छोटो समयमा लामो पाइला

Motercycel-Tarunis-souryadaकाठमाडौं, १८ जेठ । पछिल्ला २२ वर्षमा नेपालमा २५ हजार मानिसको सडक दुर्घटानमा मृत्यु भएको छ । यो संख्या आफँैमा अत्यास  लाग्दो हो । वार्षिक एक हजार जनाभन्दा बढी व्यक्तिको मृत्यु सडक दुर्घटनामा भए पनि सरोकारवाला थुप्रै संस्था मौन झै देखिन्छ । यति धेरै सडक दुर्घटना हुनुमा चालक, यात्रु र राज्य सबै पक्ष उत्तिकै जिम्मेवार भएको भने नकार्न मिल्दैन । सवारी चालकको लापर्वाही, कम दक्ष चालक, कानुनको प्रभावकारी कार्यान्वायन नहुनु र गाडीको अवस्था सही नहुनु दुर्घटनाको एउटा प्रमुख कारण बनेको छ । साथमा पैदलयात्रुको लापर्वाही त कारण भइहाल्यो ।
यी समस्यामा पछिल्लो समय नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा)ले चासो दिन थालेको छ । साथमा एक वर्षमा यस खाले दुर्घटना कम गराउन समाजका सबै पक्षलाई आफ्नो अभियानमा उतार्ने जमर्को पनि गरेको छ । नासा क्लबका विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी जनचेता जगाउने कार्यमा सरिक गराउने, अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र समाजका अन्य जिम्मेवार पक्षलाई पनि यो अभियानमा सरिक गराउने कुरा नासा लागिपरेको छ ।
यसै साता वार्षिक १७ वटा कार्यक्रमको घोषणा गर्‍यो । रोड सेफ्टी र खेल पर्यटनसँगै लैजाने सोच राखेको नासाले सडक सुरक्षाकै लागि रोड सेफ्टी अवार्डको समेत घोषणा गरेको छ । मोटर स्पोर्टस्का लागि खेलाडी तयार पार्न योङ ड्राइभर ट्रेनिङ, मार्सल ट्ेरनिङ, गोकार्ट ट्ेरनिङसमेत गराउने बताएको छ । त्यस्तै, केही सर्ट सर्किट रेसिङ र अन्तराष्ट्रिय स्तरका टुरिङ र्‍यालीसमेत आयोजनाको प्रस्ताव छिमेकी राष्ट्रमा सक्रिय संस्थासँग राखेको जनाएको छ । नेपालमा पछिल्लो समय स्थापित भए पनि व्यवस्थित र सक्रिय खेल संघ नासाका धेरै कार्यक्रम खेलकुद, पर्यटन र सडक सुरक्षासँग सम्बन्धित रहेका छन् । यी तीनवटा विधालाई नै सँगै लिएरअघि बढ्नु नै नासाको विशेषता बन्यो । गतवर्ष मात्र अन्तराष्ट्रिय आबद्धता पाएको नासाले यसै वर्ष सडक सुरक्षा सप्ताह पनि मनाउन  थालेको हो ।
नासाले गत महिना मात्र काठमाडांैमा भएको शैक्षिक महोत्सवमा सडक सुरक्षासम्बन्धी जनचेतना कार्यक्रमको आयोजना गर्‍यो । यसको लगत्तै सञ्चारकर्मीको माझमा सडक सुरक्षा सम्बन्धी छलफल गरेको नासाले देश व्यापी रूपमा सडक सुरक्षाका विषयका कार्यक्रम गर्ने योजना बनाएको छ । सडक सुरक्षाका सवालमा सचेत एफआइएको समन्वयमा कार्यक्रमको घोषणा गरेको हो । जनचेतनाका कार्यक्रम नै नासाको सडक सुरक्षा सम्बन्धी प्रमुख कार्यक्रम बनेको छ । त्यसो त नासाको खेल प्रकृति पनि सडक सुरक्षाका लागि उपयुक्त रहेको थियो । नासाले आयोजना गर्ने खेलका प्रकृति नै सडक सुरक्षाका लागि उपयुक्त रहेको संघका सचिव सुशील तण्डुकार बताउँछन् । नासाले नियमित आयोजना गर्दै आएको उमन बाइकर्स च्याम्पियनसिप र सिन्सिएर सिटिजन मोटर र्‍यालीमा सहभागी हुनेको विजेताको मापदण्ड बाटोअनुसार दिइएको समय र गतिमा मोटर कुदाउने नै हो । टिडिएस सिस्टममा आधारित रेसको यो प्रणाली नासाले सुरुवातदेखि नै सञ्चालन गर्दै आएको छ । जुन प्रत्यक्ष रूपमा सडक सुरक्षासँग सम्बन्धित छ ।
हरेक खेलका निकायका सामाजिक जिम्मेवारी पनि हुन्छ । मूलधारका प्रभावकारी मानिएका खेल महासंघले पनि सामाजिक क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्रमा ल्याउन पहल गरिरहेका हुन्छन् नै । उदाहरणका लागि फुटबलको क्षेत्रीय संघ (एएफसी)को सोसियल रेस्पोन्सेबिलिटि विभागको परियोजान नेपालमा रहेको छ । तथापी, सामाजिक जिम्मेवारी र खेलकुदलाई सँगै लैजाने सवालमा सबैभन्दा सफल संघ भने नासा नै रहेको छ ।
एउटा राम्रो चलाक हुनका लागि हरेक खाले मोटर बाटोमा उत्तिकै दक्षताका साथ मोटर चलाउनु पर्छ भन्ने मान्यात बोकेको नासाले प्रतियोगितास्थल पनि फरक–फरक छानेको छ । यसअघि विराटनगरबाट धरानमा सिन्सिएर सिटिजन र्‍यालीको आयोजना गरेको नासाले यो वर्ष धरानमा बुलेट रेसको आयोजना गर्ने भएको छ ।
पर्यटकीय विकासमा पनि केन्द्रित नासाकै पहलमा नेपाल पर्वतीय खेलकुद महासंघको स्थापनापछि पोखरामा पर्वतीय खेलकुद महोत्सवको पनि आयोजना भयो । यो महोत्सवमा पनि नासाको नेतृत्व दायी भूमिका रहेको थियो । नासाको यो अभियान र छाटो समयमा मारिएको लामो फड्कोको कारण व्यवस्थापकीय र प्राविधिक क्षेत्रमा सक्रिय दुई भिन्न समूह नै हो । महासचिव गाविन्द भट्टराईसहितको एउटा समूह व्यवस्थापकीय क्षेत्रमा तथा सचिव सुशीलको नेतृत्वमा एउटा समूह प्राविधिक क्षेत्रमा समान रूपले सक्रिय रहेको छ ।

प्रतिक्रिया