लोकतन्त्रमा जवाफदेहिता

Birendra-Thapaliyaएसिया र दक्षिण एसियाली देशमा शासक तथा प्रशासकहरू सुशासनका आयाममा बारम्बार असफल भएका छन् । कार्यकारिणीे पदमा बहाली नरहेको अवस्थामा मात्र होइन, कार्यरत अवस्थामा समेत गिरफ्तार भै जेलजानेहरू थुप्रै छन् । कार्यकारिणी मन्त्रीहरू अदालतमा झन्डा हल्लाएर बहस पैरवीमा (पेसीमा) हाजिरहुँदा त्यहीँबाट जेल चलान हुने अवस्थालाई सहजै पचाइएको छ । पूर्वमन्त्री, मुख्य प्रशासक र अन्य प्रशासनिक यन्त्रको निर्णायक पदमा बसेका पदाधिकारी (राष्ट्रसेवक) त्यस्ता फौजदारी अभियोगमा दण्ड सजाय पाएको कुरा सामान्यजस्तै हुँदै गएको पाइन्छ । लोकतन्त्रको सुदृढीकरणमा लागेका र यसको संस्थागत विकास भएको हेर्न चाहने आमनागरिकलाई निर्वाचित व्यक्तिहरू नै यस्ता कारबाहीमा पर्नु आफैँमा विडम्बनायुक्त देखिन्छ । जनताको पक्षमा काम गर्ने र समग्र मुलुकको सम्बृद्धिमा लाग्ने अपेक्षासहित आफूले प्रतिनिधित्व गराएको राजनीतिक व्यक्ति वा प्रतिनिधि इमानदार र स्वच्छ नभइदिनाल नागरिकमा निराशा सिर्जना हुन जानु स्वाभाविकै हो ।  हुन त आफ्नो कुकृत्यप्रति दण्ड सजाय गरिनु कानुनी शासनको दृष्टिले सकारात्मकै पक्ष हो । यो सम्बन्धित पदाधिकारीलाई जवाफदेही बनाउने माध्यम पनि हो । तर, आफैले रोजेका जनप्रतिनिधि बारम्बार कुशासनमा लिप्त भै असक्षम सावित हुनु सुखद विषय हुन सक्दैन । अझ दु:खको विषय यी सबै बेथितिका लागि लोकतान्त्रिक प्रणालिलाई नै बदनाम गराउन खोज्दा झनै  दु:खित बनाउने नै भयो ।
राजनीतिले आफैँमा निरन्तर परिवर्तन हुने एक प्रणालीलाई आत्मसात गरेको हुन्छ । परिस्थितिअनुसार परिवर्तित र क्रियाशील हुन नसकेमा राजनीति सहज रूपमा अगाडि बढ्दैन । यसलाई सहजरूपमा अगाडि बढाउन राजनीतिभित्र क्षमताको विकास र विस्तार हुन जरुरी हुन्छ । वर्तमानमा राजनीतिक जवाफदेहीताबाट राजनीतिको प्रमुख संवाह राजनीतिक दल र यसको नेतृत्व पंक्ति विमुख बन्दै गएको पाइन्छ । राजनीतिको संस्थागत विकास र क्षमता विकासका लागि राजनीतिभित्र के–कस्तो दायित्व र जवाफदेहिता आवश्यक हुन्छ त्यसको निक्र्याेल गर्नुपर्छ । जनताप्रति कानुनी र नैतिक रूपमा उत्तरदायी भई नागरिकको सेवा र सुविधाहरू उपलब्ध गराउन कर्तव्यनिष्ठ भई आफ्नो प्रतिबद्धताअनुसार जिम्मेवारी पूरा गर्नुपर्ने राजनीतिक जवाफदेहिताभित्र पर्ने कुरा हुन्न । तर, अहिले नागरिकले आफ्नो अवस्थाको सम्बोधनका लागि राजनीति जवाफदेही भएको महसुस गर्न सकेका छैनन् ।
