संविधानसभा फेरि पनि बन्धक हुन सक्छ !

Saurav-koसंविधानसभा चुनाव एक युगमा एकपटक मात्रै हुन्छ भन्ने मान्यताका विपरीत यदि दलहरू असक्षम छन् भने यो एक युगमा पटकपटक पनि हुन सक्छ भन्ने नयाँ मान्यता स्थापित गर्दै हाम्रो देशमा यो चुनाव पुन: दोश्रोपटक हुन गइरहेको छ । यसनिम्ति दलहरूमा कुनै लज्जा बोध छैन र विगतको संविधानसभा असफल भएवापत आफ्नो चुनावी घोषणापत्रको पहिलो दफामा जनतासामु माफी मागिएको बेहोरा राख्न आवश्यक ठानेको जस्तो पनि देखिएको छैन । जुन कारण र परिस्थितिले संविधानसभा असफल भयो त्यसलाई सम्बोधन गर्नेतर्फ सार्थक पहलकदमी लिनुको साटो एक अर्कोलाई दोषारोपण गरेर आफ्नो दायित्व पूरा भएको अनुभूति गराइरहेका छन् । मानाँै उनीहरू सोचिरहेका छन्, जनताको स्मृति अत्यन्त कम्जोर हुन्छ र उनीहरू विगतका सबै कुरा बिर्सिसकेका छन् । अब हामीले जे भन्दा र जे बोल्दा पनि हुन्छ । यस्तो ठानेका छन् भने दलहरूको यो सबैभन्दा ठूलो भूल हो । अबको संविधानसभा चुनावमा जनता एकएक कुराको हिसाबकिताब माग्ने छन् र माग्नु पनि पर्छ । यो देश र जनताको भाग्य र भविष्यसँग गाँसिएको विषय हो । यो मात्रै दलहरूको राजनीतिक भाषणबाजीको विषय र आफ्ना कार्यकर्ताहरूलाई केही महिना भुल्याउने तथा काम दिने विषय मात्रै होइन ।
विगतमा एकथरीले आफूलाई अत्यन्त अव्यवहारिक ढंगले अग्रगामी, रूपान्तरणकारी, क्रान्तिकारी शक्तिका रूपमा चित्रण गर्दै अर्को पक्षलाई अत्यन्त गैरजिम्मेवार ढंगले यथास्थितिवादी, पश्चगामी सामान्य सुधारवादीका रूपमा चित्रण गर्नु र उसका सकारात्मक कुराहरू पनि सुन्न नचाहनु, त्यसमा सहमत हुन नचाहनु, असफलताको प्रमुखकारण थियो । यसैगरी व्यक्तिमा, समाजमा, संस्कृतिमा, चेतनामा आधारभूत रूपमै भिन्नता आइसकेकाले तद्नुकूल आफूलाइस् परिवर्तन गर्नुको साटो त्यस अनुकूल आफूलाई समसामयिक बनाउनुको साटो विचलन आउने नाममा अराजकता बढ्ने नाममा, अस्थिरता निम्तने नाममा परिवर्तनको प्रवाहलाई आत्मसात गर्न नसक्ने, त्यसलाई सकारात्मक निष्कर्समा टुंग्याउन नसक्ने, पूर्व विद्रोहीलाई लोकतान्त्रिक धारमा समाहित गर्न आवश्यक दबाब दिनुभन्दा आफूलाई प्रतिरक्षात्मक स्थितिमै सीमित राख्ने लोकतान्त्रिक धार र लोकतान्त्रिक दलहरू कम्ती जिम्मेवार छैनन् । अहिले पनि चर्का, उग्र र क्रान्तिकारी कुरा गरेर देशलाई अझै विद्रोह कै स्थितिमा राख्ने, आन्दोलन कै स्थितिमा राख्ने भन्दा शान्त, शालीन, समाधानमुखी, व्यावहारिक र संभव कुरा गर्ने लोकतान्त्रिक धार र दलहरूप्रति बहुमत जनताको समर्थन छ र समर्थन रहनु पनि पर्छ ।
