व्यापार बन्दै साहित्य

krishna-dharabasi1कृष्ण धरावासी नयाँ उपन्यास ‘गेस्टापो’ लिएर आउँदै छन् । आइतबार सार्वजनिक हुने ‘गेस्टापो’ सम्बन्धि वार्ता:

नयाँ उपन्यास ‘गेस्टापो’को हल्ला चलेको त वर्षौं भयो नि, किन यति ढिला ?
सन् २००९ मा जर्मनी भ्रमणबाट फर्केपछि यो उपन्यास लेख्ने योजना बनाएको थिएँ । तर, केही पारिवारिक दुर्घटनाका कारणले गर्दा यसलाई पूरा गर्न समय लागेको हो ।
‘गेस्टापो’को अर्थ ?
यसको अर्थ जर्मन सेक्रेट पुलिस हो ।
उपन्यासको ‘जिस्ट’ के होला ?
दोस्रो विश्वयुद्धका बेला हिटलरले आफ्नै देशका जनतामाथि गरेको नरसंहार र कुनै साधारण व्यक्ति सत्तामा पुगेपछि ऊ कसरी तानाशाह बन्न पुग्छ भन्ने कुरा यस उपन्यासमा छलफल गरिएको छ ।
ठूलै छ कि ?
यो उपन्यास जम्मा ३०८ पृष्ठमा समेटिएको छ ।
लेख्न कति समय लाग्यो ?
यस उपन्यासको बारेमा सामग्री संकलन र अध्ययन गर्न तीन वर्ष लाग्यो । लेख्नचाहिँ एक महिना सत्र दिन लागेको छ ।
तपाईंको ‘शरणार्थी’मा रिसर्च छ भने ‘राधा’मा मिथकको प्रयोग । तर, साहित्यमा रिसर्च वा मिथकलाई नै प्रमुख विषय बनाउँदा त्यसको अर्थ भिन्न हुने डर हुँदैन ?
साहित्य भनेको एकदम नै पराकाल्पनिक विषय होइन । त्यो जीवन र यथार्थभन्दा एकदम नै भिन्न रहनु पनि हुँदैन । पहिलापहिला साहित्य रूमानी कल्पनामा आधारित हुनाले कवि वा लेखकलाई मानिसहरू विशेष प्रकारको व्यक्तिका रूपमा हेर्थे । तर, यथार्थमा साहित्य जीवनकै अभिव्यक्तिको माध्यम भएकाले यसले तथ्यहरूको नजिक पुर्‍याउँछ, अनि साहित्यिक कृतिबाट पनि राज्यले देश र समाजका समस्याहरूलाई बुझ्नुपर्ने हुन्छ । मिथकले विषयलाई बिम्बात्मक बनाउँछ र इतिहास वा पुराणसँग जोड्दै वर्तमानमाथि विश्लेषण गर्छ । यसो हुँदा तिनका अर्थहरू बढी शक्तिशाली र तथ्यात्मक बन्न पुग्छन् र पाठक त्यसबाट बढी लाभान्वित हुन्छ ।
‘गेस्टापो’ लेख्न अध्ययन बढी सहायक भयो कि कल्पना ?
गेस्टापो लेख्नुअघि सबैभन्दा पहिले त मैले जर्मनका केही विशेष ठाउँहरूको भ्रमण गरेँ र केही कन्सन्ट्रेसन केम्पहरूलाई नजिकबाट देख्ने मौका पाएँ । यो भ्रमणसँगको विस्तृत चर्चा मेरो प्रकाशोन्मुख कृति ‘कागजको मान्छे’ मा गरेको छु । आँखाले देखेकोसँग इतिहास र तथ्यहरूको अध्ययन गर्न तीन वर्ष लागेको छ । अध्ययनबाट विषयवस्तुप्रति चाहिँदो ज्ञान संचय भएपछि त्यससँग कल्पनाको प्रयोग गरिएको छ । यसरी हेर्दा यो उपन्यास लेख्न अध्ययनबाट बढी शक्ति प्राप्त भएको छ जस्तो लाग्छ ।
हुन त साहित्य लाभहानिको व्यापार होइन । र, सर्जकले आफ्नो मनखुसीले लेख्छ । तर, मनखुसीले लेखिएका कुरा पाठकले किन किनेर पढ्नु ?
कुनै समय साहित्य लाभहानिको व्यापार थिएन होला, त्यो कल्पनामा आधारित एउटा लेखक व्यक्तिको मनोगत उडान पनि हुन्थ्यो होला तर, अब साहित्य पनि कलाका अरू विषय जस्तै लाभहानिसँग प्रत्यक्ष जोडिएको छ । यो फिल्म जस्तो, संगीत जस्तो, ललितकला जस्तो खर्च गरेरै त्यसबाट ज्ञान तथा मनोरञ्जन लिइने विषय भएको छ । त्यसैले अबको लेखकले मन खुसीले जे पनि लेखेर धर पाउँदैन । त्यस्तो जे पनि लेखेको कृति नकिन्न र नपढ्न पाठक स्वतन्त्र छ । पाठकलाई उसको लगानी बराबरको ज्ञान तथा मनोरञ्जन दिन सक्ने हैसियत लेखकले आफूमा स्थापना गर्नुपर्छ । अन्यथा स्वतन्त्र बजारका स्वतन्त्र उपभोक्ताहरू त्यस्ता मनखुसी लेखिएका कृति पढ्न बाध्य छैनन् । पढ्दैनन् पनि ।
‘आधाबाटो’ र ‘पाण्डुलिपि’ बजारमा आएपछि तपाईंलाई केही पाठकले ‘आफ्ना निजी कुरा मात्र लेख्ने लेखक’ भनेर चिनेका छन् । हुन त आत्मसंस्मरणमा आफ्ना कुरा नभए कसका हुन्छन् र ? फेरि पनि आत्मसंस्मरण लेख्ने प्लान छ कि ?
साहित्य भनेको जीवनको अभिव्यक्तिको माध्यम हो । जीवन व्यक्तिगत हुँदाहँुदै पनि त्यो सामाजिकसमेत हुन्छ । समाजमा उत्पन्न भएका सकारात्मक वा नकारात्मक विषयहरू व्यक्तिको जीवनसँग प्रत्यक्ष सरोकार राख्छन् र त्यसबाट प्रभावित भएको जीवनको कथा व्यक्तिगत हुँदाहुँदै पनि त्यो सामाजिक तथा राष्ट्रिय बन्न पुग्छ । मैले ‘आधाबाटो’ र ‘पाण्डुलिपि’मा आफ्नै पारिवारिक जीवनका कथा लेखेको छु । तर, तीभित्र वर्णन गरिएका घटनाहरू हाम्रा कारणले भन्दा पनि समाज, राज्यको कानुन, परम्परा आदिद्वारा प्रभावित हुन् जुन मजस्तै अरू लाखौँले पनि उस्तै प्रकारले भोगिरहेका छन् । ती किताबहरू प्राविधिक कारणले मसँग संबद्ध रहेका भए पनि तिनले प्रसारण गर्ने सन्देश वा अनुभूति सामूहिक बिम्बका रूपमा रहेको हुनुपर्छ भन्ने लाग्छ । मैले ‘आधाबाटो’बाट सुरु गरेको आत्मकथात्मक लेखनले विभिन्न भागका रूपमा मेरो लेख्ने शक्ति, होस र चेत रहेसम्म निरन्तरता पाउला भन्ने सोचेको छु । सायद अब दुई वर्षभित्रमा भाग–३ को रूपमा ‘पुरुष’ शीर्षकको पुस्तक आउला । लेख्ने काम भइरहेको छ ।
खुब लेख्नुहुन्छ है । तपाईंलाई वर्षर्ैपिच्छे किताब लेख्नैपर्छ ? यसो गर्दा क्वालिटीमा कम्प्रमाइज गर्नुपर्छ होइन र ?
