राष्ट्रको मर्यादा कमजोर भयो

anil-yogi-1छरिएर रहेका स–साना राज्यहरूलाई एकीकरण गरेर यो राष्ट्रलाई स्वतन्त्र राष्ट्रका रूपमा विश्वमा चिनाउने ती बहादुर हाम्रा पुर्खा आज धिक्कारका पात्र बनेका छन् । शाह वंशले नेपाल र नेपाली जनताका लागि युग सुहाउादो विचार दिन नसकेको भए पनि राष्ट्रको रक्षा कवजको भूमिका खेलेको थियो त्यसलाई पनि हामीले दण्डित गरिसक्यौँ । नयाा नेपाल निर्माण गर्ने नाममा दलका नेताले राष्ट्र र जनतालाई धोका दिएको विषय मार्मिक मात्र छैन सम्वेदनशील पनि छ । दलका नेताको प्रवृत्तिका विरुद्ध आमसञ्चारमाध्यम, साजिक संघसंस्थाका प्रतिनिधिलगायत सबैले विरोध गरिरहेका छन् । दलका नेताले राजसंस्थालाई राष्ट्र र जनताको प्रगतिको बाधक भनेर राष्ट्रिय राजनीतिबाट अलग त गरे तर देशको राज्यसत्ता र राष्ट्रिय राजनीतिको बागडोर आफ्नो अधीनमा राख्न सकेनन् । राज्यसत्ताको चावी परचक्रिका हातमा सुम्पिन दलका नेता किन राजी भए ? राष्ट्रिय राजनीति जातीय राजनीतिमा रूपान्त्रण कुन स्वादमा गरियो ? राष्ट्रको रक्षाका लागि भन्दा पनि नेपाली आफ्नो जात र वर्गका रक्षाका लागि संगठित भएका छन् । यो काम गर्न दलका नेता जनतालाई किन उक्साउँदै छन् ?

सत्ता र शक्तिमा पुग्नका लागि दलका नेताहरूले जनताको तागतलाई प्रयोग गरेको विषयप्रति हामी अझै सचेत र निष्पक्ष ढंगले समीक्षा गर्न सकिरहेका छैनौँ । हजाराँै जनताको रगतमा पौडी खेल्ने दलका नेतालाई अब्बल दर्जाका लोकतन्त्रवादी ठोनेर हामीले ठूलो भूल गरिरहेका छौँ । नेपाली जनताको यही कम्जोर राजनीतिक चिन्तन र चेतनाका कारण आजको राष्ट्रिय संकट सिर्जना गर्न दलका नेतालाई सजिलो भएको हो भन्ने कुरा अब लुकाउन सकिँदैन । विश्व राजनीतिक दुनियाँमा लोकतन्त्र जनताको जीवनशैली बनिरहेको अवस्थामा हाम्रो देशमा लोकतन्त्र फस्टाउन किन सक्दैन ? नेपालमा लोकतन्त्रको गफ गर्न त हामी जान्दछौँ तर इमानदारीपूर्वक राष्ट्र र जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्न किन सकिरहेका छैनौँ ? दलका नेता यदि लोकतन्त्रप्रति इमानदार थिए भने समस्या समाधान गर्न कठिन थिएन । यो फगत राजनीतिक संस्कार र सक्रियता कुन दुनियाँको लोकतान्त्रिक शासनपद्धति हो ठोस रूपमा कसैले भन्दैन ।
