एट्लेटिकोलाई किंग्स कप

atletico-madridम्याड्रिड, ५ जेठ । निकै तनावपूर्ण खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध १४ वर्षपछि जित हात पार्दै एट्लेटिको म्याड्रिडले स्पेनको सबैभन्दा पुरानो घरलु प्रतियोगिता स्पेनिस कोपा डेल रे(किंग्स कप)को उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा एट्लेटिकोले रियललाई २–१ ले पराजित गर्‍यो । विजयी टोलीका लागि मिरान्डाले विजयी गोल गरे । अतिरिक्त समयमा मिरान्डाले कोकको पासमा निर्णायक गोल गरेका हुन् । अतिरिक्त समयको खेल सकिनु ६ मिनेटअघि क्रिस्टियानो रोनाल्डोलाई रातो कार्डपछि गुमाएको रियलले खेलमा सुरुवाती गोल गरे पनि अग्रता कायम राख्न सकेन । मेसुट ओजिलको पासमा रोनाल्डोले १४आँै मिनेटमा रियललाई अगाडि लगाएका थिए । तर, ३५आँै मिनेटमा डिएगो कोस्टामार्फत खेलमा गोल गर्दै एट्लेटिको पहिलो हाफमै खेल बराबरीमा ल्याउन सफल भएको थियो । यस सिजन सानदारलयमा रहेका राडामेल फाल्काओको पासमा कोस्टाले गोल गरेका थिए ।
७५आँै मिनेटमा रेफ्रीले रियलका प्रशिक्षक जोसे माउरिन्होलाई ड्रेसिङ रूमबाट बाहिर पठाएका थिए । यद्यपि, माउरिन्होलाई त्यसरीबाहिर पठाइनु पर्ने कारण भने प्रस्ट थिएन । एट्लेटिकोको जितमा उसका गोलकिपर थिबल्ट कोर्तोइसको प्रदर्शन पनि महत्त्वपूर्ण रह्यो । कोर्तोइसले बारम्बार रियलका शानदार आक्रमणलाई विफल बनाएका थिए । विपक्षी खेलाडी गाबीको अनुहारमा खुट्टाले प्रहार गरेको भन्दै रेफ्रीले रोनाल्डोलाई सोझै रातो कार्ड देखाएका हुन् ।
एट्लेटिकोले समग्रमा १०आँैपटक यो प्रतियोगिता जितेको हो । उसले पछिल्लोपटक सन् १९९९ मा रियललाई पराजित गरेको थियो  । बार्सिलोना २६ पटक जित्दै सर्वाधिक विजेताको सूचीमा शीर्षस्थानमा रहेको छ ।
१५ वटा कार्ड
यस खेलमा रेफ्रीले अनुशासन कायम गर्न कुल १३ वटा कार्ड देखाउनु परेको थियो । निकै फल भएको यस खेलमा रोनाल्डोले रातो कार्ड पाएभने एट्लेटिकोका गाबीले अतिरिक्त समयको अन्तिम मिनेटमा दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिनु पर्‍यो । दोस्रो हाफमा रोनाल्डोसहित रियलका पाँच खेलाडीले पहेंलो कार्ड पाएका थिए भने अतिरिक्त समयमा एट्लेटिकोका पाँच खेलाडीले कार्ड बेहोरे । खेलमा रियलका आठ खेलाडीले कार्ड सामना गरे ।
माउरिन्होको खराब इतिहास
रियल म्याड्रिडले यस सिजन स्पेनिस सुपर कपबाहेक अन्य कुनै पनि जित्न सकेन । यद्यपि, उसले जितेको एक मात्र प्रतियोगितालाई ‘मेजर टुर्नामेन्ट’ मानिँदैन । यसअर्थमा रियलका प्रशिक्षक माउरिन्हो दशक यता पहिलोपटक कुनै एक मेजर प्रतियोगिता नजिती सिजन टुंग्याउन बाध्य बने । यी पोर्चुगिजले सन् २००२ मा एएफसी पोर्टोमा प्रशिक्षक भए यता हरेक सिजन आफूले सम्हालेका क्लबलाई कुनै एक मेजर प्रतियोगिताको उपाधि दिलाएकै हुन्थे । खराब सिजनसँगै उनले रियल छाड्ने सम्भावना थप बलियो भएको छ । उनी इंग्लिस क्लब चेल्सीमा फर्कने चर्चा छ । यसअघि पनि उनले चेल्सीका लागि काम गरिसकेका छन् । प्रशिक्षण करियरमा माउरिन्होले इन्टर मिलान र एफसी पोर्टोलाई युरोपियन च्याम्पियन बनाए भने यी दुईसहित चेल्सी र रियल म्याड्रिडलाई घरेलु लिग उपाधि दिलाएका छन् । यस सिजन रियल घरेलु लिगमा दोस्रो स्थानमा रह्यो भने युरोपियन च्याम्पियन्स लिगमा सेमिफाइनलभन्दा अगाडि बढ्न सकेन । युरोपियन च्याम्पियन बन्नका लागि इतिहास हेरेर रियलले माउरिन्होलाई सन् २०१० मा क्लबमा आबद्ध गराएको थियो ।

प्रतिक्रिया