क्रिकेट खेलाडी सम्मानित

काठमाडौं : मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री प्रतियोगिताको विजेता टोलीका खेलाडीलाई बिहीबार सम्मानित गरेको छ । कार्यक्रममा नेकपा एमालेका नेता एवं एकेडेमीका संरक्षक खड्गप्रसाद ओलीले प्रशंसा पत्र प्रदान गरे । कार्यक्रममा एमाले नेत्री विद्या भण्डारी, राष्टिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र एमाले खेलकुद विभाग इन्चार्ज कर्ण थापाको उपस्थिति थियो । कार्यक्रममा नेपाली टोलीका कप्तान पारस खड्काले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेता ओलीले क्रिकेट खेलाडीले दिलाएको सफलताबाट सबैले पाठ सिक्नुपर्ने बताए । बिहीबार नै नेपाली कांग्रेसले पनि क्रिकेट खेलाडीलाई सम्मान गर्‍यो । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस सभापति सुशील कोइरालाले विजेता टोलीलाई दुई लाख रुपियाँ प्रदान गरेका थिए ।
यसैगरी सरकारले उक्त विजेता टोलीका सदस्यलाई जनही साढे तीन लाख रुपियाँ प्रदान गर्ने भएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बर्मुडामा सम्पन्न प्रतियोगिता जितेर टोली स्वदेश फर्किएको दिन नै अध्यक्ष रेग्मीले विजेता टोलीका प्रत्येक सदस्यलाई साढे तीन लाख नगद राशिले सम्मान गर्ने घोषणा गरेका थिए । यसअघि, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले बुधबार मात्रै बर्मुडाको विजेता टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ नगद पुरस्कारले सम्मानित गरेको थियो । (सौस)

प्रतिक्रिया