म एउटा लेखक हुँ । मैले आफ्नो जीवनको मूल कर्म नै लेखनलाई बनाएको छु । लेख्नु मेरो लागि एउटा नशाजस्तो पनि हो । म मादक पदार्थ सेवन गर्दिनँ तर लेखन नै मेरो मादक पदार्थ सरह छ । म किन लेख्छु भने म नलेखी बस्नै सक्दिनँ । यसरी बाक्लै लेख्दा क्वालिटीमा कमी आउँछ कि भन्ने पाठक तथा शुभचिन्तकहरूको ममाथि चिन्ता छ । पहिला त त्यस कुरामा म आफैँ सकेसम्म सचेत छु, दोस्रो लेख्न छोड्यो भने ग्यारेजमा थन्किएको सवारी साधन जस्तो बेकम्मा हुँदै जान्छ आफ्नो कल्पनाशक्ति, शब्दशक्ति, जाँगर र लेख्ने हात पनि । लेख्नमा खर्च हुने मेरो समय अन्य कुलततिर खर्च हुँदै जाने सम्भावना पनि उत्तिकै छ । पहिलो कुरा त म त्यसकारण लेखक हुँ किनभने म लेखिरहन्छु वा मैले लेखिरहनु पर्छ । छोटोमा हामीले के बुझ्नुपर्छ भने विश्वप्रसिद्ध लेखकहरूका सयभन्दा बढी कृतिहरू हुन्छन् तर ती सबै चर्चाको शिखरमा हुँदैनन् । सयौँमध्ये केही किताबका कारण मात्र उनीहरू विश्वप्रसिद्ध भएका हुन् ।
नेपाली भाषाको एउटा सर्वश्रेष्ठ उपन्यास कुन हो ?
नेपाली साहित्यमा धेरै उपन्यासहरू उत्कृष्ट छन् । विषयवस्तुका कारणले एक अर्कासँग पृथक् रहेरै ती तुलनीय पनि छन् । तै पनि मैले पढेमध्ये कुनै एउटाचाहिँ तैँले छान्नै पर्छ भनियो भने त्यसबेला हाजिरी जवाफकै शैलीमा म उत्तर दिने गर्छु– मेरा लागि भने सबैभन्दा बढी मन परेको उपन्यास ‘माधवी’ हो ।
अधिकांश कथाकार घटना मात्र प्रस्तुत गर्छन् । कतिपयचाहिँ घटनाबाट टाढा भएर सिद्धान्त मात्र फलाक्छन् । साहित्यमा सिद्धान्त र आख्यानको सन्तुलन कसरी तय गर्ने ?
उहिले देखिनै सिद्धान्त र सिर्जना जुम्ल्याहा जस्ता छन् । जुम्ल्याहा भनेको एकैचोटि जन्मिएका भन्ने बुझिन्छ तर यथार्थमा ती एकैचोटि जन्मिएका हुँदैनन्, केही समयको फरकमा एक्लाएक्लै जन्मिएका हुन्छन् र थोरै समयको फरकले मात्र भए पनि तिनीहरू जेठाकान्छा हुन्छन् । सिद्धान्त र सिर्जनाको सम्बन्ध पनि त्यस्तै हो । पहिला सिर्जना अनि त्यसका पछि लगत्तै सिद्धान्त । तर, कतिपय बेलामा सिद्धान्त अघि जान पनि खोज्छ, त्यस्तो बेलामा सिर्जनाको शक्ति कमजोर हुन सक्छ । सिद्धान्त हाड जस्तो भएर बस्यो भने सिर्जना ज्यादै सुन्दर र सशक्त हुन सक्छ ।
यहाँ कस्तो साहित्य लेखियो भन्दा पनि कसले लेख्यो भन्नेमा बढी चासो राखिन्छ । यस्तो किन हुन्छ ?
यहाँ होइन, यस्तो जहाँ पनि हुन्छ । यो स्वाभाविक छ । स्थापित लेखकहरू नै पाठकका आकर्षणका केन्द्र हुन्छन् त्यसैले पाठकले नै कृतिको भन्दा पहिला लेखकको कृति खोज्छ । सर्तकता चाहिँ यसकुरामा रहे राम्रो हुनेछ कि पाठकको आफूप्रतिको झुकाबको लेखकले दुरुपयोग नगरोस् ।
आफ्ना उपन्यासहरूको लामो आयुप्रति कतिको विश्वस्त हुनुहुन्छ ?
पुराणले के भन्छ भने, एकदिन ब्रह्माको पनि अन्त हुन्छ र त्यो दिन महाप्रलय हुन्छ । सदाकाल रहने भन्ने नै केही हुँदैन, लामो कालसम्म रहे राम्रो हो । मेरा उपन्यासको अवस्था पनि त्यस्तै होला ।

प्रतिक्रिया