लोकतान्त्रिक गणतन्त्रको नाममा एकीकृत राष्ट्रलाई कस्तो बनाउन खोजिँदै छ भन्ने कुरा दिन प्रतिदिनका घटनाक्रमले प्रस्ट पारेकै छ । देशमा शान्ति बहाली गर्ने वा नगर्ने ? जनतालाई शान्तिपूर्वक बाँच्न दिने वा नदिने भन्ने विषयमा राजनीतिक दलका नेताबीच विवाद भइरहँदा पनि नेपाली जनताको लोकतान्त्रिक शासन व्यवस्थाप्रतिको प्रतिबद्धता कायमै छ । जनताको शान्तिपूर्वक बाँच्न पाउने जन्मसिद्ध अधिकार राजनीतिक दलका नेताले आफ्नो अधीनमा राखेका छन् । समाजमा अराजक्ता र अव्यवस्था सिर्जना गर्नेहरू दलका कार्यकर्ताका रूपमा ठाँटको जीवन बाँचिरहेका छन् । उनीहरूलाई देशप्रतिको जवाफ देहिताको बोध भएको छैन नेताहरूका आडमा आफ्ना गतिविधि निर्वाद रूपमा सञ्चालन गरिरहेका छन् । दलका नेता नेपाल राष्ट्रलाई कतैबाट आफूले बिर्ता पाए जसरी कित्ताकाट गर्दै पलटिङ गर्ने र आ–आफ्ना भक्तजनहरूलाई मौजाका रूपमा बाँड्ने प्रयत्न गर्दै छन् ।
छिमेकी राष्ट्र विषेशगरी भारत नेपालमा कुन हदको हस्तक्षेपकारी भूमिका खेल्न सक्छ भन्ने कुरा २०४६ सालको जनआन्दोलनमा चाक्सीवारीमा भएको भारतीयहरूको भेला गजबकै थियो । नेपालीहरू देशप्रति इमानदार थिए भने त्यो हरकत फेरि दोहोरिन दिने थिएनन् । हाम्रो देशको बिडम्वना भन्नुपर्छ नेपालीको अझै चेत खुलेको छैन । पछिल्लो समयमा माओवादीको विकास र विस्तार गर्ने कुरामा समेत प्रत्यक्ष रूपमा भारतीयहरूको भूमिका थियो भन्नेहरूका विचार सत्यसावित हुँदै छन् । राजतन्त्रको अन्त्य गर्ने सवालदेखि माओवादी लडाकाहरूका छाती नाप्ने कामसम्म आइपुग्दा भारतीयहरूको भूमिका कम महत्त्वपूर्ण छैनन् । राष्ट्र र जनताको जीवनमा हुँदै गरेको बर्बादीपूर्ण आतंक कुनै न कुनै रूपमा रोक्नुपर्ने त थियो । आफ्नो देशभित्रका माओवादीलाई शिरठाडो गर्न नदिने भारतको सत्तापक्षले नेपालका माओवादीलाई यसरी किन काखिच्याप्यो भन्ने विषयमा हामीले अझैसम्म विस्तृत रूपमा अध्ययन गरेका छैनौँ । यो विषयमा नेपाली जनताले मात्र होइन देशका जानिफकार भन्नेहरूले अझै भित्री कुरा खोतल्न चाहेका छैनन् । राष्ट्रिता र स्वाधीनताको रक्षा गर्ने भन्दै भारतका विरुद्ध लड्न निमुखा युवालाई सुरुङ खन्न लगाउाने माओवादीलाई भारतीयहरूले किन यसरी काखिच्याप्दै छन् भन्ने विषयमा गहन अध्ययन अझै भएको छैन ।
संसद्वादी र माओवादीको आपसी लडाइँले गाउँगाउँमा जनताको रगत बगिरहेकै अवस्थामा र जनता आफ्ना बस्तीमा असुरक्षित भएकै अवस्थामा दरबार हत्याकाण्ड मच्चाइयो । हामी नेपाली जनता र राजनीतिक कर्मीहरूले देशभित्रै राष्ट्र प्रमुख राजा वीरेन्द्रको वंशनाश हुँदासम्म राजनीति बुझ्न चाहेनौँ भनौँ वा सकेनौँ । हामीलाई विदेशीले लडाउँदै गर्दा हामी मर्दै गर्दा पनि हाम्रा बुद्धिले देशको अवस्थाका बारेमा जान्न चाहेनाँै । त्यतिबेला सत्तामा भएका गिरिजाप्रसादहरू र जंगलमा भनिएका तर दिल्लीमा बसेका प्रचण्डहरूलाई एक ठाउँमा बस्न सक्छन्जस्तो लाग्दैन थियो तर उनीहरूलाई भारतीयहरूले