जवाफदेही लोकतन्त्रको अनिवार्य सर्त हो । राजनीतिमा जवाफदेहीताको सवाललाई खोजी गरिने परिपाटी बसाल्न सकेमा लोकतन्त्रले संस्थागत विकास हुने मौका पाउँछ । लोकतन्त्रको आफैँमा संस्थागत विकास गराउन सक्नु भनेको राज्यका हरेक अंग र गैरराज्य क्षेत्रमा समेत लोकतान्त्रिक चरित्रलाई आत्मसात गर्ने परिपाटी बसाल्नु हो । यसका लागि पहिला राजनीतिमा जवाफदेहीताको संस्कार विकास गर्नुपर्छ ।
वर्तमान राजनीति अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरणको केन्द्रविन्दुमा फन्को मारिरहेको छ । विभिन्न घटना र परिघटनाबीचमा हाम्रा प्रधानमन्त्री स्वयंले सर्वाेच्च अदालतमा  मुद्दाको तारिक धाउनु परेको अवस्था छ । यसको पछाडि हामीले राजनीतिमा जवाफदेहीताको खोजी गरी तिनलाई जवाफदेही बनाउन नसक्नुले भएको हो । अब हामीले राजनीतिमा हुनुपर्ने उत्तरदायित्वको लेखाजोखा गरी त्यसभित्रका हरेक पात्रलाई जवाफदेही बनाउनुपर्छ । यही जवाफदेहीताको सुरुआत नै नेपालको लोकतन्त्रको संस्थागत विकासको प्रस्थान विन्दु हो ।
लोकतन्त्रबाट प्राप्त गर्ने कुरा स्वत:स्फूर्त आफैँ प्राप्तिको विषय होइन । यसका लागि बौद्धिक वर्ग, आमनागरिक समुदायले राजनीतिलाई जवाफदेही बनाउन सक्ने गरी हस्तक्षेप गर्नुपर्छ । नागरिकले व्यक्तिगत रूपमा, व्यवस्थित हिसाबले पनि लागि पर्नुपर्ने हुन्छ, चिन्तनमनन गर्नुपर्ने हुन्छ, आमनागरिक र बौद्धिक वर्गमा सामूहिक संजालमार्फत छलफल अगाडि बढाइनुपर्ने हुन्छ । साथै अन्तर्राष्ट्रिय रूपमा अपनाइएका अन्य तौरतरिका र संयन्त्रहरूलाई समेत आत्मसात गर्नुपर्ने हुन्छ । व्यक्तिगत हिसाबले समते यसका लागि लाग्नुपर्ने नागरिकको कर्तव्य पनि हो ।
राजनीतिक पार्टीलाई यस अर्थमा पनि जवाफदेही बनाउनुपर्ने हुन्छ कि राज्यका राजनीतिक एवं गैरराजनीतिक सबै क्रियाकलापमा उसको उपस्थिति अर्थपूर्ण  हुन्छ । त्यस्तै, राजनीतिक संजाल समाजको हरेक अंग र भित्री तहसम्म पुग्ने र राजनीतिले नै तिनलाई राजनीति समाजीकरण गर्ने कार्य गरेका हुन्छन् । अत: राजनीतिको विश्वसनियता मापनलाई जवाफदेहीताको तराजुमा मापन गर्नुपर्ने हुन्छ । र, त्यो मापन खस्किन दिनु हुँदैन ।  राजनीतिक दलको प्रभावकारीता अन्य संगठनको प्रभावकारीताभन्दा बलियो हुन्छ । यो हुँदाहुँदै पनि राजनीतिक दलको कमीकमजोरी कसैबाट लुकेको छैन । वर्तमान नेपालका राजनीतिक पार्टीको विश्वसनियता बारम्बार खस्किएको अवस्था छ । राजनीतिक दलहरूले घटनालाई नबुझ्ने, वा सम्बन्धित घटना क्रमलाई सम्बोधन गर्न क्रियाशील हुने क्षमताको अभाव बारम्बार खड्किएको छ जुन उनीहरूमा जवाफदेहीताको अभाव र आमनागरिकमा राजनीतिमा जवाफदेहीताको खोजी गर्ने संस्कारको अभावले हुन गएको हो ।
