बोज्निएकी दोस्रो चरणमै निराश

wojniekiपेरिस, १७ जेठ । पूर्वविश्व नम्बर एक क्यारोलिन बोज्निएकी वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनमा दोस्रो चरणबाटै बाहिरिएकी छिन् । हाल विश्व वरीयतामा १०औँ स्थानमा रहेकी यी डेनिस खेलाडी पछिल्लो ग्रान्डस्लाम भिडन्तमा बोजाना जोभानोभ्स्कीसँग सोझो सेटद्वारा निराश भइन् । यसअघि बोजाना यस प्रतियोगितामा पहिलो चरण पार गर्न असफल भएकी थिइन् । विश्ववरीयतामा केही समय शीर्षस्थानमा रहनुका बाबजुद बोज्निएकीले हालसम्म ग्रान्डस्लाम उपाधि जित्न सकेकी छैनन् । उनी पछिल्ला पाँच ग्रान्डस्लामको क्वार्टरफाइनलसम्म पुग्न लगातार असफल छिन् ।
महिला एकलतर्फका अन्य खेलमा विश्व नम्बर एक सेरेना विलियम्सले आफ्नो सानदार लयलाई कायम राख्दै तेस्रो चरण यात्रा तय गरिन् । यी अमेरिकनले दोस्रो चरणमा घरेलु खेलाडी क्यारोलिन ग्रासियालाई ६–१ र ६–२ ले सोझो सेटमा पराजित गरिन् । सेरेना पछिल्ला २६ खेलमा अपराजित रहेकी छिन् । उनी यति धेरै खेलमा यसअघि अपराजित रहन सकेकी थिइनन् । ‘यो खेल सजिलै जित्नु मलाई आवश्यक थियो । यसले मेरो आत्मविश्वास बढाउँछ ।’ पछिल्लो समय एकपछि अर्को गरी लगातार उपाधि जितिरहेकी सेरेनाले भनिन् । यद्यपि फ्रेन्च ओपनमा उनले सन् २००१ यता उपाधि जित्न सकेकी छैनन् ।
यता यस वर्ष कुनै पनि उपाधि जित्न नसकेका विश्व नम्बर दुई रोजर फेडेररले पनि सोझो सेटमा जित हात पार्दै यात्रा अगाडि बढाए । यी स्विस स्टारले भारतीय खेलाडी सोमदेव देववर्मनलाई ६–२, ६–१ र ६–१ ले हराए । फेडेरर सन् २००० पछि पहिलोपटक वर्षमा कुनै उपाधि नजिती फ्रेन्च ओपनमा सहभागी भइरहेका छन् । ‘मैले खेल चाँडै सिध्याउन खोजेको थिए किनभने मलाई वर्षाको डर थियो,’ १७ वटा ग्रान्डस्लाम विजेता फेडेररले भने । उनी फ्रेन्च ओपनमा सबैभन्दा धेरैपटक खेल जित्नेको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन् । हालसम्म यस प्रतियोगितामा ५६ खेल जितेका फेडेरर गुलेर्मो भिल्लास र निकोला  पियाट्रेंगली (५८) भन्दा मात्र पछि रहेका छन् । महिला एकलतर्फका अन्य खेलमा भार्भरा लेप्चेन्काले पनि तेस्रो चरणको यात्रा तय गरेकी छिन् ।
वर्षाद्वारा निकै प्रभावित भइरहेको यसपटकको फ्रेन्च ओपन संस्करण बिहीबार पनि त्यस कारणले निकै प्रभावित भयो । निर्धारित समयभन्दा धेरै खेलपछि धकेलिए भने केही खेल स्थगित नै गर्नुपरेको थियो ।

प्रतिक्रिया