यातायात, सञ्चार र शिक्षा

Shiva-datta-Dhakalयातायात, सञ्चार एवं शिक्षा उत्तरोत्तर सबै क्षेत्र उन्नत अवस्थामा पुगेका पनि छन् र विगतका तुलनामा वर्तमान समय आकाश जमिनको फरक छ । तर, पनि विकासको सिमाना छैन, जतिसुकै भए पनि अपुरो नै हुन्छ । नेपालमा पहाडपाखा जताततै पक्की तथा कच्ची सडक बनेका छन् । गोरेटोपछि घोरेटो हुँदै चक्लेटो बाटो जनचाहना अनुकूल भए पनि मानवको स्वभावत: कतिपय अज्ञानता पनि विचणमा घातक हुने गर्छन् । आकाशमार्गको सवारीसाधन विमान पनि पटकपटक दुर्घटनामा परेर धेरै यात्रुको जीवन हानि भएका अप्रिय खबरले गर्दा सबैलाई अति नरमाइलो लाग्छ, हृदयविदारक पारिवारिक पीडाको बयान गरी साध्य हुँदैन । सान्त्वनाको केही राहत अपुग हुन्छ । घटनाभन्दा अगाडि सावधान हुनु हरेक क्षेत्रको कर्तव्य हो, घटनापछि पनि उपचारको तयारी त्यत्तिकै महत्त्वपूर्ण छ । प्राकृतिक प्रकोप अथवा मानव निर्मित संरचनाको जीर्णशीर्ण स्थिति वा यान्त्रिक गडबडी जे भए पनि मान्छेको ज्ञान–ध्यान नपुग्दा हुने सम्भावित अवस्था विचार गरे घातको गति न्यूनीकरणमात्र होइन बन्द हुन पनि सक्छ ।