एक ठाउँमा राखिदिए । देश विकाशको मार्ग खुलेको भए, जनताले सुखशान्तिको जीवन बाँच्न पाएको भए यी दुई धु्रवका शक्ति र व्यक्तिको मेलमिलापलाई सकारात्मक भन्न कसैले अफ्ठेरो मान्नुपर्ने कारण थिएन । त्यो मार्गमा राष्ट्र उन्मुख हुन सक्ने सम्भावना पनि देखिँदैन । व्यवस्था र जनमतको आफू अनुकूल अपव्याख्या गर्दै दलका नेताहरू निर्धक्कसँग ठाँटको जीवन बाँचिरहेका छन् । लोकतन्त्र भनेको उनीहरूका लागि मात्र आएको छ । व्यवस्था उनीहरूको जीवनशैली सुधार गर्ने केवल माध्यम भएको छ । जनताको व्यवस्था लथालिङ बनाएर मस्तसँग बाँचेका छन् दलका नेताहरू । जनता र आफ्नो देशप्रति अनउत्तरदायी राजनीतिक शक्ति र व्यक्तिहरूबाट देशको प्रगति सम्भव छैन भन्नलाई कसैले शंकोच मान्नुपर्ने अवस्था छैन ।
नेताहरूले जनताकाबीचमा वाचा गरेको समय सीमाभित्र संविधान बनाएनन् । नेपाली जनता सचेत र देशप्रति इमानदार भएका भए पटकपटक म्याद थप गर्दै राज्यको सम्पत्ति बर्बाद पार्ने अपराध लोकतन्त्रको नाममा दलका नायकहरूले गर्न सक्ने थिएनन् । लोकतान्त्रिक शासन व्यवस्थाको ओकालत गर्ने बौद्धिक भन्नेहरू आफ्नो दुनो सोझ्याउने ध्याउन्नमा फसे । जनता निष्क्रिय र निरीह प्राणीजस्तै भएका हुनाले लोकतन्त्रलाई नेताहरूले आफू अनुकूल सहज रूपमा परिभाषित गरे । अमूक ठूलो दल वा सानोदल भएका नाताले, अथवा आलोपालो देश चलाउन पाउनुपर्छ भन्नेजस्ता कुतर्क अघि सारेर दलका नेताहरूले देशलाई आफ्नो बिर्ताजस्तै ठाने । एउटा राष्ट्र हुनुको नाताले अन्तर्राष्ट्रिय राजनीतिमा नेपालले आफ्नो मर्यादा कम्जोर बनाएको छ । हामीसँग अब विदेशीबाट घेरिएका विभाजित निरीह प्राणी जनता र असुरक्षित भूगोल मात्र बाँकी छ, । अब हामीसँग कुनै मानवीय सभ्यता र मौलिकता बाँकी छैन ।
बाह्य शक्तिका सामु नेपाल राष्ट्रको मान मर्यादा बढाउनुपर्ने थियो त्यो काम किन गरिएन ? बेरोजगार युवाहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने थियो त्यो काम किन गरिँदैन ? समाजमा भएका असमानता र अव्यवस्थाको अन्त्य गर्दै समाजलाई एकधारमा हिँडाउनुपर्ने थियो त्यो काम कसले गरिरहेको छ ? राष्ट्रको हित र जनताको प्रगति गर्ने काम दलका नेताका कार्यसूचीभित्र किन पर्दैनन् ? कताबाट पैसा कमाउने र कसका पछाडि लागेर सत्ता र शक्तिमा पुगिन्छ भन्ने चिन्ताले ग्रस्त नेताहरूको रबैयाले गर्दा समाजले अग्रगति लिन सकेन । भाइभाइकाबीचमा फुट छ विभाजन छ । नेपाली जनताको सोझोपनको दलका नेताहरूले फाइदा उठाउने कामबाहेक अरू केही गर्न सकेनन् भन्न नसक्नेहरू लोकतन्त्रका पक्षपाति हुन सक्दैनन् ।

प्रतिक्रिया