एसएलसीमा शिक्षक र विद्यालय पनि पास/फेल

Schoolssकाठमाडौं, ३ असार । एसएलसीमा अब विद्यार्थी मात्रै होइन, शिक्षक र विद्यालय पनि पास/फेल हुने भएका छन् । एसएलसीको नतिजा खस्कँदै गएपछि सरकारले सामुदायिक विद्यालय र सम्बन्धित विषय शिक्षक पास भए/नभएको पनि मूल्यांकन गर्ने भएको छ ।

विद्यार्थीले प्राप्त नम्बरका आधारमा शिक्षक र विद्यालयलाई पास/फेल गर्ने तयारी शिक्षा विभागले गरेको छ । विषयगत शिक्षक र विद्यालयको पनि प्राप्तांक निकालेर पास र फेलको मूल्यांकन गरिनेछ । विद्यार्थीले पाएको प्राप्तांककै आधारमा शिक्षक र विद्यालयलाई पास वा फेल भएको छुट्याइनेछ ।
विभागले सबै जिल्ला शिक्षा कार्यालयलाई एसएलसीको प्राप्तांकको आधारमा शिक्षक र विद्यालय पास भए/नभएको मूल्यांकन गर्न निर्देशनसमेत दिइसकेको छ । विद्यालय निरीक्षकले प्रत्येक शिक्षक र विद्यालयको प्राप्तांक निकाल्ने छन् ।
राम्रो गर्नेलाई पुरस्कृत र फेल हुने शिक्षक तथा विद्यालयलाई सुधारका लागि दुई वर्षसम्म मौका दिइनेछ । विभागले विद्यार्थी फेल हुनुमा विषयगत शिक्षक दोषी भएको भन्दै विद्यार्थीले पाएको प्राप्तांकका आधारमा शिक्षकलाई पनि पास/फेल गराएर मूल्यांकन गर्ने भएको हो ।
विभागका निर्देशक टेकनारायण पाण्डेले नतिजा प्रत्येक वर्ष खस्कन थालेपछि शिक्षक र विद्यालयको पनि पास वा फेलको मूल्यांकन गरिन थालिएको बताए । शिक्षामा सुधार ल्याउनका लागि शिक्षक र विद्यालयको पनि पास/फेलको व्यवस्था थालिएको उनले बताए । ‘नतिजा खस्कनुमा शिक्षक पनि अछुतो रहँदैनन्, आफ्नो विषयमा शिक्षकले कति नम्बर पाए, त्यो हेरिन्छ र उनीहरूको मूल्यांकन गरिन्छ,’ उनले भने ।
विषयगत रूपमा पास नहुने शिक्षक र विद्यालयलाई दुई वर्षसम्म सुधारको मौका दिने र त्यसपछि पनि राम्रो नगरे त्यस्ता शिक्षकलाई गोल्डेन हेन्ड सेक दिएर बिदाइ गर्ने तयारी विभागले गरेको छ । दुई वर्षसम्म ती शिक्षक सुधारोन्मुख नदेखिए गोल्डेन हेन्ड सेक दिएर बिदा गरिन पनि सकिने पाण्डेले बताए ।
वार्षिक ६५ अर्ब खर्च भए पनि बर्षेनि एसएलसीको नतिजा घट्दै गइरहेको छ । गत वर्षको भन्दा यस वर्ष ५ दशमलव ५९ प्रतिशतले एसएलसीको नतिजा घटेको छ ।

प्रतिक्रिया