रियलले पनि चार गोल खायो

robert-lewandowskiम्युनिख, १३ वैशाख । युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनापछि अर्को स्पेनिस क्लब रियल म्याड्रिडले पनि जर्मनीमा खराब नतिजाको सामना गर्ने क्रममा बुधबार सेमिफाइनल पहिलो लेगमा बोरुस्सिया डर्टमन्डविरुद्ध ४–१ ले पराजय बेहोरेको छ । 

रियललाई स्तब्ध बनाउने क्रममा पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की एक्लैले कीर्तिमानी चार गोल गरे । अर्को सेमिफाइनलको पहिलो लेगमा जर्मनीकै बायर्न म्युनिखले मंगलबार बार्सिलोनालाई ४–० ले हराएको थियो । यस नतिजापछि अनुमानविपरीत फाइनल अल जर्मन हुने सम्भावना बलियो भएको छ ।
आठाँै मिनेटमा २४ वर्षीय लेवान्डोस्कीले घरेलु मैदानमा अग्रता दिलाएका थिए । मारियो गोट्जेको पासमा उनले खाता खोलेका थिए । क्रिस्टियानो रोनाल्डोले ४३औँ मिनेटमा गोल गर्दै मध्यान्तरअघि रियललाई १–१ को स्थितिमा पुर्‍याए पनि उच्च लयमा रहेका लेवान्डोस्कीलाई रोक्न सकेन । मार्को रेउसको पासमा उनले ५०औँ मिनेटमा दोस्रो गोल गरे भने त्यसको पाँच मिनेटपछि हयाट्रिक पूरा गरे । ६६औँ मिनेटमा पेनाल्टीमार्फत उनले खेलको अन्तिम गोल गरेका थिए । यसअघि समूह चरणमा पनि डर्टमन्डले रियललाई हराएको थियो । यी दुईबीचको दोस्रो लेग ३० अप्रिलमा रियलको मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा चार गोल गर्ने लेवान्डोस्की पहिलो खेलाडी हुन् । सन् २०१४ सम्म सम्झौता नवीकरण गर्न गरिएको आग्रह अस्वीकार गरेका लेवान्डोस्की डर्टमन्ड छाड्ने तयारीमा रहेका छन् । सन् २०१० मा उनी डर्टमन्डमा आबद्ध भएका थिए ।
‘हाम्रा कुनै पनि खेलाडीमा कमिटमेन्ट देखिएन ।’ फराकिलो हारपछि रियलका डिफेन्डर सर्जियो रामोसले भने । टोलीको हारका बाबजुद रोनाल्डो यस प्रतियोगितामा लगातार ६ खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गर्न सफल भए । जारी संस्करणमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेका उनको गोल संख्या १२ पुगेको छ । त्यस्तै, यस प्रतियोगितामा उनको कुल गोल संख्या ५० पुगेको छ । ‘अल टाइम’ सर्वाधिक गोलकर्ताको सूचीमा उनी थिएरी हेनरीसँगै सयुंक्तरूपमा चौथो स्थानमा रहेका छन् । नौपटकको विजेता रियल यसअघि गत संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । बार्सिलोनाले पनि गत संस्करणमा सेमिफाइनलबाटै बिदा लिएको थियो । घरेलु मैदानमा कुनै आश्चर्य नगरे यी स्पेनिस क्लबद्वय सेमिफाइनलबाटै बाहिरिने छन् ।

प्रतिक्रिया