कर्नेलदेखि पूर्वआइजिपीको ससुरालीसम्म “जुवाघर”

Juwadeकाठमाडौं, ७ जेठ । कानुनी रूपमा क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर, काठमाडौंमा केही व्यक्तिले शक्तिको आडमा घरमै ‘मिनी क्यासिनो’ चलाएका छन् । पद र राज्यशक्तिको आडमा चलेका त्यस्ता जुवाघरका बारेमा थाहा पाएर पनि प्रहरी मौन बसेको छ ।
नेपाली सेनाका बहालवाला कर्नेलदेखि सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकको ससुराली घरसम्ममा ‘मिनी क्यासिनो’ चलाइएका छन् । चर्चित डन चक्रे मिलनले त्यहाँका नियमित जुवाडेहरूलाई चर्को ब्याजदरमा ऋण उपलब्ध गराउने गर्छन् । प्रहरीलाई यी सबै सूचना आएको छ तर छापा मार्ने र जुवाडे पक्राउ गर्ने आँट गर्दैन ।
रोतोपुलको सडक छेउमै देखिने ‘निना होम’ लेखिएको भव्य घर सेनाका बहालवाला कर्नेल अनुपजंग थापाको हो । जहाँ अहिले दैनिक जुवाको खाल जम्ने गर्छ । स्रोतका अनुसार कर्णेल थापाकी श्रीमती निनाले घरमै ‘मिनी क्यासिनो’ चलाउँछिन । कर्णेल थापा भने अहिले मिसनमा मुलुक बाहिर छन् । एकै ठाउँमा कर्नेल थापाका दुई वटा घर छन् । दुवै घरमा जुवा खेलाइन्छ । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यकी  बुहारी सोनम लामा शाक्य त्यहाँकी नियमित ग्राहक भएको स्रोतको दाबी छ ।
कर्नेल थापाको घरबाट केही मिटर दूरीमा मात्रै महानगरीय प्रहरी प्रभाग गौशाला छ । तर, सबै कुरा थाहा पाएर पनि प्रहरीले त्यहाँ ‘आँखा लगाउने’ साहससमेत गरेको छैन् । ‘यहाँको जुवा अड्डाको बारेमा प्रहरीलाई पनि थाहा छ । तर, कर्णेलको घर भएको थाहा पाएपछि प्रहरी तर्सिहाल्छ’, स्रोतले भन्यो ।
पुरानो बानेश्वरको कात्यायनी मन्दिरस्थित रिलायन्स स्कुलको होस्टेल छेउमै जोडिएको घरमा बर्सौंदेखि ‘मिनी क्यासिनो’ सञ्चालित छ । औपचारिक रूपमा घरकी मालिक उमा थपलिया हुन् । उनी आपैँm जुवा खेलाउंछिन् । तर, उनको आडभरोसा सबै सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक वासुदेव वली हुन् । थपलिया सशस्त्रका वलीकी सासू हुन् ।
स्रोतका अनुसार उनको जुवाघरमा सशस्त्र प्रहरीका डिआइजी सिंहबहादुर श्रेष्ठ र उनकी श्रीमती सरिता गुरुङ, अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अधिकृत तारा रिजाललगायतका व्यक्ति नियमित जसो जाने गर्छन् । प्रति पोइन्ट पाँच सयदेखि एक हजार रुपियाँसम्म म्यारिज त्यहाँ चल्ने गर्छ । साढे दुई तले थपलियाको घरमा स्न्याक्सदेखि रक्सीसम्मको व्यवस्था हुन्छ ।
‘ठूलाबडाले सञ्चालन गरेकाले सो जुवा अड्डामा अहिलेसम्म प्रहरीको आँखा परेको छैन । सुरक्षित भएकैले होला जुवाखालमा प्रत्येक दिन ठूलाबडाको घुइँचो नै लाग्छ’, स्रोतले भन्यो । थपलियाको घरमा ढुकुटीको समेत खाल जम्ने गरेको स्रोतको दाबी छ ।
चुुनदेवीको कुण्डलिनी पछाडि रहेको रामबहादुर तामाङको घर ‘मिनी क्यासिनो’को अर्को अखडा हो । कांग्रेसका नेता रामहरि खतिवडाको संरक्षणमा तामाङले बर्सांैदेखि आफ्नै घरमा मिनी जुवा खेलाउँदै आएको स्रोतले जनाएको छ । प्रहरी र ‘डन’सँग साँठगाँठ रहेकाले उनको घरमा अहिलेसम्म प्रहरीको आँखा परेको छैन ।
स्रोतका अनुसार तामाङले चलाएको ‘मिनी क्यासिनो’मा  चर्चित डन चक्रे मिलनले आफ्ना सहयोगीमार्फत चर्को ब्याजदरमा ऋणमा पैसा लगाउँछन् । जुवा खालमा प्रतिदिन एक लाख रुपियाँको दश हजार ब्याज दिने गरेको स्रोतको दाबी छ । हप्ता उठाउन चक्रेका भाइ तेजेन्द्र गुरुङ आपैँm गाडी लिएर जाने गरेको स्रोतको दाबी छ । प्रहरीसँगसमेत उनको राम्रो सम्बन्ध छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका घुमुवा असई देवदास श्रेष्ठमार्फत तेजेन्द्रले प्रहरीका हाकिमसँग ‘डिल’ गर्ने गरेको स्रोतको दाबी छ । प्रहरीका हाकिम, नेता र गुण्डाको त्रिपक्षीय संरक्षण पाएका उनले मान्छे अनुसार आफ्नो परिचय बदल्ने गर्छन् । उनलाई केही मान्छेले मात्रै राम तामाङका नामले चिन्छन् । केहीले राम रोकाय, लामा, बम्जन आदिका नामले चिन्ने गरेको स्रोतले जनाएको छ ।
जुवाडेहरूको ‘मुड’ अनुसार तामाङको घरमा हुने जुवा खालमा पाँच रुपियाँदेखि हजार रुपियाँ पोइन्टसम्ममा म्यारिज खेल्ने गरिन्छ । तासको पत्तिबाट खेलिने अनौठो खेल ‘बुकी’ पनि उनको घरमा हुने गरेको छ । स्रोतका अनुसार यस खेलमा एकै पटक लाखौँ रुपियाँको बाजी हुन्छ । दैनिक रूपमा जुवा अड्डा जम्न थालेपछि केही दिन अघि तामाङका छिमेकीले प्रहरीमा समेत उजुरी गरेका थिए । तर, प्रहरीले छापा हान्नु त के कुरा समेत सुनेन । ‘हामीले प्रहरीलाई कम्प्लेन गर्‍यौँ तर, प्रहरीले कुरै सुनेन । ठूला मान्छेको संरक्षण भएपछि कसको के लाग्दो रहेछ र ?’, तामाङका एक छिमेकीले भने ।

प्रतिक्रिया