ओलम्पियन रामप्रसादलाई सम्मान

boxing-oloymaianकाठमाडौं, १ जेठ । नेपाल बक्सिङ संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रथम ओलम्पियन बक्सिङ खेलाडी रामप्रसाद गुरुङलाई सम्मान गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले गुरुङलाई प्रशंसा–पत्र प्रदान गरे भने । संघका अध्यक्ष राजीव श्रेष्ठले दोसल्ला ओढाए । सन् १९४५ मा स्याङ्जाको दरुण गाविसमा जन्मेका गुरुङले सन् १९६४ मा जापानको टोकियोमा आयोजित ओलम्पिकमा नेपालको तर्फबाट प्रतियोगिता खेलेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रथम ओलम्पियन गुरुङले सन् १९५९ मा मलायाको लाहुरे जीवन सुरु गर्ने क्रममा पल्टनको डाइनिङहलमा राखेको ब्वाइज बक्सिङ खेलाडीहरूको नामावली भएको बोर्ड देखेर आकर्षित भएको बताए । ‘बोर्डमा ब्वाइज बक्सिङ खेलाडीहरूको नाम देखेपछि त्यसमा आफ्नो नाम लेखाउने इच्छा जाग्यो त्यसैको फलस्वरूप बक्सिङ खेल्ने चाहना बढ्यो’ विगत सम्भँmदै उनले भने । खेलकुदले नचिनेको राष्ट्रलाई विश्वमाझ चिनाउने भन्दै उनले ओलम्पियनलाई प्रति महिना एक हजार पाँच सय रुपियाँ भत्ता प्रदान गरिएकोमा सुरुमा निकै खुसी लागेको र दुई वर्ष त्यो रकम प्राप्त गरेको बताए । उनले आफूलाई पैसाको आवश्यकता नभएको तर त्यो रकमलाई खेलकुदमा नै लगाउने चाहना रहेकोमा दुई वर्ष पश्चात् त्यो भत्ता प्रदान गर्ने कार्य बन्द गरिएकोमा दु:ख व्यक्त गरे । गुरुङले रकममध्ये केही संघलाई प्रदान गर्ने र केही रकम आफ्नो गाउँमा खेलकुदको विकासमा लगाउने विचार रहेको कार्यक्रममा बताए ।
सम्मान कार्यक्रममा बोल्दै सदस्य–सचिव लामाले ओलम्पियनहरूले नेपाली खेलकुदलाई लगाएको गुनलाई शब्दमा व्यक्त गर्न नसकिने भन्दै बक्सिङ संघले खेलाडीलाई सम्मान गर्ने परम्पराको सुरुआत गरेकोमा संघलाई धन्यवाद दिए । उनले ओलम्पियन भत्ता बन्द गरेकोमा दु:खित भएको भन्दै सदस्य–सचिव भएको नाताले पूर्वसदस्य–सचिवले गरेको निर्णय प्रति क्षमा याचना मागे ।
संघका अध्यक्ष राजीव श्रेष्ठले गुमनाम भएको खेलाडीहरूलाई अगाडि ल्याउन सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै यसले खेलाडीहरूको हौसला वृद्धि गर्न सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया