नेपाललाई पहिलो स्थान

काठमाडौं, ८ जेठ । नेपालको रसियन कल्चर सेन्टर चेस टोलीले एसियन अनलाइन चेस प्रतियोगिताको उपाधि जितेको छ । दक्षिण एसियाका लागि रुसी काउन्सिलर निकोलाइ ए लिस्टोपाडोभले उद्घाटन गरेको प्रतियोगितामा पाँच टोली सहभागी थिए । ३० मिनेटको र्‍यापिड स्पर्धामा नेपालले १० अंक जोड्यो भने कोलकाताले ८.५, चेन्नाईले ७.५ र बंगलादेशले ७ अंक जोडे । दिल्लीले ६.५, पाकिस्तानले ४.५, श्रीलंकाले चार अंक जोडे ।
नेपालको टोलीका कृष्ण थापा, मनीष हमाल र केशव श्रेष्ठले सहभागिता जनाएका थिए । चार चरणमा नेपालका कृष्ण थापाले चार वटै खेलमा जित हात पारेका थिए । उनले चेन्नाईका ग्रान्डमास्टर आर लक्ष्मणलाई पनि पराजित गरेका थिए । एक नम्बर बोर्डमा गरेको यो प्रदर्शन उत्कृष्ट रहेकोमा सन्तोष व्यक्त गरेका छन् । आर लक्ष्मणसँगको खेल जित हात पार्ने थापा सिरियस खेलमा पनि ग्रान्डमास्टरसँग अंक जोड्ने पहिलो नेपाली हुन् । नेपालका पूर्व राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठले पनि महत्त्वपूर्ण सफलता पाएको बताए । नेपाली रसियन कल्चर सेन्टरले पनि यो परिणामलाई ऐतिहासिक र नेपाली चेसका लागिसमेत महत्त्वपूर्ण भएको जनाएको छ । यी तीनै खेलाडी विगत एक वर्षदेखि रसियन कल्चर सेन्टरसँग आबद्ध रहेका छन् ।

प्रतिक्रिया