कागजमै सीमित बन्यो त्रियुगा विमानस्थल

उदयपुरपुर २३ जेठ । त्रियुगा विमानस्थल कागजमै सीमित बनेको छ । त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटमा निर्माण गर्ने भनिएको विमानस्थल निर्माण उदयपुरवासीको लागि कल्पना बाहिर विषय भएको छ । स्थानीय विकास मन्त्रालयले विमानस्थलको जग्गा भोगाधिकारसहितको बिक्रीगर्न नदिएकाले निर्माण अनिश्चित भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकभर नै सरकारी जग्गाको भोगाधिकार रोकेको भन्दै स्थानीय विकासले परिपत्र गरेपछि विमानस्थल निर्माण हुने सम्भावना कम भएको हो । त्रियुगा नगरपालिका–३ पुरानो गाईघाटस्थित मैदानमा विमानस्थल निर्माण गर्नका लागि शेरबहादुर देउवाको पछिल्लो सरकारका नागरिक उड्डयनमन्त्री दीपकुमार उपाध्यायले शिलान्याससमेत गरेका थिए । तर, शिलान्यास गरेको केही महिनापछि मन्त्रालयकै प्राविधिकले विमानस्थल निर्माण गर्ने भनिएको स्थान अनुपयुक्त रहेको भन्दै अन्यत्र स्थान छनोट गर्न सिफारिस गरेको थियो ।
प्राविधिकरणको सिफारिसअनुसार विमानस्थल निर्माण समितिले त्रियुगा नगरपालिका–१० उत्तराईटोललाई विमानस्थल निर्माणका लागि छनोट गरेको थियो । पुरानो गाईघाटस्थित हवाई मैदानमा रहेको करिब १४ बिघा १६ कठ्ठा १६ धुर जमिनमा विमान अवतरणका लागि प्राविधिक समस्या आउने र हावाको बहाव उत्तरदक्षिण हुने प्राविधिक पक्षले जनाएपछि सर्वदलीय निर्णय गरेर उत्तराईटोलमा बनाउने निर्णय गरिएको थियो ।
हवाईमैदानमा विमानस्थल नबन्ने निश्चित भए पनि सुरु गरिएको तरकारी बजार बनाउने कुरा पनि सेलाएको छ । दुई/चार दिन स्थानीयले तरकारी बजारसँगै वधशाला निर्माण गर्ने भनेपछि यो कुरा पनि सेलाएको छ । उक्त जग्गा नगरपालिकाले सर्वेक्षण गरी कृषि बजार, रंगशाला, चिल्ड्रेनपार्क, नगरप्रहरी लगायतको संरचनाको रेखांकन गरी केही जग्गा बिक्री गर्ने र बिक्रीबाट प्राप्त रकमले त्रियुगा नगरपालिका–१० उत्तराईटोलमा विमानस्थल निर्माणका लागि ४३ बिगाहा जग्गा खरिद गरी विमानस्थल निर्माण कार्यलाई अगाडि बढाउने निर्णय गरेपछि पटकपटकको सरकार परिवर्तनले सेलाएर गएको हो । सबैकुरा तायार पारेर सम्बन्धित निकायमा पहलगर्ने निर्णय भए पनि पछिल्लो समयमा कसैले वास्ता गर्न नसक्दा विमानस्थल निर्माण अन्योल बनेको हो ।

प्रतिक्रिया