नेपालले ओमनलाई हरायो

iccबर्मुडा : नेपाली क्रिकेट टोली डिभिजन थ्रीबाट घटुवामा नपर्ने निश्चित भएको छ । बिहीबार राति भएको खेलमा नेपालले ओमानलाई ३२ रनले पराजित गर्‍यो । १६१ रनको लक्ष्य पाएको ओमान ४६.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३२ रनमा सीमित भयो । नेपालका ६ जना बलरले अनुशासित र कसिलो बलिङ गरे । कप्तान वैभव भेटनागरले २७ रन जोड्नबाहेक अन्य कुनै पनि ओमानी ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् ।
सबैभन्दा कसिलो बलिङ गरेका वसन्त रेग्मीले ९ ओभरमा १८ रन खर्चिंदै दुई विकेट लिए । यसैगरी, सञ्जम रेग्मीले ९.४ ओभरमा २५ रन खर्चिंदै दुई विकेट लिए । पारस खड्का, पृथु बाँस्कोटा र शक्ति गौचनले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १६० रन जोड्यो । म्यान अफ द म्याच घोषित ज्ञानेन्द्र मल्लले ४९ बलमा ३४ रनको योगदान दिए । विनोद भण्डारीले ३२, पारस खड्काले २८ तथा शरद भेषवाकारले २७ रनको योगदान गरे । नेपालका सुवास खकुरेल एक रनमा आउट भए पनि अनिल मण्डलले ३९ बलको सामान गरे पनि सात रन मात्र जोडे ।
अर्को खेलमा अमेरिकालाई ८२ रनले हराउँदै युगान्डा डिभिजन दुईमा प्रवेश गर्‍यो । यसैगरी, बर्मुडाले इटालीलाई ६० रनले हरायो । (एजेन्सी)

प्रतिक्रिया