बहुमत जनताको चाहनालाई समाहित गर्न सकारात्मक हस्तक्षेपमार्फत आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेनन् भने जनताहरू सधैँभरि लोकतान्त्रिक दल भनेकै र भएकै भरमा साथ नदिइरहन सक्छन् । जनतालाई अप्ठेरो र गाह्रोसाँगुरो पर्दा, चन्दा आतंक मच्चाइँदा, बेला न कुबेला बन्द आह्वान गरेर जनजीवन कष्टकर बनाइदा, विविधखाले अतिवादीहरूलाई उचालेर समाजिक सद्भाव भड्काइँदा, र जननिर्वाचित संविधानसभालाई दुई/चार जना, व्यक्ति र समूहले अपहरणकारीको शैलीमा बन्धक बनाएर निरीह बनाइँदा फेरि पनि चुप रहने हो भने अब हुने चुनावको पनि कुनै अर्थ हुने छैन । पार्टीभित्रका यी अवज्ञाकारी अपहरणकारीहरूलाई बेलैमा चिनेर यिनीहरूलाई संविधानसभामा प्रवेश मै रोक लगाउन सकिएन भने फेरि पनि संविधानसभाको नियति असफल हुनु नै हो । यसको अर्थ विविध भाषा, क्षेत्र, जाति, धर्म र लिंगको समावेशी पहिचानको विपक्षमा उभिनु पर्छ, होइन यसको अर्थ पार्टीले अघि सारेका भाषा, क्षेत्र, जाति, धर्म, संस्कृति र लिंगसम्बन्धी नीतिमा अन्तिम अवस्थासम्म प्रतिबद्ध भइरहनु पर्छ भन्ने हो । आफ्ना धारणाहरू, विमतिहरू केही छन् भने पार्टीभित्रै राख्नुपर्छ । त्यहीँ गहन छलफल र विचारविमर्श हुनुपर्छ । पार्टीबाट निश्चित प्रक्रिया र तौरतरिका बमोजिम जुन नीति बन्छ त्यसको बर्खिलाप हुने गरी कुनै फरक विचार र धारणा राख्नु पार्टी पद्यति, अनुशासन र विधिको विपरीत हुन्छ । पार्टीको विधि, विधान र अनुशासन नाघेर बनाइने संविधानको जग स्वाभाविक रूपमा कम्जोर हुन्छ । जो साबिकको पार्टीको अनुशासन र विधिविपरीत जान चाहन्छन्, उनले या त आफू अनुकूलको अर्कै पार्टी बनाउनु पर्छ या त स्वतन्त्र हैसियतमा रहनु पर्छ । संविधानसभामा यस खालका विग्रह, विचलन र फरक मत आउन नसकुन भनेर पार्टी र पार्टी नेतृत्व अत्यन्त सजग हुनुपर्छ । पार्टीको नीति, संरचना, संविधानसभा सदस्यको उम्मेद्वारी जस्ता यावत् कुराहरू भाषा, क्षेत्र, जाति, धर्म, लिंग सबै दृष्टिले उपयुक्त र औचित्यपूर्ण हुनुपर्छ । अर्थात् त्यसले हाल सर्वाधिक चासो र चिन्ताप्रकट गरिरहेका विषयहरू समावेशी शासन र पहिचानको मुद्दालाई यथासंभव संबोधन गर्ने जमर्को गरेकै हुनुपर्छ । चुनाव जित्दा पार्टीको टिकटमा जित्ने अनि संविधानसभामा गइसकेपछि भाषिक, जातीय, धार्मिक, क्षेत्रीय र लिंगीय समूह–उपसमूह बनाएर पार्टी पद्यतिविपरीतका हरकत गर्ने, पार्टी निर्देशनको अवज्ञा गर्ने, सिंगो संविधानसभालाई अपहरणकारीको शैलीमा बन्धक बनाएर आफ्ना माग पूरा गराउन खोज्ने अथवा अनिर्णय, अन्यौल, अनिश्चय र अस्थिरता निम्त्याउनेहरूको घाँटी बेलैमा निमोठिनु जरुरी छ ।
