एमाओवादीले ‘काकाकुल’ बनायो टेकानापुरवासीलाई

सिन्धुपाल्चोक, १५ जेठ । एमाओवादीका पूर्वसभासद् राजकुमार श्रेष्ठको निर्देशनमा पार्टी कार्यकर्ताले खानेपानी आयोजनाको पाइपलाइन काटेपछि टेकानपुर गाविस र तौथलीका केही वडामा खानेपानीको हाहाकार भएको छ । गाउँको सबैभन्दा उब्जनी हुने जग्गाबाट सभासद्् श्रेष्ठको टोलमा सडक लैजान नपाएपछि उनले कार्यकर्तालाई खानेपानीको पाइप काट्न लगाएको स्थानीयले बताएका छन् ।
श्रेष्ठको टोलमा सडकबाटो यसअघि नै पुगिसकेको छ । नेकपा एमाले गाउँ कमिटी अध्यक्ष चरित्रकुमार श्रेष्ठको जग्गाबाट सडक लैजानु पर्ने भन्दै एमाओवादी कार्यकर्ताले पाइपलाई काटेका थिए । आइतबार सडक सम्बन्धी विवाद भएपछि खानेपानीको पाइपलाई काटिएको हो । टेकानपुर खानेपानी आयोजनाको जेठलबाट ल्याइएको पाइपलाईन काटिएको हो । खानेपानीको लाइन काटिएपछि टेकानपुरको सिंगै गाउँमा पानीको अभाव भएको छ । आयोजनाको पानीको सुविधा लिँदै आएका तौथली–७ र ९ मा समेत खानेपानीको हाहाकार भएको स्थानीय भक्तध्वज कार्कीले बताए । तौथली र टेकानपुरवासीले १३ वर्षदेखि उक्त आयोजनाको खानेपानी प्रयोग गर्दै आएका थिए । आयोजनाको पाइपलाई काटिएपछि दुई वडाका करिब १५ सय घरधुरीका ३५ सय उपभोक्ता खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । खानेपानीको हाहाकार भएपछि स्थानीय माओवादीप्रति आक्रोशित भएका छन् । गाउँमा खानेपानीको अभाव भएपछि मंगलबार विद्यालय नै बन्द गर्नुपरेको स्थानीय श्रेष्ठले जानकारी दिए । पिउन र खान बनाउनका लागि परम्परागत ढुंगे धारोमा घन्टौँ लाइन लागेर बस्नुपरेको स्थानीयले बताए । चर्पी जान गाईवस्तुलाई दिनसमेत पानी नभएपछि गाउँले र जनावर बिरामी पर्न थालेका छन् । पानीको अभावमा दैनिक जीवनयापन गर्नसमेत निकै कठिन भएको भगवती बोहराले जानकारी दिइन् ।
एमाओवादीले भने चरित्रकुमारको खेतबाट सभासद्् श्रेष्ठको घरसम्म सडक लैजान नपाएसम्म पाइप मर्मत गर्नसमेत नदिने बताएको बुझिएको छ । मर्मत गरे पनि तत्काल पाइपलाइन काटिदिने चेतावनी स्थानीय एमाओवादी कार्यकर्ताले दिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया