ताराद्वारा तीन राष्ट्रिय कीर्तिमान

Tara-Devi-Punकाठमाडौं, २७ वैशाख । नेपालकी तारादेवी पुनले थाइल्यान्डको श्रीसाकेत सहरमा भइरहेको इगेत किंग्स कप अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । नेपाल प्रहरीमा आबद्ध उनले ७५ केजी तौल समूहको स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ९० केजीसहित कुल १ सय ५६ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान राखेकी हुन् ।
यसअघि यस तौल समूहमा उनकै नाममा स्न्याचमा ६० केजी, क्लिन एन्ड जर्कमा ८० र कुलमा १ सय ४० केजीको राष्ट्रिय कीर्तिमान थियो । उनले यो कीर्तिमान लुभुमा आयोजित तेस्रो महिला खुला भारत्तोलन प्रतियोगितामा राखेकी थिइन् ।
प्रतियोगिताअन्तर्गत पुरुषको ७७ केजी तौल समूहमा नेपाली सेनाका साग स्वर्ण पदकधारी कमलबहादुर अधिकारीले चौथो स्थान हात पार्न सफल भएको टिम प्रशिक्षक सञ्जय महर्जनले थाइल्यान्डबाट जानकारी गराए । कमलले स्न्याचमा १ सय १५ केजी र क्लिन एन्ड जर्कमा १ सय ५५ केजीसहित कुल २ सय ७० केजी भार उचालेका थिए । त्यस्तै, महिलातर्फ ५८ केजी तौल समूहमा नेपाल प्रहरीकै उत्तम खत्रीले स्न्याचमा ६१ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी गरी कुलमा १ सय ३४ केजी भार बहन गरेकी थिइन् ।

प्रतिक्रिया