अर्थहीन यात्रा

chandraजब पुगिन्न भने–
रहन्छ र हिँड्नुको अर्थ ?
त्यै पनि रेलको डिब्बाजस्तो
निरन्तर …
किन हिँडिरहेछन् मानिस ?
छोडेर– टाकटुक गिदी
अस्थायी निवासको कुनै रोगी प्रस्तरमा ।

पिएर मृत्यु प्रत्येकक्षण
जूनको क्लान्त आभाजस्तो
लडी झर्नुछ यत्नहरूको डिलबाट
र जबर्जस्ती उठेर
भीरको भन्दा त्रासद् पीरका अखटाहरूमा
लड्खडाउनु छ अनवरत …
पुग्नु कहिले सुस्ताउनलाई
सपनाको क्षितिजमा ?

आकाश छुने ध्येयले उडेको
मैना चराजस्तो
यसरी हतार–हतारमा
कता जाँदै छन् यी दुब्ला आकृतिहरू ?
अल्झाएर सर्लक्कै हृदय
दैलोको शिरमा ठोकेको पुरानो किलाजस्तो
आफन्ती रहरको चोकेमा !

बेरेर …
सर्पको फणाजस्तो प्रश्नचिन्हको चिसो मफलर
घाइते शताब्दीको यो किनारै–किनार
हुत्तिँदै …
अहो !
म आफँै पनि हिँडिरहेछु
तर कता …?

प्रतिक्रिया