबड्डी, बाघचाल, उसु र कराते सम्पन्न भए । राष्ट्रिय विद्यालय खेलकुदमा १३ खेल समावेश छन् ।

प्रतिक्रिया