राष्ट्रव्यापी राष्ट्रपति रनिङ सिल्ड सुरु

काठमाडौं, २३ जेठ । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा अन्तरक्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बुधबारदेखि राजधानीमा सुरु भएको छ ।

उद्घाटनका अवसरमा निर्णायकको तर्फबाट एथलेटिक्स वरिष्ठ नायव प्रशिक्षक पुष्पराज ओझा तथा खेलाडीबाट चर्चित भलिबल खेलाडी रमिला तण्डुकारले शपथ लिएका थिए । प्रतियोगितामा एथलेटिक्स र भलिबलमा गरी २७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमश: २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् । विद्यालय राष्ट्रिय रेकर्ड तोड्नेलाई ५ हजार नगद पुरस्कार दिइनेछ ।
एथलेटिक्स : प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडको छात्रमा मध्यमाञ्चलका आशिष चौधरी तथा छात्रामा मध्यपश्चिमाञ्चलकी सरस्वती चौधरी पहिलो भए । निर्धारित दूरी आशिषले १०.१ सेकेन्ड तथा सरस्वतीले १३.५ सेकेन्डमा पूरा गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रा ४ सय मिटर दौडमा १ मिनेट ०६.६ सेकेन्ड समय खर्चदै मध्यमाञ्चलकी अनिता थापा शीर्ष स्थानमा रहिन् । छात्राको १ हजार ५ सय मिटर दौडमा मध्यमाञ्चलकी संगीता खड्का पहिलो भइन् । संगीताले ५ मिनेट १४.५ सेकेन्ड समय लगाइन् । सोही स्पर्धाको छात्रमा पश्चिमाञ्चलका विनोद गुरुङले स्वर्ण जिते । उनले ४ मिनेट २३.३ सेकेन्ड समय खर्चे ।
छात्रको ट्रिपलजम्पमा पश्चिमाञ्चलकाका कुमार गुरुङ अगाडि रहे । सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा उनले १२.७१ मिटर हाम्फाले । सोही स्पर्धामा ९.६० मिटर हाम्फाल्दै पूर्वाञ्चलकी अर्चना यादव छात्रामा पहिलो भइन् । छात्रको हाइजम्पमा सुदूरपश्चिमाञ्चलका नरेश चौधरी पहिलो स्थानमा रहे । उनले १.७४ मिटर उचाइ नाघे । उक्त स्पर्धाको छात्रामा १.३० मिटर उचाइ नाघ्दै मध्यपश्चिमाञ्चलकी तुलशा खत्री च्याम्पियन बनिन् ।
भलिबल : प्रतियोगिताअन्तर्गत छात्र भलिबलमा मध्यमाञ्चल र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा भएको खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई २५–१५, २५–१९ र २५–१८ को सोझो सेटमा हराउदै समूह ‘ए’ को विजेता बन्यो । पूर्वाञ्चल पनि उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो । समूह ‘बी’को लिग खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–९, २५–२१ र २५–१४ तथा सुदूरपश्चिमाञ्चललाई २५–१३, २५–१४ र २५–१४ को सोझो सेटमा पाखा लगायो । जितसँगै पश्चिमाञ्चल समूह विजेता भयो ।
छात्रामा पश्चिमाञ्चल र मध्यमाञ्चलले सेमिफाइनल यात्रा तय गरे । पश्चिमाञ्चलले पूर्वाञ्चलमाथि २५–११, २५–४ र २५–१२ तथा सुदूरपश्चिमाञ्चलाई २५–१४, २५–१० र २५–६ को जित निकाल्यो । पश्चिमाञ्चल समूह ‘बी’ को विजेता भयो । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–११, २५–१० र २५–१३ ले पन्छ्याउँदै समूह ‘ए’को विजेता बन्यो । मध्यपश्चिमाञ्चल पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल रह्यो ।

प्रतिक्रिया