अत: हामीले विश्वको सभ्य समाजद्वारा स्वीकृत मापदण्डअनुसार गरी राजनीतिलाई जवाफदेही बनाउनुपर्छ । कामको जिम्मेवरी लिएर पदमा बसेकाहरूलाई नैतिक रूपमा  खारने एक मात्र माध्यम जवाफदेहीता हो । यसो गर्न सकिएमा मात्र राजनीतिमा नागरिकको पीडाको अनुभूति गर्ने चेतना र विवेकले स्थान लिन्छ । नत्र राजनीतिक पात्रको विद्वता, शालीनता, शान्तिप्रियता भनेको केवल नकाब मात्रै हुन जान्छ । त्यस नकाबभित्र हिंसालगायत गैरजिस्मेवार तत्वको पक्षपोषण गर्ने नीतिले बढवा पाउँछ । साथै कानुनको शासन तहसनहस गर्ने, राष्ट्रहितलाई तहसनहस पार्ने र कानुनी राजको खिल्ली उडाउने काम हन्छ । पीडितका लागि राज्य होइन, पीडकको संरक्षणका लागि राज्यको साधनस्रोतको दुरुपयोग गरिन्छ ।
साचै लोकतन्त्रलाई बलियो बनाउने हो भने यसका कमीकमजोरीहरूलाई लुकाइनु वा छलछाम गरिनु हुँदैन । यसका कमीकमजोरीहरूलाई पहिचान गरिनुपर्छ । त्यसमा सुधार गरिनुपर्छ । त्यसरी गरिने सुधारको साधनमा जवाफदेहीताको खोजी पनि एक महत्त्वपूर्ण पाटो हो । सार्वजनिक उत्तरदायित्व वा जवाफदेहीताबाट नै लोकतन्त्रलाई संस्थागत गर्न सकिन्छ । यसका नकारात्मक पक्षहरूलाई सुधार्न सकिन्छ । अनि मात्र हाम्रो जस्तो विकाशोन्मुख देशको आर्थिक विकास, राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रणालीको संस्थागत विकास सम्भव हुन्छ । माथि भनिए झै राजनीतिक पद्धतिमा जवाफदेहीता अत्यन्त महत्त्वपूर्ण हुने गर्छ । राजनीतिमा हुने विकृति रोक्न के कस्ता कारणबाट त्यसो हुन गएको हो सोको पहिचान गरी सुशासन कायम गर्न नै सुशासनको अवधारणा अगाडि ल्याइएको हो । विकृतिको कारण पहिचान गर्नेे माध्यम जवाफदेहिताको खोजी हो । यसमा जवाफदेहीताको खोजी गरी राजनीतिलाई जवाफदेही बनाउन सकिएमा मात्रै जनप्रतिनिधि वा राजनीतिक प्रतिनिधिबाट राज्य सञ्चालनमा सुशासन कायम हुन सक्छ ।
राष्ट्रिय परिदृयमा राजनीतिको नकारात्मक परिदृश्य छुट्टयाउन पनि राजनीतिमा जवाफदेहीता खोजी गरिनुपर्छ । गरेको त्रुटिलाई भविष्यमा दोहोरिन नदिन, गल्तीहरूलाई क्रमिक रूपमा सच्याउँदै जनप्रिय राजनीतिको संस्थागत विकासका लागि राजनीति कर्ताको वैयक्तिक एवं सामूहिक जवाफदेहीताको खोजी एवं विकास गर्नुपर्छ । सार्वजनिक सरोकारको विषयमा यो वा त्यो कुनै पनि अत्तो थापेर राजनीतिक दल/सरकार पन्छिन पाउँदैन, पन्छिन दिनुहुँदैन । त्यसका लागि पनि लोकतन्त्रमा जवाफदेहीताको सुनिश्चितता गर्नुपर्छ ।

प्रतिक्रिया