पूरा भएन नुवाकोटको कभर्डहल निर्माण

Nuwakotकाठमाडौं, १२ वैशाख । एघार वर्षअघि निर्माण कार्य सुरु भएको नुवाकोटको राष्ट्रिय स्तरको कभर्ड हल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । ६ रोपनी जग्गामा कभर्ड हल तथा सँगैको ३२ रोपनी जग्गामा आउटडोर रंगशााल बनाउन पुग्ने अवस्था भए पनि आर्थिक अभावका कारण सबै कामबीचमै रोकिएको कभर्ड हल निर्माण कार्यमा सक्रिय तेक्वान्दो प्रशिक्षक हरिहर पाण्डे बताउँछन् ।

वि.सं. २०५९ असार २३ मा नुवाकोट जिल्ला तेक्वान्दो संघका अध्यक्ष धननारायण चित्रकारले दुई रोपनी जग्गा कभर्ड हल निर्माणका लागि दिएका थिए । त्यसपछि आयोजक कमिटीले चार रोपनी जग्गाको थप जोहो गरेको थियो ।
मार्सल आर्ट मात्र नभई ब्याडमिन्टन, बास्केटबल र भलिबलको प्रशिक्षण पनि अहिले त्यसै हलमा हुने गरेका छन् । ७० प्रतिशत लागत सकिएको कभर्डहलको दर्शकदिर्घा भने अझै बन्न सकेको छैन । कभर्डहलमै २४ कोठा पनि रहेका छन् । नुवाकोटको यो कभर्डहल निर्माण भए थप अन्तर्राष्ट्रिय स्तरका स्टारको उदय हुने सम्भावना रहेको तेक्वान्दो स्टार संगिना बैद्य बताउँछिन् र भन्छिन्, ‘हामीले काठमाडौंमा गएर खेलेर नै अन्तर्राष्ट्रिय स्तरको खेलाडी भयौँ । यहीँ सबै आधारभूत कुरा भए त हामीपछिको पुस्तामा पनि थुप्रै स्तरीय खेलाडी निक्लन सक्छन् ।’ कभर्डहलको कुल लागत ७५ लाख ८६ हजार ५ सय ७५ भए पनि हालसम्म ४० लाख रुपियाँ मात्र प्राप्त भएको पाण्डे बताउँछन् ।
नगरपालिकाले दिएको १० लाख र जिल्ला विकास समितिले ट्रस्ट र गाह्रो लगाउन गरेको सहयोग नै नुवाकोट खेलकर्मीका लागि सबैभन्दा ठूलो सहयोग हो । पूर्वमन्त्री रामशरण महतको पहलमा जीवनराम श्रेष्ठ सदस्य–सचिव हुँदा १० लाख रुपियाँ प्राप्त भएको थियो भने हितबहादुर तामाङ खेलकुद मन्त्री भएपछि कभर्ड निर्माणका लागि १० लाख रुपियाँ प्रदान गरिएको थियो । ६ महिनाअघि सदस्य सचिव युवराज लामाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त भए पनि त्यो पूरा नभएको गुनासो नुवाकोटवासीको छ ।

प्रतिक्रिया