स्थल यानसम्बन्धी सबभन्दा पहिलो आधार आवागमनको लागि चाहिने बाटोको स्वरूप निरीक्षण गर्न आवश्यक छ । बाटो कस्तो ? कच्ची वा पक्की त्यसअनुसार हिलो, धूलो मौसमको पनि विचार गरेर संचालक, चालक सबका साथ यात्रुले पनि गन्तव्यको मात्र उद्देश्य नराखी सवारी साधनमा चढ्ने नियम संख्यात्मक हिसाबकिताबको पनि हेक्का रख्ने गर्नुपर्छ र बस संचालक, चालक तथा कन्डक्टरको पनि योग्यता एवं मर्यादाको पनि जाँचबुझ गरिवरि विधिपूर्वकको यात्रामा टिकटपद्धति अनिवार्य रूपमा लागू गराउन पर्छ । बस, माइक्रो तथा अन्य ढुवानी आवागमनका समिति वा यातायात व्यवसायीको पनि बृहत् योजना हुनुपर्छ । एक, दुई, तीन वा चार थोरै सवारीसाधन चलाउने आफूखुसी बन्द गराउनेलाई अनुमति दिन पनि हुँदैन तथा सरकारी स्वीकृति विधिपूर्वक प्राप्त भए न भएको अधिकारको पालन गरे न गरेको जाँचेर लापरबाही गर्नेलाई दण्डित गर्नुपर्छ । सार्वजनिक व्यवस्थापनका कारण नागरिकको जीउधन नोक्सान भएपछि त्यसको जिम्मेवार सम्बन्धित निकाय विभाग मन्त्रालय तथा सरकार पनि जवाफदेही हुनुपर्छ । दण्डसजायबाट कसैलाई पनि उन्मुक्ति दिन मिल्दैन । नेपालमा वायुयान, स्थलयानको पनि स्थिति सोच्य देखा परेको छ । सुधारतर्फ राष्ट्र उन्मुख भएको पाइएन, बरु अरू अव्यवस्था बढिरहेछन् । सहरबजारदेखि गाउँघरसम्म भौतिक निर्माण र उपभोगको पनि योजना छैन । छाडातन्त्रलाई नै प्रजातन्त्र वा विगत ७/८ वर्षदेखि यता आएर देखिएको गणतन्त्र र संविधान निर्माण एवं कानुनविहीन स्थिति संक्रमण स्थिति यस्तै हो भन्ने हो भने त जता जे पनि छुटफुट हुन सक्छ । घर जता भत्क्यो उतै ढोका जता हिँडयो उतै बाटो हुन सक्छ । विधि निर्माण न भए पनि विधिसम्मत आचरण अवश्यंभावी हुन्छ । परावलम्बी परमुखापेक्षी मानसिकता रहेसम्म अन्तरात्माको निर्णय एवं स्वराज्यको पनि रक्षा कसरी सम्भव होला ! जीवनको गन्तव्य कसरी पार होला ? राष्ट्र कता लागिराखेको छ ? सञ्जयको दिव्यदृष्टि सञ्चारजगत्ले पनि लगाउनपर्ने भएको छ ।
आवश्यकताअनुसार समयअनुसार नागरिक सचेतता सरकारको कार्यदक्षता राष्ट्रमा चाहिन्छ भने बेजिम्मेवार कुरौटेको सत्य तथ्य न बुझी जन हुँडलो गर्न गराउन पनि कसैले हुँदैन । नेपालमा बन्द हड्ताल तोडफोड विनाश र लुटपाटलाई मान्यता प्राप्त बधाविरोध र जनआन्दोलनको समेत संज्ञा दिएर सवै छुट हुन जाने हो त ! संविधान न बनेसम्म विधि अस्तायो कानुन छैन भनेर हानि नोक्सानी गर्नेलाई उन्मुक्ति दिन सकिन्छ ? कदापि सकिँदैन । यसर्थ गणतन्त्र आएको ५वर्ष भयो, जनयुद्ध गरेको १० वर्ष थियो, पञ्चायत गएको २५ वर्ष भयो, प्रजातन्त्र आएको ६० वर्ष भयो, १०४ वर्ष राणाजहानीयाँ शासन थियो, अढाइ वर्षको राजतन्त्र भनेर न्वारन पास्नी व्रतबन्धको वर्ष मास दिनका नामाकरणको झैँ चक्कर छाडी नेपाल राष्ट्रमा यातायात, सञ्चार शिक्षालगायतका तमाम कार्यको सुचारु उन्नति गर्ने व्यवस्था हुने हो भने कसैले कसैलाई दोषारोपण र परस्पर हिलो छयापाछयाप नगरी आफ्नो प्रशंसा गुणकीर्तन भजन पनि आफैँले गर्न छाडेर जस जति अफ्नो दोष जति अरूको देखाउने बानी पनि हटाएर विगत यता ७/८ वर्षको सबैले आत्मावलोकन किन नगर्ने ? विगत शासनका अंग तथा निकायलाई भाङभुङ पार्ने हुलभीडको उन्माद बढाउने मात्र, सार्वजनिक हितकर संरचना विनाश के जनआन्दोलनको द्योतक हो त ! सबैले जानअजान गरेका उपद्रवको समीक्षा किन नगर्ने ? स्वस्थ शरीरका लागि स्वस्थ मनस्थिति भएझैँ सबल राष्ट्र बनाउनका लागि पनि जनबलबिना सम्भव नहुँदा कसैको पनि एकाकी गुणदोषलाई मात्र तारो बनाउन हुँदैन । यातायात, सञ्चार, शिक्षालगायत राष्ट्रको सर्वांगीणरूपमा उन्नति भए सबैको भलो हुन्छ भने विवाद केका लागि ? समस्या समाधानका लागि हो र विचार छ भने सार्वजनिक वा वैयक्तिक क्षति गर्नेलाई दण्डित किन नगर्ने ?
बाहिरी उन्नति भौतिक विकासलाई सभ्यता भनिन्छ भने आन्तरिक चेतना, मानसिक, शारीरिक आचरण विचरण समस्तरूपमा त्यो संस्कृति मानिन्छ । संस्कृति सदाचार व्यवहार विचार पनि शिक्षाको आधार हो, यस्ता विषयमा विचलन आयो भने सबै जना सावधान भएर आफँै समालिन आवश्क छ, यदि कोही नियन्त्रित छैन र बाटो बिराएको छ भने उसका लागि विधि हुन्छ, कानुन हुन्छ । कानुन पनि शिक्षाको एउटा अंग हो, यो सुधरात्मक हुन्छ, नैतिक मानसिक शारीरिक एवं आर्थिक भौतिक सबै प्रकारका सुधार तथा समुचित विकास नै शिक्षा हो, राष्ट्रको उन्नति पनि हो । राष्ट्रयात्रा जीवनयात्रा भनौ, हाम्रो गन्तव्य भनौ, सञ्चार भनौ, विस्तार भनौ या शिक्षा कानुन जे भने पनि सुखी धनी नेपाली किन विदेशिन्छ ? किन विद्रोही बन्छ ? किन वहकिन्छ ? किन हेपिन्छ ? किनकि हाम्रो यातायात, सञ्चार एवं शिक्षालगायत समस्त क्षेत्र सुधारोन्मुख भएन । देह, मन, वचन, कर्म पनि विशुद्ध(विशेष शुद्ध) न हुँदा स्वस्थ जीवनको उन्नत मानवमस्तिष्क पनि हुनसकेन ।

प्रतिक्रिया