सातौँ शैक्षिक मेला असारमा

काठमाडौं, २१ जेठ । नेपाल शैक्षिक परामर्श संघले आगामी असारमा सातौँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ । नेपाली विद्यार्थी तथा अभिभावकलाई स्वदेशी तथा विदेशी शिक्षण संस्थाहरूबारे जानकारी दिने उद्देश्यले संघले आगामी १३ देखि १६ असारसम्म मेला सञ्चालन गर्न लागेको हो ।
शैक्षिक मेला सञ्चालन विभागका उपाध्यक्ष विष्णुहरि पाण्डेले नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा त्यसको भविष्यका विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू, विश्वविद्यालयहरू तथा त्यहाँ प्राप्त हुनसक्ने सहुलियत, सुविधा एवं गुणस्तरीय शिक्षाका विषयमा पर्याप्त मात्रामा जानकारी दिन मेलाको आयोजना गरिएको बताए ।
पाण्डेका अुनसार मेलामा शैक्षिक परामर्श व्यावसायीहरू, स्वदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मन, रुस, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
मेलामा स्वदेशी तथा विदेशी गरी कुल एक सय ८१ स्टल तथा २३ वटा पाभिलियन रहने संघले जनाएको छ । मेलामा दुई लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान संघले गरेको छ ।
संघका अनुसार मेला शिक्षा मन्त्रालय, नेपाल चेम्बर अफ कमर्स, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, फ्रान्सेली केन्द्र, नेपाल पर्यटन बोर्ड, ब्रिटिस काउन्सिल, मलेसियन राजदूतावास तथा विभिन्न देशका राजदूतावासहरू तथा कूटनीतिक नियोगहरूको सहकार्यमा सम्पन्न हुन लागेको हो ।

प्रतिक्रिया