स्ववियु चुनावको कार्यतालिका हेरफेरको तयारी

काठमाडौं : विद्यार्थी संगठनहरूबीचको विवादका कारण क्याम्पसहरूमा ताला लागेपछि त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव कार्यतालिका हेरफेरको तयारी गरेको छ ।
त्रिविले दुई दिनभित्र विद्यार्थी संगठनलाई सहमतिका लागि वातावरण बनाउन आग्रह गर्दै कार्यतालिका सार्ने तयारी गरेको हो । त्रिवि पदाधिकारीको बैठक बिहीबार बसी दुई दिनभित्र सहमतिका लागि विद्यार्थीलाई समय दिएर मनोनयन दर्ता सार्ने तयारी गरेको छ । अहिलेसम्म त्रिविले निर्णय भने गरिसकेको छैन ।
विद्यार्थी भर्ना विवादले क्याम्पसमा तालाबन्दी भएपछि त्रिविले कार्यतालिका सारेर निर्धारित मितिमै चुनाव गराउने तयारी गरेको छ । चार वर्षपछि हुन लागेको स्ववियु चुनावको प्रक्रिया भर्ना विवादका कारण अगाडि बढ्न सकेको छैन । त्रिवि विद्यार्थी कल्याण शाखा प्रमुख गंगाबहादुर थापाले ताला लागेका कारण बिहीबार मनोनयन दर्ता हुने नभएकाले मिति सार्नेबारे पनि कुरा भइरहेको जानकारी गराए । मनोनयनको मिति सार्ने या मिति सारेर चुनाव गराउने तयारी भइरहेको उनले बताए । क्याम्पसमा ताला लागेका कारण बिहीबार मनोनयनपत्र दर्ता हुन नसक्ने भएको छ । मनोनयनलाई दुई दिनपछि सारेर त्रिविले निर्धारित मितिमै चुनाव गर्ने तयारी गरेको छ ।
संगठनहरूबीच ताला खोल्ने विषयमा सहमतिको प्रयास भइरहेको छ । नेविसंघका प्रवक्ता युपि लामिछानेले दुई दिनभित्र सहमति गरी ताला खोल्न प्रयास भइरहेको जानकारी गराए । ‘दुई दिनभित्र सबै क्याम्पसका ताला खोल्ने र मनोनयन दर्तालाई पनि सारेर चुनाव गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया