थ्री–स्टार र मोहन बागानबीच फ्रेन्डली म्याच हुने

काठमाडौं : सहिद स्मारक राष्ट्रिय लिग विजेता थ्री–स्टार क्लबले एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता खेल्ने तयारी क्रममा भारतको बहुचर्चित क्लब म्याकड्वेल मोहन बागानविरुद्ध दशरथ रंगशालामा फ्रेन्ड्ली म्याच खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आउँदो वैशाख २४, २६ र २८ गते काठमाडौंमा एएफसी प्रेसिडेन्ट्स कप हुँदै छ । दुई क्लबबीचको फ्रेन्ड्ली म्याच आउँदो १८ वैशाखमा हुने भएको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रायोजक कम्पनीका सिइओ अनन्त अय्यर आउन डिले भएपछि पत्रकार सम्मेलन निर्धारित समयभन्दा करिब अढाई घन्टा ढिलो सुरु भएको थियो ।
युनाइटेड स्पिरिट्स नेपालले बिक्री वितरण गर्दै आएको विश्वकै ठूलो स्कचरहित ह्विस्की ब्रान्ड म्याकडवेल्स ह्विस्कीले मैत्रीपूर्ण खेलका लागि मोहन बागानलाई नेपालमा दोस्रोपटक ल्याउन लागेको हो । विगत २० वर्षदेखि मोहन बागान क्लबलाई म्याकड्वेल्सले आधिकारिक रूपमा प्रायोजन गर्दै आएको छ ।
कोलकातामा रहेको सिंगमरमरको दरबारको नामलाई आधार बनाई नामांकन गरिएको मोहन बागान एसियाकै पुरानो फुटबल क्लब हो भने भारतीय फुटबलको इतिहासमा पनि सबैभन्दा चर्चित क्लब हो । सन् १८८९ मा स्थापना भएको मोहन बागान भारतको यस्तो क्लब हो, जसले सन् १९११ मा विदेशी टिम इस्ट योर्कसायरलाई हराई आइएफए सिल्ड जितेको थियो । बागानले फेडेरेसन क्लब, रोभर्स कप, आइएफए सिल्ड, नेसनल फुटबल लिग तथा विभिन्न घरेलु प्रतियोगिता पनि जितेको छ ।
भारतकै उत्कृष्ट आई–लिगमा खेल्ने मोहन बागान क्लबमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरू अरिन्दम भट्टाचार्य, मेहराजुद्दिन वाडो, ओडाफा ओएन्का आदि सम्मिलित छन् ।
‘साथीहरूसँग मिलेर फुटबलको मज्जा लिउँm’ भन्ने नाराका साथ सुरु हुन लागेको यो खेल सुरु हुनुभन्दा अघि म्याकडवेल्सले एउटा पार्टीको पनि आयोजन गर्नेछ, जसमा छानिएका म्याकडवेल्सका उपभोक्ताले दुवै टिमका खेलाडीलाई भेट्न तथा अन्तरक्रिया गर्न पाउनेछन् । (सौस)

प्रतिक्रिया