निर्माण योजना सम्पन्न गरिदै

भद्रपुर : झापाको मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्ष ०६९/७० मा कुल ६६ लाख ६७ हजार आठ सय २१ रुपियाँको लगानीमा विभिन्न योजना निर्माण गरिरहेको छ ।
६ हजार तीन सय ८३ जनसंख्या लाभान्वित हुने ती विभिन्न निर्माण योजनाका लागि नगरपालिकाबाट ४६ लाख ६७ हजार चार सय ७३ अनुदान र उपभोक्ताबाट २० लाख तीन सय ४८ खर्च बेहोरेको कार्यकारी अधिकृत भीमप्रसाद पौडेलले बताए । ती योजनामध्ये मेचीनगर नगरपालिका–१३ मा यामनाथ दाहालको घर हुँदै नयाँबस्ती धिमाल गाउँ जाने बाटो एक हजार चार सय ९५ मिटरको सडक विस्तार गर्ने काम सम्पन्न भएको छ । सोही वडामा कञ्चनजंघा निमाविको कम्पाउन्ड बाल तथा ड्रेन निर्माणकार्य सुरु भएको छ ।
त्यस्तै, मेचीनगर नगरपालिका–६ मा ९२ मिटरको पुरानो गोसलाइन सतह ढलको ८५ प्रतिशत निर्माण सम्पन्न भएको, वडा नम्बर–५ मा केशवराज सापकोटाको घरअगाडिदेखि खोलासम्म जाने एक सय ४५ मिटरको क्रसिङ बाटो र ड्रेन तथा वडा नम्बर–७ मा तीनपैनीदेखि झापा मार्गसम्म नौ सय ९५ मिटरको सडक स्तरवृद्धि तथा ग्राबेल गर्ने कार्य क्रमश: ६० र ५५ प्रतिशत पूरा गरेको योजना प्राविधिक शाखाले जनाएको छ ।सोही नगरपालिका–१२ मा आयाबारी अर्जुनधारा राइस मिल उत्तर–दक्षिणमा एक सय २० मिटर पक्की र दुई सय ५० मिटर कच्ची सतह ढल र ग्राबेल कार्य ४० प्रतिशत तथा वडा नम्बर–३ मा सहिद शुक्रराज मार्गमा ५७ मिटरको सतह ढल, वडा–१० मा विद्युत् विस्तार हुन बाँकी क्षेत्रमा १० वटा पोल र दुई हजार मिटर तार विस्तार गर्ने कार्य ३५ प्रतिशत पूरा भएको छ ।
त्यसैगरी, मेचीनगर–६ मा धुलाबारी माध्यमिक विद्यालयभन्दा पूर्व झापा टोलमा एउटा कल्भर्ट निर्माण, वडा नम्बर–९ कञ्चनजंघा मार्गमा ह्युमपाइप २२ वटा र पाँच सय ४ मिटर ग्राबेल, वडा नम्बर–२ ढुकुरे खोलामा एउटा कल्भर्ट निर्माण ३५ प्रतिशत पूरा भएको छ भने वडा नम्बर–९ मा विकास फुयालको घरअगाडि ट्रान्सफर्ममर एक र विद्युत् विस्तारका लागि एउटा  पोल दिने कार्य ३० प्रतिशत भएको योजना प्राविधिक शाखाले उल्लेख गरेको छ ।
ती योजनामा सबैभन्दा बढी वडा नम्बर–५ मा केशवराज सापकोटाको घरअगाडिदेखि खोलासम्म जाने बाटो नगरपालिकाबाट ६ लाख ९९ हजार सात सय ४८ रुपियाँ र उपभोक्ताबाट दुई लाख ९९ हजार आठ सय ९२ रुपियाँ गरी कुल नौ लाख ९९ हजार ६ सय ४० रुपियाँको लगानी छ भने सबैभन्दा कम वडा नम्बर–१० मा विद्युत् विस्तार हुन बाँकी क्षेत्रमा नगरपालिकाबाट एक लाख २४ हजार तीन सय ४० र उपभोक्ताबाट ५३ हजार दुई सय ८९ गरी कल एक लाख ७७ हजार ६ सय २९ रुपियाँ लगानी रहेको छ ।अन्य योजना निर्माणकार्यमा नगरपालिकाको अनुदान र उपभोक्ताको सहभागिता गरी कुल करिब पाँच लाखको लगानीमा बजेट तर्जुमा गरी निर्माणकार्य भइरहेको छ ।

प्रतिक्रिया