परियोजनाले खाद्यसंकट क्षेत्रमा राहत

दैलेख, ५ जेठ । बर्सेनि खाद्यसंकटको चपेटामा पर्ने यहाँका नौ गाविसमा एमडिआई नेपाल संस्थाले विश्व खाद्य कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमा राहतको महसुस गराएको छ । खाद्यान्न क्षेत्रमा काम गर्दै आइरहेको यस संस्थाले बर्सेनि असिनाले बाली नष्ट हुने गाविसमा गत वर्षदेखि कृषि क्षेत्रमा काम गर्दै आएको हो । मौसमअनुसार खेतीबाली नहुने भएपछि उन्नत जातका फलफूल, माछापालन केरा खेतीलगायत क्षेत्रमा कृषकलाई उत्प्रेरित गराएको छ । यहाँका विकट गाविस कालिका, द्वारी, बालुवाटार, नौमुले, सल्लेरी, रुम, कट्टी, जगनाथ, रानीवन र काँशीकाँधमा कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरेको छ ।
दैलेखको उत्तरी भेगमा खेतीयोग्य जमिन छैन । भोगोलिक विकटताले पाखा–पखेरामा स–साना आली बनाएर बसोवास भएको यस क्षेत्रमा हरेक वर्ष खाद्यसंकट पर्दै आइरहेको छ । लेकको नजिक पर्ने भएकाले पनि वर्षैपिछे लगाएको बालीमा असिनाले क्षति पुर्‍याउने गर्छ । यस भेगका किसानलाई तीन महिना पनि खान पुग्दैन । असिनाले कम क्षति पुर्‍याउने खोला किनारको जमिन सिँचाइ र खेतीको प्राविधिक ज्ञान नभएकै कारण त्यति उपयोगमा छैन । दैनिक मजदुरीको कामसमेत नपाउने यहाँका स्थानीयलाई बिहान–बेलुका हातमुख जोर्न धौ–धौ हुन्छ ।
गत वर्ष असारदेखि मनहरी विकास संस्थाले कामका लागि खाद्यान्न परियोजना सञ्चालन गरेपछि त्यस भेकका जनताले मजदुरीबापत खाद्यान्न र नगद लिँदै गुजारा चलाउँदै आएका छन् । परियोजनाले सामूहिक रूपमा समुदायकै लाभ हुने किसिमको काम गर्दै आइरहेको द्वारी–३ का बलबहादुर खत्रीले बताए । उनले भने, ‘काम गरेबापत चामल, दाल र नगद दिन्छ । यस्तो सुविधा दिने भएपछि हामी एकजुट भएर काम गरेका छौँ ।’
एक व्यक्तिले दिनको दुई किलो चामल, दुई सय पचास ग्राम दाल र ९० रुपियाँ नगद पाउँछन् । खाद्य सुरक्षाका लागि समुदायमै आम्दानीका स्रोत बढाउन यस परियोजना सञ्चालन भएको र कार्यक्रमबाट नौवटा गाविसका चार हजार पाँच सय ८३ घरधुरी लाभान्वित भएको जिल्ला कार्यक्रम संयोजक विनोद श्रेष्ठले बताए । एकको अवधिमा द्वारी–३ सिरैनी, कालिका–४ बांगी, सल्लेरी–७ डाँडाँगाउँ, रुम–७ चिउरा, कट्टी–४ टिमिल्सैना, काँशीकाँध–७ माझटोल, बालुवाटार–७ जुकेपानी, रानीवन–५ राँचुलाटोललगायत २७ वटा सिँचाइ आयोजना निर्माण तथा मर्मतकार्य सम्पन्न भइसकेका छन् । कुलोले करिब आठ सय रोपनी जग्गा सिञ्चित हुने संस्थाले जनाएको छ । त्यस्तै, बालुवाटा–६ को भुरुंगे र द्वारी–५ को चम्लाय खानेपानी आयोजनालगायत अन्य धारा कुवाका मर्मतकार्य पनि सम्पन्न भइसकेका छन् ।
कुपोषणबाट महिला र बालबालिकाको स्वास्थ्यमा समस्या नआओस् भनेर परियोजनाअन्तर्गत पोषण कार्यक्रम पनि सँगसँगै सञ्चालित छ । विकासका पूर्वाधारसँगै महिलाका लागि पोषणयुक्त खाने कुरामा फाइदा पुगोस् भन्ने उद्देश्यले तरकारी खेतीसम्बन्धी तालिम बिउविजन र सिँचाइ पोखरीलगायत माछामासु र अन्डाका लागि पोखरी निर्माण र कुखुरासमेत वितरण गरेको संयोजक श्रेष्ठले बताए । समुदायका घर–घरमा पोखरी निर्माण भएका छन् । शिक्षाबाट बालबालिका वञ्चित नहुन् भनेर परियोजनाले ५ वर्षमुनिका बालबालिका पढ्ने बालविकास केन्द्रमा लिटो, खाजाको पनि व्यवस्था गरेको छ । कामको आधा ज्याला दुई करोड ४७ लाख ४८ हजार दुई सय रुपियाँ कार्यक्षेत्रको पायक पर्ने स्थान नौमुलेको सिद्धार्थ बैंकबाट भुक्तानी दिइरहेको छ ।
अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले सबै निकाय र संघसंस्थाले यसरी नै अनुगमनलाई निरन्तरता दिने हो भने विकासको गुणस्तर राम्रो हुने र भ्रष्टाचार न्यूनीकरणमा समेत फाइदा पुग्ने बताए । अर्यालले भौतिक विकास निर्माणका कामलगायत सामाजिक काम गर्ने सरकारी, गैरसरकारी निकाय र संघसंस्थालाई जिविसको एकद्वार प्रणालीबाटै अनुगमनको मापदण्ड तयारी गरिने बताए ।

प्रतिक्रिया