हिजो संघीयताका बारेमा अमूर्त कुरा गरेर चुनावमा गएका र संविधानसभामा त्यही विषयमा सहमति जुटाउन नसकेर संविधान बनाउन नसकेका, संविधानसभाको प्रयोग संविधान बनाउन कम सरकार गठन र विघटनमा बढी प्रयोग गर्ने प्रमुख ठूला दलहरूको प्रवृत्ति, रुचि र स्वार्थमा आधारभूत रूपमा फरक आइसकेको र अब त्यस्ता गल्तीहरू नदोहरिने संकेत हालसम्म देखा परेका छैनन् । यस पृष्ठभूमिमा प्रमुख ठूला दलहरूले चुनाव अगावै संघको संख्या, नाम, सदरमुकाम, सीमाना, काम र अधिकारका बारेमा आफ्नो स्पष्ट धारणा चुनावी घोषणा पत्रमा उल्लेख गरेर आगामी संविधान निर्माणलाई सुस्पष्ट मार्ग निर्देशन दिनुपर्छ । संविधानसभालाई सरकार गठन र विघटनमा प्रयोग गरिने छैन भन्ने व्यवस्थाको प्रत्याभूति पनि त्यत्तिकै जरुरी छ । दण्डहीनताको अन्त्य र कानुनी शासनको बहालीकै लागि संविधान निर्माण गर्नु परेको हो भने स्वाभाविक छ संविधान निर्माणको काममा लाग्ने व्यक्ति उच्च नैतिक चरित्रको, नैतिकपतन देखिने फौजदारी अभियोग नलागेको, मानवताविरुद्धको अपराधमा कसुरदार नठहरिएको, भ्रष्टाचारको अभियोगमा दण्डित नभएको हुनुपर्छ । शान्ति प्रक्रियाका नाममा अथवा जातीय एवं क्षेत्रीय समर्थन जुटाउने र सन्तुलन मिलाउने नाममा यसमा सम्झौता गरियो भने यो संविधानका लागि, संविधानसभाका लागि र देशको सुदूर भविष्यका लागि दुर्भाग्यपूर्ण हुनेछ ।
जनताका पक्षबाट हामीले पनि केही कुरामा समझदारी र सुझबुझ देखाउनै पर्छ । जस्तो कि कुनै पनि सिद्धान्त, शासन प्रणाली, पार्टी र व्यक्ति पूर्णत: दोषमुक्त र पूर्णत: उत्तम हुनै सक्दैन । सबैमा केही न केही सबल पक्ष र केही न केही दुर्बल पक्ष रहेकै हुन्छन् । मधेसी पार्टीले मात्रै मधेसको हित हेर्छन् अथवा जातीय पार्टीले मात्रै जातीय उत्थानका कुरा गर्न सक्छन् भन्ने ठान्नु अर्धसत्य मात्रै हो । यसैगरी कांग्रेस, एमाले, र माओवादी जस्ता हालका ठूला पार्टीहरू सधँै ठूलै रहन्छन् र यिनले भनेको पनि पूर्णत: सही हुन्छ भन्ने पनि होइन । अनि शासनको अनुभूति र शासन प्रणालीको प्रयोग फिताले नापेझैँ र क्यालकुलेटरले गणना गरेझैँ ठ्याक्कै हुबहु हुनै सक्दैन भन्ने कुरामा हामी सचेत रहनुपर्छ । कसैको अन्धभक्त र अन्धसमर्थक बनेर भिडन्तमा उत्रने अथवा विवेक गुमाउने कामबाट हामीले आफूलाई जोगाउनु पर्छ । गुणका आधारमा समर्थन र दोषका आधारमा विरोध गर्न थाल्यौँ भने हामी मतदाताको महत्त्व अझ बढेर जानेछ । हामी आफँै उनका झोला बोक्न गयौँ भने उनले हामीलाई झोले बनाउनु स्वाभाविक छ । स्वाभीमानी, योग्य, सक्षम, र इमानदार मतदाताले मात्रै स्वाभीमानी, योग्य, सक्षम र इमानदार नेतृत्वको छनौट गर्न सक्छ भन्ने कुरा हामीले मनन गर्नुपर्छ । स्मरण रहोस् हामीले मुलधारका राजनैतिक दलहरूलाई जतिसुकै गाली गरे पनि देशमा स्थिरता ल्याउन, आर्थिक विकास गर्न, सामाजिक न्याय बहाल गरी संविधान बनाउने जिम्मा अन्तत: उनीहरूकै हो । संविधान नबन्नुको दोष कुनै स्वतन्त्र व्यक्तिलाई, कुनै जातीय, धार्मिक, भाषिक, क्षेत्रीय समूहलाई दिन मिल्ने छैन ।

प्रतिक्रिया