पुलिससामु मुनाल निरीह

footballकाठमाडौं, ११ जेठ । साविक विजेता नेपाल पुलिसले राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । समूहको आफ्नो पहिलो खेलमा शुक्रबार मोफसलको मुनाल क्लबविरुद्ध खेलभर हावी भएको पुलिसले जितको नतिजा ३–० ले निकाल्यो । पुलिसको जितमा कप्तान जुमानु राई, डिफेन्डर रविन श्रेष्ठ तथा वैकल्पिक खेलाडी भरत शाहले गोल गरे ।
आधा दर्जनभन्दा बढी अवसरमा चुकेपछि पुलिसले ६४आँै मिनेटमा पहिलो अग्रता लिएको थियो । पर्वत पाण्डेले गरेको क्रसमा जुमानुले हेडमार्फत गोलको खडेरी चिरेका थिए । दीपेन श्रेष्ठको स्थानमा ७६औँ मिनेटमा मैदान छिरेका स्ट्राइकर भरतले त्यसको नौ मिनेटपछि नै गोल थपे । इन्जुरी समयमा रविनले गोल गरे ।
दशरथ रंगशालामा निकै कमजोर देखिएको झापाको मुनालविरुद्ध पुलिसले खेलको चाँैथो मिनेटदेखि नै गोलको धावा बोलेको थियो । यद्यपि, गोलकिपर मिन बस्नेतले केही राम्रा अवसरमा विपक्षीलाई निराश बनाउँदा मध्याह्नअघि पुलिस गोलरहित रह्यो ।
पुलिसले पाएको पहिलो राम्रो अवसरमा पर्वतले डीबक्स बाहिरबाट गरेको सशक्त प्रहार साइड बारमा लागेर फर्किएको थियो । त्यसको एक मिनेट पनि बित्न नपाउँदै मुनालका गोलकिपर मिनले राम्रो प्रहारको सुन्दर बचाउ गरे । पुलिस सुरुको १० मिनेटमै तीन अवसरमा विफल भयो । २१आँै मिनेटमा मिनले वन भर्सेस वनमा पुलिसलाई निराश बनाए । त्यसपछि पनि मिन लगातार पुलिसका फर्वाडलाई स्तब्ध पार्न सफल भए ।
५०औँ मिनेटमा योगेश श्रेष्ठको स्थानमा मैदान छिरेका गणेश खड्काले राम्रो प्रदर्शन गरे पनि केही गोलका अवसर खेर फाले । यद्यपि, उनको प्रवेशसँगै पुलिसको खेल थप मिलेको थियो । गत सिजन हिमालन शेर्पामा रहेका गणेशले राम्रो प्रदर्शन गरेपछि यसपटक उनलाई पुलिसले आबद्ध गरेको हो । दोस्रो हाफमा अपेक्षित प्रदर्शन गरेर पुलिसले आसन्न खेलका लागि मनोबल बलियो बनाएको छ ।
मोफसलका क्लबलाई सहभागिता गराउन अखिल नेपाल फुटबल संघले यस प्रतियोगितामा ‘ए’ डिभिजन क्लबको मात्र सहभागितालाई यसपटक तोडे पनि मुनालले त्यसलाई न्याय गर्न सकेन । मुनालले खेलभर एउटा पनि राम्रो मुभ बनाउन सकेन । गत सिजन जावलाखेल क्लबसँग आबद्ध गोलकिपर मिन मात्र मुनालका तर्फबाट तारिफयोग्य प्रदर्शन गर्न सफल भए । जितसँगै पुलिस तीन अंक जोड्दै समूहमा दोस्रो स्थानमा रहेको छ । यसअघि सोही समूहअन्तर्गत बिहीबार सरस्वती क्लबलाई ६–१ ले हराएको मच्छिन्द्र गोल अन्तरमा पुलिसभन्दा अगाडि रहँदै शीर्षस्थानमा छ ।

प्रतिक्रिया