फ्रेन्च ओपन उपाधिका लागि दुई स्पेनियार्ड भिड्ने

पेरिस : यस वर्षको फ्रेन्च ओपन टेनिसको पुरूषतर्फको उपाधिका लागि स्पेनका दुई खेलाडी भिड्ने भएका छन् । राफेल नाडाल र डेभिड फेरर । नाडालले शुक्रबार राति चार घन्टा ३७ मिनेटसम्म लम्बिएको सेमिफाइनलमा विश्व नम्बर एक खेलाडी सर्बियन नोभाक जोकोभिकलाई ६–४, ३–६, ६–१, ६–७, ९–७ ले पराजित गर्दै आइतबार राति फेररविरुद्धको फाइनल भिडन्त तय गरेका हुन् । फेररले फ्रेन्च प्रतिद्वन्द्वी बिल्फ्रेड सोंगालाई तीन सोझो सेटमा पराजित गरेका थिए । सोंगाले क्वार्टरफाइनलमा स्विस स्टार रोजर फेडेररलाई पछारेका थिए ।
यसअघि सन् २०१२ मा पनि जोकोभिच र नाडालबीच अस्ट्ेरलियन ओपनको फाइनल भिडन्त ५ घन्टा ५३ मिनेट लम्बिएको थियो । सातपटक फ्रेन्च ओपन च्याम्पियन भइसकेका २७ वर्षीय नाडालले फ्रेन्च ओपनअन्तर्गत हालसम्म खेलेका ५९ वटा म्याच केवल एउटा मात्र म्याच हारेका छन् । त्यो पनि सन् २००९ मा । यस वर्ष नाडालले खेलेका ४४ म्याचमा ४२ म्याच जितेका छन् । आठौँपटक पनि फ्रेन्च ओपन जितेमा यो उपलब्धी हासिल गर्ने उनी पहिलो खेलाडी बन्ने छन् ।
जोकोभिकलाई पराजित गरिसकेपछि नाडालले भने, ‘मेरा लागि यो जित निकै खास छ । म नोभाकलाई बधाई दिन चाहन्छु । उनी एक जना च्याम्पियन खेलाडी हुन् र मलाई के विश्वास के छ भने उनले एकदिन पक्कककै पनि फ्रेन्च ओपनको उपाधि जित्ने छन् ।’
अन्य तीन ग्रान्डस्लामसँगै सबै उच्चस्तरीय उपाधि जितिसकेको भए पनि जोकोभिकले अहिलेसम्म फ्रेन्च उपाधि जित्न सकेका छैनन् । नाडालसित हारिसकेपछि उनले भने, ‘यो बडो अविश्वसनीय किसिमको म्याच थियो । यस्तो म्याचको हिस्सा हुन पाउनु आफैँमा निकै रोमाञ्चक हो । तर, म चाहिँ निरास छु । ता पनि म नाडाललाई बधाई दिन चाहन्छु । उनी सायद आफ्नो खेलकै कारण च्याम्पियन खेलाडी हुन् ।’ महिलातर्फको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन रुसकी मारिया सारापोभा र अमेरिकाकी सेरेना बिलियम्स शनिबार राति भिड्दै छन् । (एजेन्सी)

प्रतिक्रिया