एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नगरिने

slcकाठमाडौं, २६ वैशाख । यस वर्षदेखि एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने भएको छ । पत्रिकामा परीक्षाफल प्रकाशनको काम प्रभावकारी नभएको भन्दै परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले बन्द गर्न लागेको हो । परीक्षाफल इन्टरनेटमा राख्दा केही क्षणमै सबै विद्यार्थीले आ–आफ्नो नतिजा थाहा पाउने पनिकाको निष्कर्ष छ ।
विगतदेखि गोरखापत्र र अन्य पत्रिकामा पनिकाले एलएलसीको परीक्षाफल प्रकाशन गर्दै आएको थियो । अब परीक्षाफल सार्वजनिक भएको सूचना मात्र पत्रिकामा प्रकाशन गरिने भएको छ ।
पनिकाका उपनियन्त्रक प्रह्लाद अर्यालले सूचनाप्रविधिको बढ्दो प्रयोगसँगै पत्रिकामा परीक्षाफल प्रकाशन गर्दा प्रभावकारी हुने नभएकाले बन्द गरिएको जानकारी गराएका छन् । परीक्षाफल टेलिफोन र इमेल–इन्टरनेटबाट विद्यार्थीले चाँडै थाहा पाउने भएकाले पत्रिकामा प्रकाशन गर्नुको कुनै औचित्य नभएको उनले बताए । ‘अहिले सबैले मोबाइल र इन्टरनेट चलाउँछन । परीक्षाफल प्रकाशन भएको केही मिनेटमै उनीहरूले थाहा पाउँछन्,’ उनले भने, ‘त्यसैले पत्रिकामा परीक्षाफल प्रकाशन गर्नु त्यति उपयुक्त देखिएन ।’ उनले इन्टरनेटबाट परीक्षाफल प्रकाशन हुँदा उतिबेलै नम्बरसहित विद्यार्थीले नतिजा पाउने भएका कारण पत्रिकामा परीक्षाफल प्रकाशन गर्नु नगर्नु बराबर भएको बताए ।
पनिकाले बर्सेनि गोरखापत्र र अन्य पत्रिकामा एलएलसीको परीक्षाफल प्रकाशनका लागि ३५ लाख खर्च गर्ने गरेको थियो । पनिकाले विगत वर्षदेखि एसएलसीको परीक्षाफल एसएमएस, टेलिफोन र इन्टरनेटबाट जानकारी दिन थालेको थियो ।
उत्तरपुस्तिका ७० प्रतिशत जाँचियो
यस वर्षको एसएसली परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्य ७० प्रतिशत सकिएको छ । परीक्षा सकेलगत्तै थालेको उत्तरपुस्तिका परीक्षणको काम ७० प्रतिशत पूरा भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीका उपनियन्त्रक अर्यालले जानकारी दिए । उनका अनुसार ६० स्थानमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।
‘६० स्थानमा उत्तरपुस्तिका परीक्षणको काम धमाधम भइरहेको छ,’ उपनियन्त्रक अर्यालले भने, ‘परीक्षणपछि तत्काल समपरीक्षण गरेर रिजल्ट निकाल्छौँ ।’ पनिकाले परीक्षण भएको स्थानमै समपरीक्षण गर्नेछ । उनका अनुसार असारको पहिलो साता एलएलसीको परीक्षाफल प्रकाशन गर्ने तयारी छ । पनिकाको नियमावलीमा परीक्षा सञ्चालन भएको तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने उल्लेख छ ।
परीक्षणका लागि एक परीक्षणकर्ता बराबर दुई सय उत्तरपुस्तिका दिइएको छ । एक उत्तरपुस्तिकावापत परीक्षणकर्ताले १५ रुपियाँ पाउछन् । अर्यालले दुई सय उत्तरपुस्तिका परीक्षणपछि उसलाई थप काम दिनसक्ने जानकारी गराए । सम्बन्धित विज्ञ शिक्षकबाट उत्तरपुस्तिका परीक्षण भइरहेको उनले बताए । उनका अनुसार चैतमा भएको एसएलसीमा पाँच लाख ४७ हजार एक सय ६५ परीक्षार्थी थिए । त्यसमध्ये अयोग्य र अनुपस्थितिका कारण ३५ हजार विद्यार्थी घटेका छन् ।

प्रतिक्रिया