चार खेल बाँकी छँदै बार्सिलोनालाई लिग उपाधि

म्याड्रिड, ३० वैशाख । निकटतम प्रतिद्वन्द्वी रियल म्याड्रिड आइतबार राति बराबरीमा रोकिएपछि बार्सिलोनाले चार खेल बाँकी छँदै जारी स्पेनिस लिगको उपाधि जितेको छ । बराबरीपछि अब दुई खेल मात्र खेल्न बाँकी रहेको रियलभन्दा सात अंकले अगाडि रहेपछि बार्सिलोना सहजै २२औँ पटक लिग उपाधि जित्न सफल भएको हो । ३६ खेलपछि रियलको ८१ अंक छ भने ३४ खेल खेलेको बार्सिलोना ८८ अंकसहित शीर्षस्थानमा रहेको छ ।
barsiolonaaबार्सिलोनाले ३४ खेलमा २८ जित, ४ बराबरी र दुई हारको नतिजा निकालेको थियो । साविक विजेतासमेत रहेको रियलले ३६ खेलमा २५ जित, छ बराबरी र पाँच हारको नतिजा निकाल्यो । बार्सिलोनाले पछिल्लोपटक सन् २०११ मा लिग जितेको थियो । सन् २००० यता बार्सिलोनाले ६ पटक लिगको उपाधि उचालिसकेको छ । उपाधि जितिसकेपछि बार्सिलोनाका उपाध्यक्ष जोसेफ मारिया बरटोमेउले खेलाडीको प्रदर्शनबाट आफू यो सिजनमा सन्तुष्ट भएको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो लक्ष्य यसपटक उपाधि जित्ने थियो ।’
रियलका प्रशिक्षक होजे माउरिन्होले उपाधि विजेता बार्सिलोनालाई बधाई दिएका छन् । ‘प्रथमत: म बार्सिलोनालाई बधाई दिन्छु । साथै, खेलाडी, समर्थक र सम्पूर्ण बार्सिलोनाका पदाधिकारीलाई बधाई दिन चाहन्छु,’ माउरिन्होको भनाइ छ ।
यस सिजन लिग उपाधिमा पुनरागमन गरे पनि युरोपियन च्याम्पियन्स लिगको उसले भोगेको नतिजा भने बिर्सनलायक रहेको थियो । लगातार दोस्रोपटक सेमिफाइनलमा रोकिने क्रममा बार्सिलोना जर्मनीको वायर्न म्युनिखविरुद्ध समग्रमा ७–० ले पराजित भएको थियो । फाइनल अल स्पेन हुने अनुमान भइरहँदा स्पेनकै अर्को टोली रियलले पनि जर्मनीकै बोरुसिया डर्टमन्डसँग सेमिफाइनल गुमाएको थियो ।
शनिबार राति सम्पन्न आफ्नो ३६औँ खेलमा जितको लक्ष्यसहित उत्रिएको रियल २३ औँ मिनेटमा पछि परेको थियो । क्रिस्टियन स्टुअनिले स्पानियोललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको रियल ५८औँ मिनेटमा गोन्जालो हिगुइनमार्फत खेल बराबरी गर्न सफल भएको थियो ।

प्रतिक्रिया