माउरिन्होले उपाधिको खडेरी चिर्लान् त ?

mourinhoमिलान, २ जेठ । क्लब फुटबलमा होजे माउरिन्हो निकै प्रभावशाली प्रशिक्षकका रूपमा स्थापित भइसकेका छन् । उनले पछिल्लो एक दशकमा हरेक सिजन आफूले सम्हालेको क्लबलाई कुनै एक ‘मेजर ट्रफी’ दिलाएका छन् । तर, जारी सिजन भने उनका लागि विगतभन्दा फरक रहेको छ । तीन वर्षदेखि स्पेनिस क्लब रियल म्याड्रिड सम्हालिरहेका यी पोर्चुगाली प्रशिक्षक समाप्त हुँदै गरेको चालु सिजनमा अहिलेसम्म उपाधिविहीन छन् । रियल म्याड्रीडले यस सिजन उपाधिको आशा रहेको एक मात्र प्रतियोगिता किंग्स कपमा यसै साता फाइनलमा प्रतिस्पर्धा गर्दै छ । शुक्रबार एट्लेटिको म्याड्रिडविरुद्ध  हुने फाइनलमा रियल पराजित भए माउरिन्हो दशक यता पहिलोपटक कुनै पनि सिजन प्रमुख उपाधि विना बिताउने छन् । यस सिजन रियल युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरियो भने घरेलु लिगमा दोस्रो स्थानमा रहेको थियो ।
माउरिन्होले पूर्ण प्रशिक्षकका रूपमा सन् २००२/३ मा एफसी पोर्टोबाट करियर सुरु गरेका थिए । त्यस यता इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब चेल्सीमा समेत प्रशिक्षक बनेका माउरिन्होले यसबीचमा दुईवटा युरोपियन च्याम्पियन्स लिग उपाधि, एउटा युएफा कप, सातवटा घरेलु लिग र ६ वटा नेसनल कप जिताए । रियलको सिजन  कमजोर भएपछि माउरिन्हो यस सिजनपछि स्पेनबाट बिदा हुने मनस्थितिमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बारम्बार जनाइसकेका छन् । ४५ वर्षपछि पहिलोपटक इन्टर मिलानलाई युरोपियन च्याम्पियन्स लिग दिलाएपछि सन् २०१० मा माउरिन्हो स्पेनतर्फ बढेका थिए । सन् २०११ मा बार्सिलोनालाई फाइनलमा १–० ले हराएर किंग्स कप उपाधि जिताएका माउरिन्होले सन् २०१२ मा रियललाई घरेलु लिग च्याम्पियन बनाएका थिए । उनको प्रशिक्षणमा रियल लगातार तेस्रोपटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म प्रवेश गर्‍यो । गत सेप्टेम्बरमा रियलले बार्सिलोनालाई हराएर स्पेनिस सुपर कप जिते पनि यस प्रतियोगितालाई ‘मेजर’ मानिँदैन । त्यसैले माउरिन्होलाई सम्भवत: आफ्नो कार्यकालको सुखद बिदाइ गर्ने अवसरका रूपमा रहेको छ आसन्न किंग्स कप ।
पछिल्लो समय माउरिन्हो रियल र स्पेनभित्र निकै आलोचित बनेका थिए । क्लब कप्तान तथा गोलकिपर इकेर कासिलास र डिफेन्डर पेपेसँगको विवाद तथा इंग्लिस फुटबल मन पर्ने उनको अभिव्यक्तीले माउरिन्होलाई आलोचित बनाएको थियो ।
खासगरी अन्य प्रतियोगिता भन्दा युरोपियन च्याम्पियन्स लिग उपाधि जित्न रियलले माउरिन्होलाई क्लब भित्र्याएको थियो । हुन पनि माउरिन्होले त्यसअघि छोटो समयमा एफसी पोर्टो र इन्टर मिलानलाई उपाधि दिलाएका थिए भने उनको प्रशिक्षणमा हरेक क्लबले घरेलु लिग उपाधि जितेको थियो ।
यतिबेला माउरिन्होका लागि रियलको रक्षापंक्तीमा देखिएको चोटको प्रभाव चिन्ताको विषय बनेको छ । केही राम्रा खेलाडी चोटग्रस्त छन् । यद्यपि, एट्लेटिको म्याड्रिडविरुद्ध दशकभन्दा बढी समय यता रहँदै आएको बलियो प्रभाव भने रियलका लागि आशालाग्दो विषय बनेको छ । सन् १९९९ यता रियलले एट्लेटिको म्याड्रिडसँग हार व्यहोरेको छैन ।
यता एट्लेटिको भने इतिहास बिर्साउने प्रयासमा रहेको छ । १४ वर्षपछि पहिलोपटक रियललाई पाखा लगाउने प्रयासमा देखिएको एट्लेटिकोले यस सिजन घरेलु लिगमा तेस्रो स्थानमा रहेर तीन वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा स्थान बनाएको छ । पछिल्लो समय फाइनल भिडन्तमा एट्लेटिकोले बलियो प्रभाव देखाउँदै आएको छ । उसले सन् २०१० मा युरोपा लिग जित्यो भने सन् २०१२ मा युरोपियन सुपर कप ।

प्रतिक्रिया