धर्ममा राजनीतिक सिद्धान्तको स्वार्थ

Vijaya-Narshing-Kcप्राचीन सभ्यताको वैज्ञानिक आधारमा बनेका धार्मिक आचरण तथा धर्मशास्त्रको परिभाषा तथा अनुशरणले सामाजिक, पारिवारिक तथा व्यक्तिगत आचरणबाट मानवीय कर्तव्य र उत्तरदायित्वले समाजमा निभाएको भूमिकाले नै एकता तथा समृद्धिको जगेर्ना गरी समाजलाई गतिशील बनाएको छ । धर्मको आधार नै संस्कृतिमा हुन्छ तथा त्यसैले नै समाजलाई जीवन्त बनाइरहेको हुन्छ । समय सापेक्ष संस्कृति, परम्परालाई संरक्षण र सम्बर्धन गर्ने आधारभूत नीतिनिर्माण अनुरूप नै विकासक्रमको अवधारणा तयार गरिएको हुन्छ । समानुपातिक न्याय प्रणालीमा नागरिकको हकअधिकार संरक्षण गर्दै शान्ति सुव्यवस्था, सामाजिक, आर्थिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रलाई समेट्दै राज्यसत्ता सञ्चालन गर्न निर्माण भएको वा गरिएको प्रतिपादित सिद्धान्तले नै सर्वांगीण भूमिका निर्वाह गरेका हुन्छन् । देश काल परिस्थितिबमोजिम नै समाजले खडा गरेको राजकीय व्यवस्था समयसापेक्ष विकासको अवधारणमा गतिशील हँुदै जाने प्रक्रिया हो । राजकीय परमम्परामा आधारित शासन व्यवस्थाको समयसापेक्ष अन्त्य हुने परिस्थितिका सुरुआत पश्चात् पश्चिमा राष्ट्रहरूमा दार्शनिकहरूले प्रतिपादित समाजवाद, साम्यवाद, पुँजीवाद, राष्ट्रवाद, जनवाद, उदारवाद आदि जस्ता अनेकाँै सिद्धान्तमा आधारित भई राजनीतिक प्रतिस्पर्धामार्फत सैद्धान्तिक मूल्य र मान्यता स्थापित हुने तथा शासन व्यवस्थाको पद्धति बसाल्ने तथा राज्य सञ्चालन गर्ने आधारस्तम्भ बनाएको चुनावी प्रक्रिया अवलम्बन गरियो ।

