बुद्ध, गौतमी र मृत्युबोध

Sangita-Dahal-1सरल, सोझो र शाब्दिक अर्थमा राजकुमार–कुमारी भन्नासाथ राजाका छोरा–छोरीलाई बुझाउँछ । तर, प्रत्यक्ष रूपमा नबुझाए पनि परोक्ष रूपमा जो सत्तासीन हुन् वा छन् वा त्यसको निकट छन्, उनीहरूका छोरा–छोरी पनि एक किसिमका राजकुमार–कुमारी नै हुन्छन् । सत्ताको ओत उनीहरूले पनि राम्ररी पाएका हुन्छन् । संसारमा जे–जति मानिस छन्, उनीहरूको अनुहार स्वभाव, व्यवहार, तौरतरिका र चिन्तन एक अर्कासँग मिल्दैन । भिन्न हुन्छ । त्यस्तै राजकुमार–कुमारी एकै स्वभावका हुँदैनन् । फरक हुन्छन् । पूर्वयुवराज पारस शाह अचेत अवस्थामा थाइल्यान्डको बैंककको एक अस्पतालमा उपचारार्थ रहेको बेलामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालले जे–जस्तो अभिव्यक्ति दिए, त्यो निक्कै आलोच्य भएको थियो । प्रचण्डजस्तो जल्दोबल्दो नेता मात्र नभएर सत्ता बनाउने र भत्काउन सक्ने सशक्त पात्र पनि हुन् । त्यसैले प्रकाश राजकुमार नै हुन् । एउटा राजकुमार हस्पिटलको शय्यामा जीवन र मृत्युको दोसाँधमा रहेका अवस्थामा अर्को राजकुमारको अभिव्यक्ति जे– जस्तो रूपमा आयो त्यो मानिसमा रहने आ–आफ्नो स्वभाव, सोच र चिन्तनको भिन्नताले नै हो । कोही अत्यन्त संवेदनशील हुन्छन् कसैमा फलामे कठोरता नै हुन्छ ।
२५५७ औँ बुद्ध जयन्तीका सन्दर्भमा उक्त प्रसंग उल्लेखनीय लाग्यो, एउटा राजकुमारको संवेदनशील हृदयले उनलाई बुद्ध बनायो, लुम्बिनीको साल वनमा कपिलवस्तुका शाक्सवंशीय राजा शुद्धोधनका छोराको रूपमा राजकुमार सिदार्थको जन्म भएको थियो । उनको जन्म पूर्व नै उनकी आमा मायादेवीले देखेको सपनाको फलादेश बताउन राज ज्योतिष आएका थिए, ज्योतिषले राजन छिट्टै नै यस्तो विभूतिको अवतरण हुनेछ, जसले समस्त संसार आलोकित पार्नेछ । राजकुमारले रोगी, वृद्ध, मृत र सन्यासीलाई नदेखेमा विश्व विश्रृत सम्राट हुने छन् । त्यस्तो दृश्य देखेको खण्डमा भने विश्व विख्यात सम्राट नै बन्नेछन् । तर, त्यो सांसारिक विश्वको होइन आध्यात्मिक संसारका हुनेछन् भनेका थिए । भविष्यवाणीअनुसार नै राजकुमारको जन्म भयो । जन्मने साथ उनी उभिए र सात पाइला हिँडे । चारै दिशाको अवलोकनसमेत गरे भन्ने भनाइ पनि छ ।
ज्योतिषीले भनेका दृष्य राजकुमारले नदेखून् भनेर सक्दो प्रयास भयो । कोइलीवंशको राजकुलमा जन्मेकी अत्यन्त सुन्दरी यशोधरासँग विवाह भयो । छोरा राहुलको जन्मसमेत भयो । जुन आशंकित भय थियो । त्यो अन्तत: सत्य भयो । सिद्धार्थले रोगी, वृद्ध, लाश र सन्यासी नदेखी छोडेनन् । देखे । त्यो दृष्यले उनलाई गम्भीर र चिन्तनशील बनायो । यशोधराको आकर्षण, छोराको मोह, दरबारको सुख, ऐश्वर्य र आरामले उनलाई रोक्न सकेन । आखिर कत्थक नामको घोडामा सवार राजकुमार सिद्धार्थले सारथि छन्दक स्नेहशील बाबु, नाबालक छोरा र अनुरक्त परिवार, राजदरबारको सानसौकत सबैलाई छाडेर निस्कन्छन् । जन्म–मृत्युमाथि विजय प्राप्त नगरीकन कपिलवस्तुमा खुट्टा नटेक्ने प्रण गर्छन् । ३५ वर्षको उमेरमा भारतको गयाको निरञ्जना नदीको छेउमा पीपलको बोटमुनि ज्ञान प्राप्त गर्छन् । मानवीय दु:ख निवारणका लागि चार आर्य सत्य जस अन्तर्गत संसार दु:खमय छ, दु:खको कारण छ, दु:खको निवारण हुन सक्छ, निवारणका उपाय छन्, ती अष्टांगिक मार्ग हुन् भन्ने तत्त्वबोध विश्वलाई गराउँछन् ।
