दर्शक हसाउँदै मन्त्रीका पिए

Mukunda-Acharyaकाठमाडौं, ११ वैशाख । खाने मुखलाई जुगाले छेक्दैन भन्ने उखान चरितार्थ गरेका छन् कलाकार मुकुन्द आचार्यले । पेसाले उनी सरकारी कर्मचारी हुन् ता पनि अभिनयमा उनको सक्रियता त्यतिकै छ । हरेक हप्ता प्रसार हँदै आएको टेलीशृंखला ‘जिरे खुर्सानी’, ‘तीतो सत्य’ होस् या ‘मेरी बास्सै’ । यी सबैमा आचार्यको अभिनय देख्न पाइन्छ ।

०५९ मा गीतान्ञ्जलीका छोटा कमेडी प्लटमार्फत मुकुन्दले अभिनय थालेका हुन् । त्यतिबेला सुरु भएको उनको कलाकारिता आज आएर झन् झाँगिएको छ । जितु नेपालले गीतान्ञ्जली कार्यक्रममा मलाई पहिलो अभिनयको अवसर दिए मुकुन्दले भने । त्यतिबेला अभिनयको अवसर नपाएको भए अहिले कहाँ अभिनयमा हुन्थे र † गीतान्ञ्जली पछि ‘जिरे खुर्सानी’को अभिनय पनि जितुले नै दिलाएका हुन् । यो शृंखलामा अगाडि बढ्न उनलाई शिवहरी पौडेलको योगदान पनि कम छैन ।
कलाकारिताको एक दशक अवधिमा मुकुन्दले टेलिभिजनका यी तीन चर्चित हास्य सिरियल मात्र होइन ‘लगान जुर्ला जस्तो छ’, ‘सिन्दुर’, ‘विज्ञापन’लगायत ५०–६० भन्दा बढी सिरियल गर्न भ्याइसकेका छन् । सानो पर्दाबाट सुरु भएको अभिनयलाई ठूलो पर्दासम्म समेत पुर्‍याउन सफल आचार्यले ‘सपुत’, ‘ज्यानमार’ र ‘शासन’लगायत आधादर्जनका हाराहारीका चलचित्रमा सम्झनलायक भूमिका निर्वाह गरेका छन् । एक दुई गीतमा मोडलिङसमेतको अनुभव सम्हालेका आचार्य आफूमा सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउँछन् । भन्छन् सानोमा म गीत गाउँथे, मादल बजाउँथँे र नाच्थेँ पनि ।
०४४ बाट सरकारी पेसामा आवद्ध आचार्यका लागि नोकरी कतिपय अवस्थामा अभिनयको बाधक बनेको छ । अभिनयका कति अफर उनले जागिरमा फुर्सद नभएका कारण छोड्नु परेको छ । अभिनयका लागि आएका अफर फुर्सद भएको बेला खेल्ने र नभएका बेला छोडिदिने गरेको उनले सुनाए । विगत केही समयदेखि नियमित कलाकारितामा पनि उनलाई केही अप्ठ्यारो पर्ने गरेको छ । ऊर्जामन्त्रीको निजी सहायक भएदेखि उनले नियमीत अभिनय गर्दै आएको सिरियल समय दिन अप्ठ्यारो परेको हो । मन्त्रीज्यूको कार्यकक्षमा कामको निश्चित समय नहुने भएकोले अप्ठ्यारो पर्ने गरेको उनले खुलाए भने कार्यालय खुलेका बेला अभिनयका लागि म समय दिनै भ्याउँदिनँ । त्यसैले अहिले बिदाका दिन सदुपयोग गर्ने गरेको छु । बिदाको दिन नभए बिहान बेलुकाको समय अभिनयका लागि छुट्याउने गरेको बताए ।
मुकुन्दले भ्याई न भ्याई अभिनय त्यसै गरेका भने होइनन् । ‘सुरुमा सोखले अभिनयमा होमिएको मलाई अहिले अभिनयको नशा लागेको छ ।’, आचार्यले भने । त्यसो त उनलाई अभिनयका कारणले कतिपय ठाउँमा सजिलो पनि भएको छ । नचिनेको ठाउँमा जाँदा सबैले चिनेको व्यवहार गरेको र आवश्यक सहयोग गरेको प्रशस्तै अनुभव पनि छन् उनीसँग । अझ मन्त्रालयमा जो मन्त्री आए पनि आफूसँग पहलै चिनेभैँm व्यवहार गर्ने र अभिनयको प्रशंसा गर्ने गरेको उनले सुनाए ।
सुरुआतका समयमा सित्तैमा अभिनयसमेत गरेका आचार्य पारिश्रमिकको हिसाबले पहिलेभन्दा अहिले राम्रो भएको बताउँछन् । लामो समयदेखि नियमित ‘जिरे खुर्सानी’मा अभिनय गर्दै आएका उनी अचेल यो शृंखलाको एक भाग मात्र अभिनय छुटेमा निन्द्रै नपर्नै बताउँछन् । फुर्सदको समय अभिनय मै व्यतित गर्न चाहने आचार्यलाई कलाकारितामा जागिर छोडरै लाग्ने मन नलागेको पनि होइन । परिवारका कारणले र कलाकारितामा आम्दानीको भर नभएका कारणले त्यसो गर्न परिवारले नदिएको बताए । सधैँ कलाकारिता नहुने भएकाले जागिरबाट बचेको समय यसमा लगाउन सुझाब दिए, उनी बताउँछन् ।
जागिरका कारणले अभिनयका लागि आएका अफर छाड्नु परेको क्षण र सुटिङ स्पटमा गएर अभिनय नै नगरी फर्कनु पर्दाको क्षण जीवनकै सबैभन्दा दु:खद क्षण महसुस आफूले गर्ने गरेको बताउने आचार्य ‘सपुत’ चलचित्र अभिनय सकाएर रातको १ बजे घरफर्केको क्षण जीवनमा कहिल्यै बिर्सन नसक्ने बताउँछन् ।

प्रतिक्रिया