सपना एउटा मान्छे

Thakur-Belbaseसपना बोकेर उकालो चढेपछि
सिँगै आकाश टाउकोमा घोप्टिएको छ
सिँगै पृथ्वी खुट्टामा
झुन्डिएको छ
सपना त आकाश र पृथ्वीभन्दा
निकै गह्रौँ हुँदोरहे छ
सपना बोकेर हिँडेपछि
मान्छे हिँड्ने यी बाटाहरू
दिनदिन टाढिएका छन्
मेरै पसिनाले अस्तित्वमा रहेका
यी खोलाहरू
एकाएक बहुलाएका छन्
बहाव छोडेर खोलाले
किनारामा छोडिएका मेरा हाँसोहरू बगाइरहेका छन्
सपना त बाढी र
पहिरोभन्दा पनि
शक्तिशाली पो हुँदोरहे छ †
सपना बोकेर हाँस्न खोजेपछि
सपनाजस्तै प्रिय र आत्मीय लाग्न थालेका छन्
खुट्टामा टाँसिएका
यी खहरेहरू
यी पहिरोहरू
सपना बोक्न थालेपछि
जिन्दगी र बाढीपहिरो
समान लाग्न थालेका छन्
जिन्दगीभन्दा निकै भारी
हुँदारहे छन् सपना
सपनाहरू बोक्न थालेपछि
दु:खको रङ फेरिएको छ
श्यामश्वेत पीडाहरू
रंगीन बनेका छन्
सुतेका दु:खहरू जागेका छन्
मूल्यहीन सपनाले पुरिएर मरिरहेको
मान्छे, एउटा सिसिफस
मान्छे, एउटा अजंगको भीर
मान्छे, एउटा सुक्दै गएको ताल
अर्थात्, सपना एउटा मान्छे ।
(भर्खरै सार्वजनिक बेलबासेको कवितासंग्रह ‘त्रासमा ईश्वर’बाट)

प्रतिक्रिया