भारतले अतिरिक्त शुल्क घटाउने

काठमाडौं, २४ वैशाख । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भारत सरकारले तयारी पोसाकमा लगाउँदै आएको अतिरिक्त शुल्क घटाउने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।
भारतमा सम्पन्न एसियाली विकास बैंक (एडिबी)को ४६औँ वार्षिक बैठकमा भाग लिएर फकर्ने क्रममा सोमबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । लामो समयदेखि निराशाजनक अवस्थामा रहेको तयारी पोसाकमा अतिरिक्त शुल्क घटाएमा नेपालको व्यापार घाटामा कमी आउने पनि उनले बताए ।
चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ३ खर्ब ९ अर्ब ५५ करोड रुपियाँ रहेकोतर्फ लक्षित गर्दे अर्थमन्त्री कोइरालाले दातृ निकायले नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरेको दाबी गरे । एडिबीले नेपाललाई दिँदै आएको अनुदान र क्रण सहयाता दिन बन्द गरेकामा आफूले असन्तोष व्यक्त गरेको भन्दै मन्त्री कोइरालाले क्रण र अनुदान दिन आग्रह गरेको पनि बताए । उनले आगामी दिनमा एडिबीको सहयोग जारी रहनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।
एडिबीले २ सय ५० देखि ३ सय मिलियन डलर नेपालजस्ता विकासोन्मुख देशलाई दिने बताएकाले अबका दिनमा नेपाललाई एडिबीको सहयोग जारी रहनेमा आफू आश्वस्त रहेको उनको भनाइ थियो । ६७ देशका अर्थमन्त्रीले भाग लिएको सो बैठकमा मन्त्री कोइरालाले नेपालको वर्तमान अवस्था, एडिबीले पुर्‍याउँदै आएको सहयोग, अनुदान तथा पूर्वाधार विकास, अझ त्यसमा पनि जलविद्युत्मा लगानी बढाउनुपर्नेतर्फ आफूले अवगत गराएको बताए । भारतीय अर्थमन्त्री पी चिदम्बरमसँग पनि नेपालको आर्थिक अवस्थाबारे छलफल भएको भन्दै उनले भारत–नेपालबीचको सम्बन्ध अझ सुदृढ भएकोमा जोड दिए ।

प्रतिक्रिया