एउटा मृत्युको दृष्यले सुख–सयलमा पालिएको र लुटपुटिएको राजकुमारलाई बुद्ध बनायो । करुणा र त्यागको द्योतक बनायो । त्यस्तै महाभारतका धर्मनिष्ट पात्रका रूपमा चिनिएका अर्का राजकुमार युधिष्ठिर र यक्षको सम्वादमा ‘संसारमा सबैभन्दा आश्चर्य के छ’ भनी यक्षले सोधेको प्रश्नमा युधिष्ठिरले ‘दिनहुँ मान्छे मरिरहेको देखेर पनि आफू मर्छु भन्ने नठान्ने मानिसको स्वभाव नै सबैभन्दा संसारको आश्चर्य’ भनी जवाफ दिएका थिए । त्यस्तै कठोपनिषद्का पात्र नचिकेताले (उद्वालक र गौतमीका छोरा) आफ्ना बाबुले थारो र बूढी गाई दानगर्न लागेको देखेर बाबुलाई सोधेका थिए ‘मलाई कसलाई दान गर्नु हुन्छ त’ भनेर अर्काेसित बाबुले यमराजलाई दान गर्छु भने । सौम्य नचिकेता यमराज कहाँ जान्छन् । संवाद हुन्छ । जीवन, मृत्यु, स्वर्ग, नर्क, प्राण, जीव र भोगसम्बन्धमा गम्भीर कुराकानी हुन्छ । जन्मसँग मृत्यु हुन्छ । मृत्युलाई पनि माया गर्नुपर्छ । मृत्युदेखि डराउने सधँै मृत्युको सिकार भइराख्छ । मृत्युलाई सहज रूपले लिनेहरू नै बाँचिराख्छन् भन्ने यमराजको कुराले नचिकेताले आफ्ना प्रश्नको समाधान भएपछि मृत्यु विजय भएर फर्कन्छन् । यसै सिलसिलामा यमराजले ज्ञान प्राप्तिका लागि मानिसको उमेरभन्दा पनि उसमा ज्ञान, चेत र आत्मबोध हुनुपर्ने कुरा पनि बताएका थिए ।
बुद्धकै समयमा एकजना कृपा गौतमी नामकी अत्यन्त सुन्दरी थिइन् । उनी अत्यन्त गरिब कुलमा जन्मेकी थिइन् । तर, रूपका कारण धनवान् घरमा उनको विवाह हुन्छ । आर्थिक असमानताका कारण उनी हेयको पात्र बन्छिन् । उनले छोरा जन्माउँछिन्, छोराका कारण घरमा केही राहत पाएकी थिइन । एकदिन छाराको मृत्यु हुन्छ । आहत उनको भविष्य अँध्यारो हुन्छ । छोरालाई जीवनदान दिनका लागि बुद्धकहाँ पुग्छिन् । बुद्धसँग छोरालाई बचाइदिन आग्रह गर्छिन् । बुद्धले उनको हतास मानसिकता देखी ‘तिमीले कोही नमरेको घरको तोरीको गेडा लिएर आयौ भने छोरो बचाइ दिन्छु’ भन्छन् । गौतमीले त्यसलाई अत्यन्त सरल र सहज ठान्छिन् । तर, काँही पनि मानिस नमरेको घर फेला पार्दिनन् । मृत छोरा लिएर साह्रा गाउँ घुम्दा पनि मानिस नमरेको घरको तोरिको गेडा फेला पार्न सकिनन् । दिनभर घुमेर थकित भइन । अन्तत: उनलाई मृत्युको शाश्वत सत्यको बोध भयो । बुद्धको शरणमा परिन्, दीक्षा लिइन् । मृत्युको सत्यबोध गराउने भगवान् बुद्धको कला, गौतमीको नियती र युधिष्ठिरले व्यक्त गरेको संसारको आश्चर्य, २५५७ बौद्ध पूर्णिमाको पुनित अवसरमा एकैसाथ स्मरण हुन गयो । बुद्धजस्तो अद्वितीय पुरुषलाई जन्म दिने अहोभाग्य प्राप्त नेपालले शान्तिको अनुभूति कहिले गर्न पाउँछ भन्ने निरुत्तर प्रश्न पनि मनमा उब्जिरह्यो ।

प्रतिक्रिया