समाजवाद, साम्यवाद, पुँजीवाद, राष्ट्रवाद, जनवाद, उदारवाद जस्ता विभिन्न दर्शनको सैद्धान्तिक राजनीतिक प्रतिस्पर्धामा परम्परावादी राजकीय शक्तिको संसर्गमा रहेका धार्मिक व्यक्तिहरूको वर्चस्व र प्रभाव रहेको हुँदा पक्ष र विपक्षको सैद्धान्तिक समूह तथा बहुमत राजनीतिक समूह बीचको द्वन्द्वमा धर्म निरपेक्षताको मुद्दालाई राजनीतिकरण गरी धार्मिक सत्ता वर्चस्वलाई परास्त गर्ने षड्यन्त्र गरियो । पश्चिमा राष्ट्रहरूमा १७/१८औँ शताब्दीतिर धार्मिक प्रभुत्व राख्ने व्यक्तिहरू, पोपहरूको निर्देशनको प्रभाव पर्ने अवस्था कायम थियो भने उनीहरूकै इशारामा र वर्चस्वमा शासन सत्ता सञ्चालन हुनुपर्ने बाध्यतालाई चिर्न अनेकौँ लाञ्छना लगाई नागरिकहरूलाई आफ्नो सिद्धान्तमा आकर्षण गर्ने परम्परा बसाले । धर्म निरपेक्षताको मुद्दा त्यसैको निरन्तरता मात्र हो । तत्कालीन अवस्थामा क्रिस्चियन सम्प्रदायमा हुर्किएका तथा सोही सम्प्रदायको गतिविधिको विषयलाई लिएर व्यक्तिगत विचारधारा अन्तर्गत ‘धर्म अफिमको नशा’ मान्ने कार्ल माक्सको अभिव्यक्ति त्यसैको एक कडी मात्र हो ।
हिन्दू सभ्यतामा वैदिक धर्मशास्त्रको आधारमा समाजलाई गतिशील बनाउन नागरिकलाई कर्म क्षेत्रको अधिकार प्रत्यायोजनमा समानुपातिक सिद्धान्त लागू गरिएको छ । जसको पहिचान वर्णको आधारमा स्थापित भए पनि धर्मशास्त्र गीतामा ‘कर्माणां द्विज उच्चते’ भनी पुरुषार्थको आधारमा श्रेष्ठता कायम हुने मान्यता स्थापित गरेको छ । राष्ट्रवाद सिद्धान्त अन्तर्गत समाजमा रहेको नागरिकको आस्थाबमोजिम नै परम्परा तथा संस्कृतिको मूल्य र मान्यतालाई अंगिकार गरेको हुन्छ । हिन्दू धर्म संस्कृतिको मूल्य र मान्यतामा परिभाषित वैदिक साम्यवादको आधारमा ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया’ वेदवाक्य अनुरूप कार्यान्वयनको पक्षलाई प्राथमिकता दिई समाजलाई समुन्नत बनाउने प्रयत्न गरिएको छ । त्यसैका आधारमा रहेर नै मानव जीवनमा शारीरिक, मानसिक तथा आध्यात्मिक जीवनलाई सुखमय बनाउनका साथै नैतिकवान् तथा चरित्रवान् नागरिक बनाउनका लागि उपदेश, नियम, कानुनको आधारशीला खडा गरिएको छ । त्यसकारण पनि कार्ल मार्सको अभिव्यक्ति विश्व परिवेश समाजको संरचना तथा मानव विकासको उद्देश्यसापेक्ष छैन तथा आध्यात्मिक जीवनको विषयमा अनभिज्ञता दर्शाउँछ ।
साम्यवादी चिन्तनले लौकिक संसार र व्यक्तिवादी सिद्धान्त तथा अहंकारवादी चरित्रका विचारधारा समेटेको छ । त्यसैले कम्युनिस्ट साम्यावादीका समूह सर्वेसर्वा बन्न महत्वाकांक्षी भई नास्तिक तथा व्यक्तिवादी महत्वाकांक्षी चरित्रमा आधारित हुने तथा अधिनायकवादको पक्षपोषण गरी सत्तास्वार्थ सिद्ध गर्ने अभिप्रायले कुतर्कको आधारशीला खडा गरी भ्रम सिर्जना गर्न उद्दत हुने गर्छन् । आफूभन्दा माथि कोही नहोस् तथा सम्पूर्ण राज्य सत्तामा कालान्तरसम्म शासन गर्ने महत्वाकांक्षा परिपूर्ति गर्न नै धर्म, राजसास्था तथा कानुनको विषयमा विषेश अवधारणा बनाउने गर्छन् । काल विषेश परिस्थितिअनुसार व्यक्तिवादी सिद्धान्त प्रतिपादन गरी समाजमा प्रयोग गर्ने तथा आफू र आफ्नो मान्यता स्थापित गरी शासन सत्तामा पहुँच राख्ने अभिप्रायले संगठनका निर्माण आमजनताले तत्काल बुझन सक्दैनन् । समाजमा मानवीय स्वभाव अनुरूप नै गरिब तथा धनीबीच अन्तरद्वन्द्व रहेको शाश्वत सत्य हो । हरेक गरिब व्यक्ति धनी हुन चाहन्छन तर गरिबहरूको धनीप्रति सदैव ईष्र्या रहन्छ । परम्परावादी शक्तिको रूपमा स्थापित भएको राजकीय पद्धतिमा आधारित शासन व्यवस्थामा भएका अवगुणले समाजमा पारेको नकारात्मक प्रभावका कारण आमनागरिकमा देखा परेको द्वेष संगठनिक रूपमा अभिव्यक्तले सत्ता सञ्चालन प्रक्रिया परिवर्तन गर्न सफल छन् । तर, त्यो समाजका बहुसंख्यक उत्पीडित तथा गरिबहरूको अपेक्षाको भावनाको मतलाई भर्‍याङ बनाएर राजनीति गर्ने व्यक्तिवादी चरित्र रहेको भौतिक साम्यवादमा आधारित सिद्धान्तमा धनको तुलानामा समाजमा वर्गीय अन्तरको विषयलाई मुद्दा बनाएर सांगठनिक गतिविधिमार्फत सत्तामा पहुँच पुर्‍याउने माध्यम मात्र हो । अर्कोतर्फ विविधतामा आधारित समाज जातीय वर्ण वा भौगोलिकताको संरचनामा सत्ता स्वार्थी सिमित व्यक्तिहरूले जातीय वा क्षेत्रीय मुद्दा उछाल गरेर अधिकारको नाममा जातीय क्षेत्रीय मतलाई संगठित गरी सत्तामा पहुँच बनाउने भर्‍याङको रूपमा प्रयोग गर्दै दार्शनिकका सिद्धान्तमा आधारित राज्य सञ्चालन प्रक्रियालाई असफल बनाउन प्रयत्न प्रतिपस्र्धात्मक पद्धति भए पनि यसले समाजिक सद्भावलाई बिथोल्ने काम गर्छ भन्ने कुरामा नागरिक सचेत हुन आवश्यक छ ।
राज्यमा शासन व्यवस्था सञ्चालन गर्न मानव जीवनले भूमिका खेल्नुपर्ने सामाजिक, आर्थिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रमा शान्ति सुव्यवस्था कायम राख्दै रीतिरिवाज, परम्परा तथा संस्कृतिको जगेर्ना गर्न आवश्यक देश, समाज, परिवेशको कानुन व्यवस्था अवलम्बन गरिएको हुन्छ । त्यसलाई पालना गर्ने गराउने सबैको दायित्व हुन्छ । धर्म तथा कर्मको नियम कानुनको पालना गर्न गराउनका लागि आस्थावान् परम्परा तथा संस्कृतिको आधारमा दैवीय प्रतिनिधिको रूपमा राजकीय पद्धति अपनाइएको छ । यसै अन्तर्गत समाज गतिशील हुँदै गएको यथार्थ विश्वसामु आजसम्म पनि यथावत छ । विश्वका अधिकांश राष्ट्रहरू आजसम्म पनि धर्म सापेक्षताको आधारशीलामा खडा भएको र निरन्तरता दिइएको विश्वसामु प्रस्ट छ ।

प्रतिक्रिया